बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्माण व्यवसायीको अधिवेशन

निर्माण व्यवसायीको चुनावमा दुई प्यानलको भिडन्त, कसले मार्ला बाजी ?

बुधबार, १८ चैत २०८२, २० : ४५
बुधबार, १८ चैत २०८२

सारांश

  • नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनमा नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ।
  • वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा र निकोलस पाण्डेले प्यानलसहित उम्मेदवारी दिएका छन्।
  • अधिवेशनमा सार्वजनिक खरिद ऐन संशोधन र निर्माण व्यवसायका समस्या समाधानका एजेन्डा छन्।

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनको दोस्रो दिन बुधबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।

मंगलबारदेखि काठमाडौँमा सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । आगामी कार्यकालका लागि बिहीबार मतदान हुने कार्यतालिका छ ।

निर्वाचनमा मुख्यगरी दुईवटा प्यानलबिच कडा प्रतिस्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (एडी) लामा र निर्माण व्यवसायी निकोलस पाण्डेले आ–आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेका छन् ।

अनुभवलाई मुख्य आधार बनाएको लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा छन् । लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । महासचिवका उम्मेदवार घिमिरे यसअघि पनि महासंघमा उपमहासचिव पदमा रहेर काम गरिसकेका अनुभवी व्यक्ति हुन् ।

युवा जोस र परिवर्तनको नारासहित मैदानमा उत्रिएको पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् । पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याको गाँठो फुकाउने र व्यवसायी प्रतिकूल रहेका सार्वजनिक खरिद ऐनका दफाहरू खारेज गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासंघको नेतृत्वका लागि अनुभवी र युवा दुवै पक्षको दाबेदारी देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा लामो अनुभव सँगालेका एडी लामा र युवा समूहको प्रतिनिधित्व गर्दै निकोलस पाण्डे चुनावी मैदानमा छन् । लामालाई अनुभवको आधारमा बलियो मानिएको छ भने पाण्डेलाई युवा व्यवसायीहरूको साथ रहने अपेक्षा गरिएको छ ।

वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल र रामजी पन्त (मुकेश) पतिस्पर्धामा छन् । यसअघि महासचिव अनुभवको आधारमा दाहाललाई बलियो मानिएको छभने पन्त पनि व्यावसायिक सोच भएका व्यक्ति हुन् । यस्तै उपाध्यक्ष एसोसिएटमा नरहरि थपरिया र एनपी शेर्पा प्रतिस्पर्धामा छन् ।

महासचिव पदका लागि बलिभद्र राना र शिवहरि घिमिरेको उम्मेदवारी मनोनयन दर्ता छ । राना व्यवसायिक सोच भएका व्यक्तिका रूपमा चिनिन्छन् भने घिमिरे यसअघि पनि महासंघको उपमहासचिव पदमा रहेर काम गरिसकेका अनुभवी व्यक्ति हुन् ।

नीतिगत सुधारका लागि लामिछानेको बलियो पदचाप

दुई ठुला प्यानल चुनावी मैदानमा सक्रिय रहँदा महासंघभित्र नीतिगत स्पष्टता र व्यवसायीका समस्या समाधानका लागि भन्दै लामिछानेले स्वतन्त्र रूपमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । निर्माण क्षेत्रमा २८ वर्षको लामो अनुभव सँगालेका लामिछानेले नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय निर्माण कम्पनी (एनसीसीएन) मा ६ वर्ष व्यवस्थापन तहमा बसेर काम गरिसकेका छन् ।

त्यस्तै, उनले सार्वजनिक खरिद ऐन र निर्माण क्षेत्रका नीतिगत समस्या समाधानमा आफ्नो विज्ञता रहेको दाबी गर्दै चुनावी एजेन्डा अघि सारेका छन् । सोही पदमा मंगल शाही अशोककुमार केसी र राजकुमार बास्ताकोटीले पनि प्रतिस्पर्धा गर्दैछन्, यद्यपि लामिछानेको तुलनामा उनीहरूको अनुभव केही कम रहेको विश्लेषण गरिएको छ ।

आन्तरिक उपमहासचिवमा इन्जिनियर सन्तोष साह, चन्द्रशेखर मल्ल र अनुभवी सुवित श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको छ । कोषाध्यक्ष पदका लागि व्यवसायिक दक्षता भएका बालाजु श्रेष्ठ र कार्य अनुभवका साथै युवा जोस भएका उज्ज्वल गौतम प्रतिस्पर्धामा छन् । सह–कोषाध्यक्ष पदमा भने उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंह जस्ता युवा नेतृत्वको आकर्षण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप