जीवनभर एउटै क्लबका लागि खेल्ने फुटबलका १० महान् खेलाडी
सारांश
- एथलेटिक क्लबले आफ्नो सम्पूर्ण व्यावसायिक करिअर एउटै टोलीमा बिताउने खेलाडीहरूलाई सम्मान गर्न 'वान-क्लब अवार्ड' प्रदान गर्दै आएको छ।
- आधुनिक फुटबलको व्यवसायीकरण र मोटो रकमको ट्रान्सफरका बाबजुद केही उत्कृष्ट खेलाडीहरूले आफ्नो प्रिय क्लबप्रति जीवनभर निष्ठा कायम राखेका छन्।
- इनाकी विलियम्स, पाउलो माल्दिनी र फ्रान्सेस्को टोटी जस्ता खेलाडीहरूले ठूला अवसर र प्रलोभनलाई लत्याउँदै आफ्नो बाल्यकालको क्लबमा समर्पित रहेर कीर्तिमान बनाएका छन्।
स्पेनको बिल्बाओस्थित एथलेटिक क्लबको प्रतिष्ठित घरेलु मैदान सान मामेसमा हरेक वर्ष स्थानीय समर्थकहरू आफ्ना खेलाडीको मात्र नभई अन्य क्लबका ती खेलाडीहरूको पनि सम्मान र उत्सव मनाउन भेला हुन्छन्, जसले उनीहरूको जस्तै ‘निष्ठा’ को अद्वितीय मूल्य बोकेका हुन्छन्।
केवल आफ्नो क्षेत्रमा जन्मेका वा हुर्केका खेलाडीहरूलाई मात्र मौका दिने परम्पराका लागि प्रसिद्ध एथलेटिक क्लबले सन् २०१५ मा ‘वान–क्लब अवार्ड’ सुरु गरेको थियो। यो अवार्ड आफ्नो सम्पूर्ण व्यावसायिक करिअर एउटै टोलीमा समर्पित गर्ने खेलाडीहरूलाई सम्मान गर्न दिइन्छ।
ला लिगा टोलीको सञ्चार विभागका ड्यान पेरी भन्छन्, ‘हामी एउटा यस्तो अवार्ड स्थापना गर्न चाहन्थ्यौँ, जसले हुर्किंदै गरेका धेरै बच्चाहरूको एउटै क्लबका लागि खेल्ने सपनालाई सम्मान गरोस्।’
उनी थप्छन्, ‘अर्कोतर्फ, आधुनिक फुटबलमा मोटो रकमको ट्रान्सफरका बाबजुद संसारभर अझै पनि त्यस्ता उत्कृष्ट खेलाडीहरू छन्, जो एउटै क्लबमा टिकिरहन चाहन्छन् भन्ने देखाउनु थियो। यो व्यक्तिगत अवार्ड भए पनि, यसले फुटबल टोली, समर्थक र खेलाडीबिचको सम्बन्धलाई पनि उत्सवका रूपमा मनाउँछ।’
यी मूल्यहरूलाई ध्यानमा राख्दै, हामीले फुटबलका शीर्ष १० ‘वान–क्लब’ खेलाडीहरूको सूची तयार पारेका छौँ।
आफ्नो सम्पूर्ण करिअर एउटै क्लबमा बिताउनु निकै अनौठो कुरा हो। २० भन्दा बढी वर्ष शीर्ष स्तरमा खेल्दा खेलाडीले धेरै म्यानेजरहरू फेरिएको देख्छन्। यस्तोमा खेलाडी र क्लबको बाटो कति पटक फरक पर्ला ?
क्लबमा टिकिरहनु खेलाडीको मात्र निर्णय होइन, क्लबले पनि उनीहरूलाई चाहनुपर्छ। अनि खेलाडीले समर्थकसँग बलियो सम्बन्ध स्थापित गर्नुपर्छ। टोनी हिबर्टदेखि लेडली किङसम्म र सेल्टिकका पाउल म्याकस्टे जस्ता खेलाडीहरू ‘कल्ट हिरो’ वा क्लबको लेजेन्ड बन्छन्।
एथलेटिक क्लबसँग भूत र वर्तमानका आफ्नै थुप्रै ‘वान–क्लब’ खेलाडीहरू छन्, तर उनीहरूले यो अवार्ड अन्य क्लबबाट संन्यास लिइसकेका खेलाडीहरूलाई मात्र दिन्छन्।
पेरी थप्छन्, ‘हामी त्यस्ता खेलाडीहरू खोज्छौँ, जसमा क्लब वा समर्थकको मूल्य–मान्यता प्रतिविम्बित भएको होस्। सायद त्यो खेलाडी क्लबको सबैभन्दा ठूलो सुपरस्टार वा सबैभन्दा प्रतिभाशाली नहुन सक्छ, तर सामान्यतया उनीहरू समर्थकका एकदमै प्रिय हुन्छन्। समर्थकले ती खेलाडीलाई मैदानमा आफ्नो प्रतिविम्बको रूपमा देख्छन् र खेलाडीले पनि आफूलाई समर्थकको प्रतिविम्ब मान्छन्।’
मिलानदेखि म्यानचेस्टर युनाइटेडसम्मका क्लबहरूका खेलाडी यो सूचीमा हाबी हुन सक्छन्, त्यसैले हामीले प्रत्येक टोलीबाट एक जनालाई मात्र छानेका छौँ।
यो सूची एथलेटिक स्टारबाटै सुरु गर्नु उचित हुन्छ। यस सूचीका एकमात्र सक्रिय खेलाडी उनी हुन्, जसले क्लबको मूल्यलाई आत्मसाथ गरेका छन् र उनको आफ्नै एउटा प्रेरणादायी कथा पनि छ।
इनाकी विलियम्स बिल्बाओमा सायदै लेजेन्ड बन्थे, यदि उनका आमाबाबुले त्यो त्याग नगरेको भए। राम्रो भविष्यको खोजीमा उनकी आमा मारिया गर्भवती हुँदै घानाबाट नाङ्गो खुट्टा सहारा मरुभूमि पार गर्दै उत्तरी स्पेनमा आएर बसेकी थिइन्।
विलियम्सले एथलेटिकलाई ४० वर्षपछि पहिलो पटक कोपा डेल रे जिताउनुअघि भनेका थिए, ‘हामीले धेरै दुःख भोग्यौँ। भगवानलाई धन्यवाद, अहिले हामी सबै सँगै छौँ र धेरै राम्रो जीवन बिताइरहेका छौँ।’
एथलेटिकको समर्थकका रूपमा हुर्केका विलियम्स क्लबका लागि गोल गर्ने पहिलो अश्वेत खेलाडी हुन् र उनले आफ्ना भाइ निकोलाई पनि क्लबमा स्थापित हुन मद्दत गरे। पेरी भन्छन्, ‘इनाकी विलियम्स सधैँ भन्छन्, मेरो सपना भनेको मैले मेरो सम्पूर्ण करिअर मेरो बाल्यकालको क्लबका लागि खेलेँ भनेर भन्न पाउनु हो।’

३१ वर्षको उमेरमा एथलेटिकका लागि ५०० भन्दा बढी खेल खेलिसकेका विलियम्स, जसमा ला लिगामा लगातार २५१ खेल खेल्ने कीर्तिमान पनि समावेश छ, आफ्नो त्यो सपना पूरा गर्ने बाटोमा छन्।
पुरानो पुस्ताका स्टारहरूमध्ये लिड्स युनाइटेडका ज्याक चार्ल्टन र बोल्टन वान्डरर्सका न्याट लफ्टहाउस जस्ता खेलाडी पनि यसमा पर्न लायक छन्। तर, आधुनिक फुटबलको व्यवसायीकरण र विश्वव्यापीकरणले ‘वान–क्लब’ खेलाडी झन्–झन् दुर्लभ बन्दै गएकोले हामी धेरै विगतमा गएका छैनौँ।
यद्यपि, लेभ यासिन भने यो सूचीमा पर्नैपर्ने नाम हो। बालोन डी’ओर विजेता यी गोलकिपरले आफ्नो सम्पूर्ण करिअर (१९५०–१९७०) डाइनामो मस्कोमा बिताए । उनले क्लबका लागि आइस हक्की पनि खेले। यासिन सूचीको नवौँ स्थानमा छन् र यसमा पर्ने उनी एकमात्र गोलकिपर हुन्।

यद्यपि सीएसकेए मस्कोमा लगातार २३औँ सिजन खेलिरहेका ३९ वर्षीय इगोर अकिनफेभ र साओ पाउलोका लागि १ हजारभन्दा बढी खेल खेल्दै १२९ गोल गर्ने ब्राजिलियन रोजेरियो सेनी पनि उल्लेख गर्न लायक छन्।
आठौँ स्थानमा ज्युसेपे बर्गोमी छन्, जसले सन् १९८० मा १६ वर्षको उमेरमा इन्टर मिलानमा डेब्यु गरेका थिए र क्लबको सबैभन्दा कान्छो खेलाडी बने। यी बहुमुखी इटालियन डिफेन्डरले नेराजुरीका लागि ५१९ खेल खेलेका छन्, जुन जाभियर जेनेटीपछिको दोस्रो सर्वाधिक हो।

सान सिरोदेखि साउथह्याम्पटनसम्म, जहाँ म्याथ्यु ले टिसियरले द डेलमा उत्कृष्ट गोल गर्दै र पेनाल्टी स्पटबाट गोलकिपरहरूलाई दुःख दिँदै समय बिताए। मार्क क्रसली मात्र यस्ता गोलकिपर हुन्, जसले उनका ४८ पेनाल्टी प्रहारमध्ये एउटा रोक्न सकेका थिए।

ले टिसियर म्यानचेस्टर युनाइटेड, चेल्सी र टोटनह्याम जस्ता ठूला क्लबहरूमा जान सक्थे तर त्यसो गरेको भए उनी यो सूचीमा पर्दैनथे, न त साउथह्याम्पटनलाई त्यति लामो समयसम्म शीर्ष डिभिजनमा टिकाउन सक्थे।
थुप्रै खेलाडी ‘वान–क्लब’ बन्ने नजिक पुगेर पनि करिअरको अन्त्यतिर अन्तै लागे। जस्तै: थोमस मुलर (भ्यानकुभर), स्टिभन जेरार्ड (एलए) र जोन टेरी (मिडल्यान्ड्स)।
तर छैटौँ स्थानमा जेमी क्याराघेर छन्, जसले आफूलाई पूर्ण रूपमा मर्सिसाइड (लिभरपुल) मा समर्पित गरे। जब क्याराघेरलाई सान मामेसमा ‘वान–क्लब म्यान’ अवार्ड लिन आमन्त्रित गरियो, उनले भनेका थिए, ‘च्याम्पियन्स लिग जितेपछि, वान–क्लब म्यान हुनु मेरो करिअरको सबैभन्दा ठूलो उपलब्धि हो।’

क्लबका तर्फबाट अनेक उपाधि जिते पनि खेलाडीहरू यस अवार्डलाई ठूलो सम्मान मान्छन्। पेरी भन्छन्, ‘उनीहरूलाई लाग्छ, एउटै क्लबमा टिकिरहने कुरालाई उनीहरूको करिअरभरि कम महत्त्व दिइयो। तर उनीहरूको विनम्रता देख्दा मलाई अचम्म लाग्छ, जसले यो अवार्डको मूल्यलाई अझ प्रस्ट पार्छ।’
क्याराघेरले एनफिल्डमा १६ वर्षको करिअरमा ६ जना म्यानेजरअन्तर्गत खेले। त्यस्तै, पाँचौँ स्थानमा रहेका कार्लोस पुयोलले बार्सिलोनामा ८ जना म्यानेजरअन्तर्गत खेले। बार्सिलोनाले पुयोलले डेब्यु गर्नुअघि नै उनलाई बेच्ने प्रस्ताव स्वीकार गरिसकेको थियो, तर उनी जान मानेनन् र पछि क्लबका लागि सबथोक जिते।

पेरी भन्छन्, ‘कुनै पनि क्लबमा वान–क्लब खेलाडी हुनु दुर्लभ र गाह्रो उपलब्धि हो, ठूला क्लबमा मात्र होइन। क्लबहरू सधैँ सुधार गर्न खोज्छन् र ट्रान्सफर रणनीति यसको ठुलो हिस्सा हो। क्याराघेर र पुयोलले मलाई भनेका थिए, उनीहरूको ठाउँ लिन म्यानेजरहरूले नयाँ खेलाडीहरू ल्याए। त्यो उनीहरूका लागि ठूलो चुनौती थियो। शीर्ष डिभिजनमा लामो समयसम्म टिकिरहन ठुलो दबाब र प्रतिस्पर्धा सामना गर्नुपर्छ।’
चौथो स्थानमा रहेका टोनी एडम्सले जर्ज ग्राहमको कडा अनुशासनदेखि आर्सेन वेङ्गरको प्रगतिशील दृष्टिकोणसम्मको सङ्क्रमण पार गरे। उनले आर्सनललाई तीन फरक दशकमा लिग उपाधि जिताउँदा कप्तानी गरेका थिए।

एडम्सले रक्सीको लतविरुद्ध पनि संघर्ष गरे। मदिरा सेवन गरी गाडी चलाएको आरोपमा १९९० मा ४ महिना जेल परेका उनले सन् २००० मा स्पोर्टिङ चान्स क्लिनिक स्थापना गरे। रोमफोर्डमा जन्मेका यी सेन्टर–ब्याकले आर्सनलका लागि ६७२ खेल खेले। सन् १९९८ मा एभर्टनविरुद्ध स्टिभ बोल्डको पासमा गोल गर्दै आर्सनललाई लिग उपाधि जिताएको क्षण उनको करिअरको सबैभन्दा विशेष रह्यो।
तेस्रो स्थानमा रायन गिग्स छन्, जो अद्वितीय छन्। उनले म्यानचेस्टर युनाइटेडका लागि खेलेका ९६३ खेलमध्ये ९४० खेल र सबै १६८ गोल सर एलेक्स फर्गुसनको नेतृत्वमा गरेका थिए। यी वेल्सम्यानले २४ सिजनको करिअरमा १३ प्रिमियर लिग र २ च्याम्पियन्स लिग उपाधि जिते। उनी विङ्गरबाट सेन्ट्रल मिडफिल्ड हुँदै केही समय क्लबको अन्तरिम प्रशिक्षकसम्म बने।

तर पहिलो दुई स्थानका खेलाडीको नजिक कोही आउन सक्दैनन्।
एसी मिलानको पर्यायवाची नाम हो – ‘माल्दिनी’। उनी वान–क्लब म्यान मात्र नभएर क्लबको पुर्ख्यौली विरासत हुन्। उनका बुबा चेजारेले मिलानका लागि ४०० भन्दा बढी खेल खेले र पछि क्लबको म्यानेजर पनि बने। उनका नाति ड्यानियल पनि मिलानको एकेडेमीबाटै आए।

तर पाउलो माल्दिनी ? उनी त मिलानकै उपज हुन्। मिलानमा जन्मेको १६ वर्षपछि डेब्यु गरेका उनले आफ्नो ४१औँ जन्मदिनको नजिकसम्म रातो र कालो जर्सी लगाए। तीन फरक दशकमा सिरी ए (स्कुडेटो) र युरोपियन कप जितेका, ९०० भन्दा बढी खेल खेलेका उनी सान सिरोका महान् लेजेन्ड हुन्।
इटालीको गोल्डेन युगमा युरोपको सबैभन्दा ठूलो क्लबबाट खेल्दै विश्वकै उत्कृष्ट डिफेन्डर बन्नु एउटा कुरा हो, तर निश्चित सफलता र पैसाको प्रलोभनलाई लत्याउँदै बाल्यकालको क्लबलाई आफ्नै बलमा शिखरमा पुर्याउनु अर्कै कुरा हो।
रोमका सातौँ पुस्ताका बासिन्दा फ्रान्सेस्को टोटीको सपना थियो, आफ्नो बाल्यकालको सुत्ने कोठाको भित्तामा टाँसिएका हिरोहरूले जस्तै रोमाको रातो र पहेँलो जर्सी लगाउने। एकेडेमीमै हुँदा इटालियन जाइन्टहरूको अफर लत्याएका उनले विश्वकै उत्कृष्ट खेलाडी बनेपछि रियल मड्रिडका फ्लोरेन्टिनो पेरेजको अफर, ठुलो पारिश्रमिक र १० नम्बर जर्सीलाई पनि अस्वीकार गरे। उनी हुर्किंदै रोमाको सर्वकालीन उच्च गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी बने।

टोटी र रोमाको सम्बन्ध एउटा सुन्दर प्रेमकथा जस्तै हो, जसको चरमोत्कर्ष सन् २००१ मा क्लबले १८ वर्षपछि जितेको आफ्नो इतिहासकै तेस्रो लिग उपाधि थियो। १६ वर्षको उमेरमा सन् १९९३ मा स्टेडियो ओलम्पिकोमा डेब्यु गरेका टोटीलाई समर्थकले ४० वर्षको उमेरमा भावुक बिदाई नहुन्जेलसम्म पुजिरे। उनी साँचो अर्थमा एक ‘वान–क्लब हिरो’ हुन्, जसले यस सूचीको पहिलो स्थानमा रहन पूर्ण हक राख्छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण