जनताले सरकार मात्र होइन, शासन सञ्चालनको संस्कृतिमै परिवर्तन खोजेका छन् : केसी
सारांश
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले जनताले सरकारको अनुहार मात्र नभई शासन सञ्चालनको शैली र संस्कारमै परिवर्तन खोजेको बताएका छन्।
- उनले मन्त्रिपरिषद्को १०० बुँदे सुधार कार्यसूचीलाई स्वागत गर्दै यसको सफल कार्यान्वयनका लागि पूर्ण समर्पण र निष्पक्षता आवश्यक रहेकोमा जोड दिएका छन्।
- केसीले विगतका राजनीतिक अस्थिरता र संसदीय कमजोरीलाई बिर्सिदै अब विकास र सुशासनका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने धारणा राखेका छन्।
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नेपाली जनताले केवल सरकारको अनुहार परिवर्तन मात्र नभई शासन सञ्चालनको शैली, संस्कृति र संस्कारमै आमूल परिवर्तनको अपेक्षा गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार र यो सदनप्रति आम नागरिकको ठूलो आशा, विश्वास र उत्सुकता रहेको उल्लेख गरेका हुन् ।
ताजा जनादेशबाट गठित यो संसदले जनताको भरोसालाई परिणाममुखी कार्यमार्फत सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । बैठकमा बोल्दै केसीले मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको १०० बुँदे शासन सुधारको कार्यसूची स्वागतयोग्य रहेको बताए ।
यसको सफल कार्यान्वयनका लागि समयको सही व्यवस्थापन, पूर्ण समर्पण र निष्पक्षता अनिवार्य रहेको उनको भनाइ छ । उनले मुलुकको संविधानले परिकल्पना गरेको समावेशी, समानतामूलक र जनसर्वोच्चताको भावनाप्रति सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे । राष्ट्रिय आवश्यकताहरू पूरा गर्न अब विभाजनभन्दा एकता, उत्तेजनाभन्दा चेतना र आवेगभन्दा विवेकको प्रयोग हुनुपर्नेमा उनले विशेष जोड दिए ।
विगतमा पटक–पटक भएको प्रतिनिधि सभा विघटन र त्यसबाट उत्पन्न राजनीतिक अस्थिरताले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा गम्भीर असर पारेको केसीले स्मरण गराए । संवैधानिक संस्थाहरूको निष्पक्षता र स्वायत्ततामा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता प्रवृत्तिमा अब पूर्णविराम लाग्नुपर्ने बताए । संसदीय अभ्यासमा देखिएका कमजोरीले नीति निर्माण र सरकारलाई उत्तरदायी बनाउने प्रक्रियामा समेत अवरोध पुर्याएको उल्लेख गर्दै उनले अब विकास, अर्थतन्त्र र सुशासनसँग सम्बन्धित विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।
राजनीतिक परिवर्तन पटक–पटक आए पनि पद्धति अनुसारको प्रवृत्तिमा सुधार आउन नसकेको भन्दै उनले अब नयाँ सरकारले नयाँ कार्यशैली देखाउनुपर्ने बताए । पुराना विचार र व्यवहारबाट दिक्क भएका जनतालाई नयाँ संस्कार र संस्कृतिको अनुभूति गराउनु नै यो सदनको मुख्य दायित्व भएको उनको तर्क छ ।
संसद्लाई सभ्य र मर्यादित बनाउन सबै सदस्यहरूले सभ्य भाषामा आफ्ना अभिव्यक्ति राख्नुपर्ने आग्रह गर्दै उनले जनआस्था र आशालाई व्यावहारिक नीति र योजनामार्फत नतिजामा बदल्न आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण