बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगर यातायात कार्यालयबाट सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

शुक्रबार, २० चैत २०८२, १८ : ०८
शुक्रबार, २० चैत २०८२

सारांश

  • विराटनगर यातायात कार्यालयबाट सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेका कमल कुमार स्वर्णकारले सवारी साधनको बिलबुक नवीकरणका नाममा कीर्ते कार्य गर्दै आएका थिए।
  • प्रहरीले स्वर्णकारको घरबाट ११ थान सवारी दर्ता किताब बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।

विराटनगर । सरकारी छाप र सरकारी कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्षीय कमल कुमार स्वर्णकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यातायात कार्यालय परिसरभित्र लेखापढीको काम गर्ने स्वर्णकारले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने भन्दै सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गरेको पाइएको छ ।

उनले अन्य मानिसहरूले राजस्व तिर्न दिएका विभिन्न सवारी साधनका दर्ता किताब ९बिलबुक० समेत लिई सरकारी छाप र छैटौँ तहको अधिकृतको किर्ते दस्तखत गर्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले स्वर्णकारको घरमा खानतलासी गर्दा विभिन्न ११ थान सवारी दर्ता किताबहरू समेत फेला पारेको छ ।

पक्राउ परेका उनीमाथि मोरङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । 

यसैबिच, प्रहरीले स्वर्णकारलाई सवारी दर्ता किताब नवीकरणका लागि दिएका कोही व्यक्ति भएमा ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न समेत अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप