बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अबको राजनीति मैदानमा होइन, डिजिटल स्पेसमा हुँदैछ

शुक्रबार, २० चैत २०८२, ११ : ४४
शुक्रबार, २० चैत २०८२

सारांश

  • नेपालको राजनीति अब सडकका र्‍यालीबाट बाहिरिएर भान्सा, पूजाकोठा, विद्यालय र सामाजिक सञ्जालको डिजिटल स्पेसमा प्रवेश गरिसकेको छ।
  • राजनीतिक दलहरूले क्याम्ब्रिज एनालिटिका जस्तै प्रविधि र मनोवैज्ञानिक प्रभावमार्फत मतदाताको मस्तिष्कलाई प्रभावित पार्ने नयाँ रणनीति अपनाइरहेका छन्।
  • नागरिकहरूले आफूलाई भइरहेको यो अदृश्य वैचारिक 'मेनुपुलेसन' बुझ्न र डिजिटल साक्षरता अपनाउन आवश्यक छ।

केही दिन अघि भरतपुरको एउटा सुविधासम्पन्न हलमा आयोजित व्यावसायिक प्रमोसनको कार्यक्रममा म पनि सहभागी थिएँ । नयाँ उत्पादनको प्राविधिक जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा वक्ताले ल्यापटपबाट स्लाइडहरू त प्रस्तुत गरिरहेका थिए, तर अचम्मको कुरा के भने प्राविधिक उदाहरण दिने बहानामा उनी एउटा खास राजनीतिक दलको एजेन्डा ओकलिरहेका थिए । 

म अवाक भएँ ! के एउटा मेसिन वा सफ्टवेयर बेच्ने मञ्च पनि अब राजनीतिक विचारधारा फैलाउने थलो बन्न सक्छ ?

यो अनुभव एक्लो थिएन । केही दिनअघि एकजना साथी भेट्न उनकै घरमा गएँ । उनी चर्च गएको कुरा परिवारबाट थाहा भयो । चर्च नजिकै भएकाले म त्यही भेट्न पुगेँ । त्यहाँ परमेश्वरका बारेमा प्रवचन हुँदै रहेछ । साथीले मलाई हातको इशाराले बस्न भने । म पनि उनको नजिकै बसेँ । त्यहाँ पनि त्यस्तै दृश्य दोहोरियो । ‘पिता–परमेश्वर’ को चर्चा हुँदै गर्दा अचानक प्रसङ्ग वर्तमान राजनीति र कुनै खास दलको पक्षपोषणमा मोडियो । 

केहि दिन अघि एउटा भजन समूहमा गएको त्यहाँ त भजन नै पुरै कुनै अमुक राजनीतिकसँग पो गाँसिएर आयो । यसरी धर्म र अध्यात्मको शीतल छहारी खोज्दै गएका भक्तहरू अनजानमै एउटा राजनीतिक कार्यकर्ताको ब्रिफिङ सुनिरहेका थिए । यति मात्र कहाँ हो र, समाजसेवाको कसम खाएका गैरसरकारी संस्थाहरू (आईएनजीओ) का सेमिनारहरूमा समेत उदाहरणका रूपमा कुनै निश्चित राजनीतिक पक्षलाई फाइदा पुग्ने गरी सन्दर्भहरू बुन्ने गरिएको अनुभव मसँग छ । 

विद्यालयमा प्रश्न निकाल्दा वा उदाहरण दिँदा कुनै राजनीतिक पक्षलाई प्रमोसन हुने गरी गरिन्छ । कलिलो बाल मनोविज्ञानमा एउटा छाप दिएको पाइन्छ । यी शृङ्खलाहरूले एउटा गम्भीर प्रश्न उब्जाएको छ । के अबको राजनीति केवल टुँडिखेलका भाषण र सडकका र्‍यालीमा मात्र सीमित छ त ? पक्कै छैन । राजनीति अब हाम्रो भान्सा, हाम्रो पूजाकोठा, हाम्रो स्कुल र हाम्रो मोबाइलको ‘स्क्रोल’ भित्र सुटुक्क छिरेको छ । 

पछिल्लो प्रतिनिधि सभाको निर्वाचन परिणामले राजनीतिक दलहरूलाई झस्काएको हुनु पर्छ । नेपालका प्रमुख राजनीतिक दलहरूले वर्षौँसम्म आफ्नो गढ मानेका क्षेत्रहरू यो निर्वाचनमा तासको महलझैँ भत्किए । यसको अर्थ प्रस्ट छ, मतदाता अब सडकका नारा, भित्ताका पोस्टर वा गरेका वाचाभन्दा बढी आफ्नो मोबाइलको स्क्रिन र दैनिक भेटघाटको संवादबाट प्रभावित छन् । 

क्याम्ब्रिज एनालिटिकाले मानिसहरूले फेसबुकमा के लाइक गर्छन्, कस्ता तस्बिरमा कमेन्ट गर्छन् र कुन कुरा सेयर गर्छन् भन्ने आधारमा उनीहरूको राजनीतिक झुकाव, डर र रुचिहरूको विस्तृत नक्सा तयार पारेको थियो । उनीहरूले एल्गोरिदम प्रयोग गरेर मानिसको खुल्लापन, इमानदारिता, बहिर्मुखता, मिलनसारिता र संवेदनशीलता जस्ता गुणहरू पत्ता लगाउँथे र त्यसै अनुकूलको सामग्री पस्किन्थे ।

जब मानिसले मन्दिरमा शान्ति खोज्न जाँदा वा सामान किन्न पसलमा जाँदा समेत राजनीतिको ‘इको च्याम्बर’ (एउटै आवाज गुन्जिरहने ठाउँ) भेट्छ, तब उसको स्वतन्त्र विवेक बिस्तारै कुण्ठित हुँदै जान्छ । नेपालमा पनि अब कुनै दलको पकेट क्षेत्र वा भोट बैंक सुरक्षित छैन । मतदाताहरू यति तीव्र गतिमा ‘स्विङ’ भइरहेका छन् कि दलहरूले अब पुरानो शैलीले मात्र पुग्दैन भन्ने बुझिसकेको हुनुपर्छ । त्यसैले अहिले ‘माइक्रो–टार्गेटिङ’ को खेल सुरु भएको छ ।

क्याम्ब्रिज एनालिटिका र डिजिटल जासुसी

सन् २०१६ को अमेरिकी चुनावमा ‘क्याम्ब्रिज एनालिटिका’ ले प्रयोग गरेको रणनीति भन्दा पनि परिष्कृत शैली अहिले नेपालमा देखिन थालेको छ ।  क्याम्ब्रिज एनालिटिका वास्तवमा डिजिटल जासुसी र मनोवैज्ञानिक युद्धको एउटा स्वरूप थियो । त्यसले फेसबुकका करिब ८ करोड ७० लाख प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी उनीहरूको अनुमतिबिना नै संकलन गरेको थियो । त्यो तथ्याङ्क केवल नाम र ठेगानाका लागि थिएन, बरु मानिसको मनोवैज्ञानिक प्रोफाइल पत्ता लगाउनका लागि थियो । 

क्याम्ब्रिज एनालिटिकाले मानिसहरूले फेसबुकमा के लाइक गर्छन्, कस्ता तस्बिरमा कमेन्ट गर्छन् र कुन कुरा सेयर गर्छन् भन्ने आधारमा उनीहरूको राजनीतिक झुकाव, डर र रुचिहरूको विस्तृत नक्सा तयार पारेको थियो । उनीहरूले एल्गोरिदम प्रयोग गरेर मानिसको खुल्लापन, इमानदारिता, बहिर्मुखता, मिलनसारिता र संवेदनशीलता जस्ता गुणहरू पत्ता लगाउँथे र त्यसै अनुकूलको सामग्री पस्किन्थे ।

उनीहरूले कट्टर समर्थक वा कट्टर विरोधीमाथि समय खेर फालेनन् । उनीहरूले ती स्विङ मतदाताहरूलाई पहिचान गरे, जो निर्णय लिन अलमलमा थिए । यदि कोही मानिस डरबाट छिट्टै प्रभावित हुने प्रकृतिको छ भने, उसलाई सुरक्षा र खतरासम्बन्धी डरलाग्दा राजनीतिक विज्ञापनहरू देखाइयो । यदि कोही आर्थिक कुरामा बढी केन्द्रित छ भने, उसलाई कर र रोजगारीका सुकिला सपना देखाइएका सामग्री पठाइयो । 

मानिसको स्वभाव जस्तो छ उसको दिमागमा त्यस्तै प्रकारका सामाग्री पठाएर दिमागमा उनीहरुले चाहेको कुरा भरिदिन्थे । यसको सबैभन्दा खतरनाक पक्ष भनेको प्रयोगकर्ताले आफूलाई कसैले ‘मेनुपुलेट’ गरिरहेको थाहै पाउँदैनथे । उनीहरूको फेसबुक वालमा यस्ता समाचार र भिडियोहरू आउन थाल्थे, जसले बिस्तारै उनीहरूको विचार परिवर्तन गरिदिन्थ्यो । यो कुनै सार्वजनिक भाषण थिएन, यो त व्यक्तिको मोबाइलभित्र छिरेर गरिएको ‘निजी मन्त्रणा’ जस्तै थियो । मस्तिष्कमा विचार परिर्वन थियो । 

नेपालको सन्दर्भमा यो प्रविधि मात्र होइन, ‘सामाजिक सेटिङ’ मा समेत पुगेको छ । क्याम्ब्रिज एनालिटिकाले डेटा मात्र प्रयोग गरेको थियो, तर नेपालमा एल्गोरिदम अर्थात डेटाको साथसाथै मानिसको आस्था (मन्दिर/धर्म), जीविका (व्यावसायिक कार्यक्रम) र शिक्षा (विद्यालय) जस्ता भौतिक थलोहरूलाई नै राजनीतिक प्रयोगशाला बनाइएको पाइएको छ ।

सामाजिक सञ्जालका नेपाली ग्रुपहरू र टिकटकमा अरू सबै ‘सिद्ध्याउन आएका हुन्, म मात्र बचाउन आएको हुँ’ भन्ने भाष्यलाई हजारौँ ‘फेक एकाउन्ट’ मार्फत यति धेरै दोहोर्‍याइन्छ कि साधारण मानिसलाई त्यही नै ‘राष्ट्रिय लहर’ जस्तो लाग्न थाल्छ । अमेरिकामा यस्तो काण्ड भएपछि फेसबुकले ठुलो जरिवाना तिर्नुपर्‍यो र नियमहरू कडा भए । तर, नेपालमा कुन विज्ञापन कसले, कहाँबाट र कस्तो बजेटमा चलाइरहेको छ भन्ने कुराको नियमन गर्ने बलियो निकाय छैन । यसले गर्दा ‘अदृश्य शक्ति’ हरूलाई खेल्न झन् सजिलो भएको छ । 

अल्गोरिदमको जालो र ‘कन्फर्मेसन बायस’

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त दिनेश थपलियाले आफ्नो पुस्तक ‘विचित्रको लोकतन्त्र गज्जबको निर्वाचन’ मा अमेरिकाको प्रसङ्ग उठाउँदै सुरक्षित किल्ला र स्विङ स्टेटको चर्चा गरेका छन् । उनी लेख्छन् ‘अमेरिकी राष्ट्रपति बन्नका लागि देशभर लोकप्रिय हुनुभन्दा पनि रणनीतिक रूपमा यी ‘स्विङ स्टेट्स’ जित्नु बढी महत्त्वपूर्ण हुन्छ । लेखकले यसलाई ‘रणनीति र गणितको खेल’ भन्दै कसरी भौगोलिक र जनसांख्यिकीय बनोटले राजनीतिक शक्ति सन्तुलनलाई समेत फेरबदल गर्छ भन्ने कुरा उल्लेख गरेका छन् ।’ 

नेपालमा पनि अहिले यो अवधारणा लागू भएको अनुभव गरियो । कसैको सुरक्षित किल्ला रहेन सबै मतदाता स्विङ भए । अहिलेको राजनीति सडकमा भन्दा बढी सामाजिक सञ्जालको ‘अल्गोरिदम’ मा खेलिँदैछ । फेसबुक र टिकटकका अल्गोरिदमले यस्तो ‘इको च्याम्बर’ सिर्जना गर्छन्, जहाँ तपाईँ जे हेर्न चाहनुहुन्छ, त्यही मात्र देखाइन्छ । यहाँ एउटा खतरनाक खेल छः ‘अरू सबै खराब, म मात्र ठिक ।’ 

कुनै एउटा झुटो कुरालाई पटक–पटक फरक–फरक पात्रमार्फत भिडियो बनाएर पस्किइन्छ । जब तपाईँ एकै प्रकृतिका धेरै भिडियो हेर्नुहुन्छ, तपाईँको मस्तिष्कले त्यसलाई ‘सत्य’ मान्न थाल्छ । यो ‘कन्फर्मेसन बायस’ (आफ्नो धारणालाई मात्र पुष्टि गर्ने सूचना खोज्ने प्रवृत्ति) को मनोविज्ञान हो । 

राजनीतिक दार्शनिक एन्टोनियो ग्राम्सीले ‘सांस्कृतिक प्रभुत्व’ को सिद्धान्त प्रतिपादन गरेका थिए । उनको तर्क थियो, राजनीतिक वर्गले केवल शक्ति र बन्दुकको भरमा शासन गर्दैन, उसले त समाजका हरेक अङ्ग विद्यालय, धर्म, मिडियामा आफ्नो विचार यसरी घुसाउँछ कि साधारण जनतालाई त्यो विचार आफ्नै जस्तो लाग्न थाल्छ ।

अल्गोरिदमले तपाईँलाई त्यस्तो घेरामै जकडेर राखिदिन्छ कि तपाईँलाई ‘मैले सोचेको कुरा’ सिङ्गो देशले सोचिरहे जस्तो लाग्छ । तर वास्तवमा त्यस्तो हुँदैन । तपाईँ निश्चित डिजिटल पर्खालभित्र कैद भएको हुन्छ । छिमेकी मुलुक भारतमा ‘गोदी मिडिया’ शब्द निकै चर्चित छ । त्यहाँका केही ठूला सञ्चार माध्यमहरूले समाचार पस्किने होइन, एक पक्षको भजन गाउने र विपक्षीलाई मानवीकरण गर्ने काम गर्छन् । 

नेपालमा पनि केही अनलाइन पोर्टल र युट्युब च्यानलहरू ‘अदृश्य लगानी’ का भरमा एउटा खास दल वा नेताको देवत्वकरण गर्न तल्लीन छन् । मिडियाको काम प्रश्न सोध्ने हो, तर जब मिडिया नै कुनै दलको ‘पिआर एजेन्सी’ बन्छ, तब लोकतन्त्रको चौथो स्तम्भ नै ढल्न पुग्छ । 

राजनीतिक दार्शनिक एन्टोनियो ग्राम्सीले ‘सांस्कृतिक प्रभुत्व’ को सिद्धान्त प्रतिपादन गरेका थिए । उनको तर्क थियो, राजनीतिक वर्गले केवल शक्ति र बन्दुकको भरमा शासन गर्दैन, उसले त समाजका हरेक अङ्ग विद्यालय, धर्म, मिडियामा आफ्नो विचार यसरी घुसाउँछ कि साधारण जनतालाई त्यो विचार आफ्नै जस्तो लाग्न थाल्छ ।

आज नेपालमा ठ्याक्कै यही भइरहेको छ । जब एउटा विद्यालयको शिक्षकले कक्षाकोठामा, धार्मिक, सामाजिक र व्यावसायिक संस्थामा उदाहरण दिँदा कुनै दलको दर्शन मिसाउँछ, तब त्यो व्यक्तिको अर्धचेतन मस्तिष्कमा बस्छ । मानिसलाई लाग्छ उसले स्वतन्त्र निर्णय गर्दैछ, तर वास्तविकतामा उसको मस्तिष्कलाई कुनै अदृश्य शक्तिले ‘प्रोग्रामिङ’ गरिसकेको हुन्छ । जोसेफ गोयबल्सको ‘एउटै झुटलाई हजार पटक दोहोर्‍याए त्यो सत्य बन्छ’ भन्ने सिद्धान्तलाई अहिलेको ‘डिजिटल बुट’ र ‘आईटी सेल’ ले स्थापित गरेका छन् ।

निष्कर्ष

अहिलेको राजनीति ‘बटम–अप’ शैलीमा बदलिएको छ, जहाँ नेताले आदेश दिने होइन, जनताको रुचि र आवश्यकताभित्र राजनीति लुकाएर पस्किने गरिन्छ । मानिसहरूले नेताभन्दा बढी धर्मगुरु वा सामाजिक अभियन्ता र मिडियामाथि गर्ने विश्वासलाई राजनीतिक दलहरूले त्यसलाई मतमा वा आफ्नो पक्षमा पारिरहेका हुन्छन् । परिणामस्वरुप, राजनीति अब निर्वाचनको समयमा मात्र होइन, हाम्रो बिहानको चिया गफदेखि बेलुकाको प्रार्थनासम्म छाया बनेर आइपुगेको छ । 

लोकतन्त्रको मेरुदण्ड मतदाता हुन । उनीहरू स्वतन्त्र विचार राख्न र निर्णय लिन स्वतन्त्र छन् । र, हुनु पनि पर्छ । तर आम मानिसले त्यस्तो स्वतन्त्रता कत्तिको उपभोग गरिरहेका छन् त ? अदृश्य मनिपुलेसनबाट बच्ने एक मात्र उपाय डिजिटल साक्षरता र नागरिक सचेतना हो । सामाजिक सञ्जालमा देखिने सामग्रीलाई आँखा चिम्लेर विश्वास गर्नुको सट्टा त्यसको स्रोत र नियतमाथि प्रश्न गर्न सिक्नुपर्छ । 

सूचना प्रविधिको यो युगमा सत्य ओझेलमा परेको छ र एल्गोरिदमको जालो बलियो भएको छ । अबको राजनीति मैदानमा होइन, मानिसको मस्तिष्कभित्र भराइन्छ, जहाँ ‘विश्वास’ लाई हतियार बनाइएको छ । त्यसैले, हामीले सोच्ने बेला आएको छ, के हाम्रो विचार साँच्चै हाम्रो मौलिक हो, कि कुनै सफ्टवेयर वा स्वार्थी वक्ताले हाम्रो दिमागमा ‘इन्स्टल’ गरिदिएको फाइल हो ? 

लोकतन्त्रको मेरुदण्ड मतदाता हुन । उनीहरू स्वतन्त्र विचार राख्न र निर्णय लिन स्वतन्त्र छन् । र, हुनु पनि पर्छ । तर आम मानिसले त्यस्तो स्वतन्त्रता कत्तिको उपभोग गरिरहेका छन् त ? अदृश्य मनिपुलेसनबाट बच्ने एक मात्र उपाय डिजिटल साक्षरता र नागरिक सचेतना हो । सामाजिक सञ्जालमा देखिने सामग्रीलाई आँखा चिम्लेर विश्वास गर्नुको सट्टा त्यसको स्रोत र नियतमाथि प्रश्न गर्न सिक्नुपर्छ । 

एउटै राजनीतिक भाष्य मन्दिर, चर्च, विद्यालय र मोबाइलको स्क्रिनमा सुनिन्, देखिन र भनिन् थाल्छ बुझ्नुहोस्, तपाईँ कसैको निशानामा हुनुहुन्छ । लोकतन्त्रमा मत दिनु मात्र होइन, आफ्नो विचार कुन आधारमा निर्माण भइरहेको छ भन्ने कुरामा सजग रहनु नै वास्तविक नागरिक हुनुको प्रमाण हो । 

सचेत बनौँ, नत्र हाम्रो विवेक कुनै ‘पिआर एजेन्सी’ को गोटी बन्न बेर लाग्ने छैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव पौडेल
सञ्जीव पौडेल
लेखकबाट थप