चितवन–पर्सा कम्प्लेक्स प्रस्तावमा चितवनको असहमति
सारांश
- चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै टिकट प्रणालीमा जोड्ने प्रस्तावमा चितवन निकुञ्जले सुरुमा असहमति जनाएको थियो।
- पर्सा निकुञ्जले चितवन घुम्न आउने पर्यटकलाई थप शुल्कमा पर्सा पनि घुम्न दिने गरी नयाँ विकल्प विभागमा पेश गरेको छ।
- चितवन निकुञ्जका प्रमुखले संघीय सरकारले नीतिगत निर्णय गरेमा आफूहरू सहयोग गर्न तयार रहेको बताएका छन्।
बारा । पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि चितवन–पर्सालाई एउटै कम्प्लेक्स बनाई सहकार्य गर्ने प्रस्तावमा चितवन राष्ट्रिय निकुञ्जले असहमति जनाएको छ ।
एउटै टिकटमा दुवै निकुञ्ज घुम्न पाउने वा निश्चित शुल्क थपेर पर्सासम्म आउन सकिने प्रस्तावमा चितवनले सुरुमा असहमति जनाए पनि हाल विभागीय निर्णय भए सकारात्मक सहयोग गर्ने बताएको छ । पर्सा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एउटै टिकटमा चितवनसम्म र चितवन राष्ट्रिय निकुञ्जबाट प्रवेश लिएका पर्यटकलाई पर्सासम्म निर्वाध सफारी गराउन सकिने गरी एक वर्षअघि नै विभाग र वन मन्त्रालयमा प्रस्ताव पठाइएको थियो ।
गतवर्ष चैत २१ गते भएको ४० औं वार्डेन सम्मेलनले पनि एउटै टिकटबाट दुईवटा निकुञ्ज घुम्न सक्ने विषयमा निर्णय गरेको थियो । यद्यपि, सुरुमा मन्त्रालय तहमा भएको छलफलमा चितवन निकुञ्जका तत्कालीन प्रशासक र मध्यवर्ती क्षेत्रका व्यवस्थापन समिति सकारात्मक नभएको जनाइएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार पहिलो प्रस्तावमा चितवनले असहमति जनाएपछि विकल्पका रूपमा २५ सय रुपैयाँ टिकट शुल्क बुझाएपछि चितवन आउने पर्यटकलाई एक दिन पर्सा घुम्न सक्ने व्यवस्था गर्ने आग्रह गरिएको छ ।
हाल चितवनमा विदेशी पर्यटकले प्रतिव्यक्ति २ हजार शुल्क बुझाउँछन्, थप ५ सय शुल्कमा पर्सा पनि घुम्न सकिने प्रस्ताव विभागमा पठाइएको खतिवडाले बताए । उनले यसमा सरकारले चाहे तत्कालै कार्यान्वयन हुन सक्ने पनि बताए ।
पर्सामा वार्षिक १ हजार मात्रै पर्यटक आउँछन् भने चितवन राष्ट्रिय निकुञ्जमा वार्षिक २ लाख ५० हजार देखि ३ लाखसम्म पर्यटक घुम्न आउँछन् । जसबाट चितवनले वार्षिक ३० देखि ३५ करोडसम्म राजस्व संकलन गर्दछ । पर्साले भने मध्यवर्ती क्षेत्रमा काठ, दाउरा बिक्रीबाहेक अन्य माध्यमबाट हालसम्म आम्दानी लिन सकेको छैन ।

प्रमुख संरक्षण अधिकृत खतिवडाका अनुसार चितवन राष्ट्रिय निकुञ्ज अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ भइसकेको अवस्थामा पर्साले त्यससँग प्रतिस्पर्धा गरेर बराबर लैजान सम्भव छैन । त्यसैले मित्रता र एकीकृत रुपमा पर्या–पर्यटन विकासका लागि एउटै टिकटबाट दुवै निकुञ्ज घुम्न सक्ने प्रस्ताव राखिएको हो ।
यसले दुवै निकुञ्जको एकीकृत विकास हुने, होटल तथा पर्यटन व्यवसायी, स्थानीय तह र मधेश प्रदेशले फाइदा लिन सक्ने उनको भनाइ छ । संख्यामा कम भए पनि चितवनमा पाइने सबैखाले दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी पर्सामा पनि पाइन्छन् ।
मन्त्रालय र स्थानीय पालिका उदासीन
पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र परिषद्का अध्यक्ष सीताराम अर्यालले मन्त्रालय तहमा पटक–पटक विषय उठाउँदा पनि सुनुवाइ नभएको बताएका छन् । वन मन्त्रालयले चितवन वा पर्सा जहाँ पर्यटक बढे पनि राजस्व आफ्नै खातामा जम्मा हुने भएकाले नीतिगत रुपमा पर्सालाई प्रवद्र्धन हुने गरी तत्कालै निर्णय गर्ने पक्षमा नरहेको अर्यालको टिप्पणी छ ।
प्रचारप्रसारको अभाव र पर्यटनमैत्री संरचना नहुँदा पर्सा निकुञ्जमा पर्यटकहरू खासै आउन चाहँदैनन् । यो मधेस प्रदेशको एक मात्र निकुञ्ज हो । वीरगञ्ज महानगर, जीतपुर सिमरा उपमहानगरसहित ८ वटा पालिकाहरू निकुञ्जसँग जोडिएको भए पनि जीतपुर सिमराबाहेक अन्य पालिकाले पर्यटनमैत्री संरचना निर्माण गरेका छैनन् ।
पर्सालाई ‘भर्जिन निकुञ्ज’ (पर्यटकको चहलपहल खासै नभएको) मानिन्छ । पर्सा निकुञ्ज जंगली हात्तीको मुख्य वासस्थान क्षेत्र हो । यहाँ दुर्लभ पाटेबाघ, गौरीगाई, गैँडा, भालु, सालक, जरायो, चितुवा, चित्तललगायत ३७ प्रकारका स्तनधारी जनावर, ४९० प्रकारका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रकारका पुतलीहरूको अवलोकन गर्न सकिन्छ ।

निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि पानी पोखरीसँगै २ दर्जनभन्दा बढी मचानहरू निर्माण गरिएको छ । हात्ती सफारी र जंगल सफारीको माध्यमबाट दुर्लभ एकसिङ्गे गैंडा पनि अवलोकन गर्न सकिन्छ । पर्सा निकुञ्ज प्रशासनका अनुसार तत्कालका लागि चितवन घुम्न आएका २० प्रतिशत पर्यटकलाई मात्रै पर्सामा भित्राउन सके ठुलो उपलब्धि हुनेछ ।
होटल तथा पर्यटन व्यवसायी मोहन शर्मा भने भारतीय पर्यटकलाई लक्ष्यित गरेर संरचना निर्माण गर्नुपर्ने बताउँछन् । ‘सौराहा जाने विदेशी पर्यटकलाई पर्सा ल्याउन र भारतीय पर्यटकलाई पर्सा हुँदै सौराहासम्म जानसक्ने गरी चितवन र विभागसम्म दबाब दिनु जरुरी छ,’ शर्माले भने, ‘पर्सामा चितवनभन्दा धेरै अवलोकन र अनुभव गर्न सकिन्छ, तर हामीले यसलाई प्रचारप्रसार गर्न सकेनौँ ।’
‘विभागीय निर्णय भए आपत्ति छैन’
यता चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले भने संघीय सरकारले नीतिगत रुपमा निर्णय गरे चितवनले सकारात्मक सहयोग गर्ने बताएका छन् । ‘यो पर्साले उठान गरेको विषय हो, संस्थागत रुपमा हामीलाई केही जानकारी छैन । विभाग, मन्त्रालयले पनि हामीलाई केही सोधेको छैन,’ डा. पन्तले भने, ‘सरकारले नीतिगत रूपमै निर्णय गरे हामीले समर्थन, विरोध गर्नुपर्ने कारण छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण