बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टेबल ढ्यापढ्याप पनि कोटाअनुसार बाँडिएको जस्तो देखियो : खुश्बु ओली

बिहीबार, १९ चैत २०८२, २० : ००
बिहीबार, १९ चैत २०८२

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले प्रतिनिधि सभामा टेबल ढ्यापढ्याप गर्ने कार्य पनि कोटाअनुसार बाँडिएको जस्तो देखिएको बताएकी छिन्।
  • उनले सदनमा विचारको ओजनभन्दा दलीय आधारमा मात्र समर्थन जनाउने प्रवृत्ति हावी भएको आरोप लगाएकी छिन्।
  • सांसद ओलीले सदनमा नीति र दृष्टिकोणको बहसमा भन्दा ताली बजाउने अधिकारको राजनीतिमा जोड दिइएको भन्दै आलोचना गरेकी छिन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले प्रतिनिधि सभामा सांसदहरूले देखाउने समर्थन र ऐक्यबद्धता केवल दलीय घेराभित्र सीमित भएको  बताएकी छिन् । बिहीबारको प्रतिनिधि सभाको पहिलो बैठकको अनुभव सुनाउँदै उनले सदनभित्र राम्रो कुराको समर्थनमा बजाइने 'टेबल ढ्यापढ्याप' पनि कोटाअनुसार बाँडिएको जस्तो देखिएको बताएकी हुन् ।

सांसद ओलीले सदनमा विचारको ओजन र गहिराइभन्दा पनि कुन बेन्चबाट आवाज आएको हो भन्ने आधारमा प्रतिक्रिया जनाउने प्रवृत्ति देखिएको बताइन् । 'आफ्नै पक्षले बोले उत्साह देखिने, तर अर्को पक्षले जतिसुकै सार्थक विषय उठाए पनि मौनता साध्ने विडम्बना देखियो,' उनले भनेकी छिन्, 'यदि समर्थन पनि दलगत स्वीकृतिपछि मात्र दिने हो भने अब त सही विचारलाई पनि पार्टीको 'टिकट' चाहिने अवस्था आयो । यो लोकतन्त्र होइन, यो त सोचमाथि लगाइएको अदृश्य सेन्सरशिप हो ।'

सदनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट गम्भीर विषयहरू उठेको स्मरण गर्दै उनले विचारको मूल्य त्यसको प्रभावले निर्धारण हुनुपर्नेमा जोड दिइन्। सांसद ओलीले अहिले सदनमा नीति र दृष्टिकोणको बहस हुनुको साटो केवल 'ताली बजाउने अधिकारको राजनीति' भइरहेको बताइन् ।

'अब समय आएको छ टेबल मात्र होइन, हाम्रो सोच पनि ठोक्किनु पर्छ, जाग्नुपर्छ,' ओलीले अगाडि भनिन्, 'किनकि अन्ततः इतिहासले हाम्रो आवाज होइन, हाम्रो इमानदारी र परिपक्वतालाई मापन गर्नेछ । त्यस दिन हामीले कति पटक टेबल ढ्यापढ्याप गर्यौं भन्ने होइन, हामीले कति पटक सही कुराको साथ दियौँ भन्ने कुरा लेखिनेछ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप