सुदूरपश्चिम सरकारमा दोस्रो पटक मन्त्री बनेका शिवराज भट्ट के भन्छन् ?
सारांश
- बैतडीबाट निर्वाचित नेपाली कांग्रेसका नेता शिवराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारमा दोस्रो पटक मन्त्री नियुक्त भएका छन्।
- उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै विवाद समाधान गरी प्रदेशको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
- पाँच दशकदेखि सक्रिय राजनीतिमा रहेका भट्टले आफ्नो कार्यकालमा सुदूरपश्चिमको प्राकृतिक स्रोत र पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकता दिने योजना बनाएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा दोस्रो पटक मन्त्रीको जिम्मेवारी सम्हालेका शिवराज भट्ट यतिबेला चर्चामा छन् । बैतडीबाट निर्वाचित नेपाली कांग्रेसका नेता भट्टले यसपटक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । पाँच दशकदेखि निरन्तर राजनीतिमा सक्रिय भट्ट बैतडी निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए । सोमबार उनी सुदूरपश्चिम प्रदेश सरकारमा दोस्रो पटक मन्त्री बनेका हुन् ।
भट्टको जन्म बैतडीको हालको दशरथचन्द नगरपालिका वडा नम्बर २, देहिमाडौँमा भएको हो । उनको परिवार राजनीतिक रूपमा सचेत र शिक्षित मानिन्छ । उनका बुबा पनि राजनीतिमै विश्वास राख्ने व्यक्ति भएकाले भट्टलाई सानैदेखि घरभित्रै राजनीतिक संस्कारको जग बस्न मद्दत पुग्यो ।
उनका दाजु ठुला निर्माण व्यवसायी हुन् भने उनी आफैँ कानुनमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका व्यक्तित्व हुन् । उनका भाइहरूमध्ये एक चिकित्सक र अर्का इन्जिनियर छन् । तर, भट्टले आफ्नो जीवन भने समाजसेवा र राजनीतिमा समर्पित गर्ने निर्णय गरे ।
भट्टको राजनीतिक यात्रा २०२८ सालदेखि सुरु भएको हो । उनले हाईस्कुल पढ्दै गर्दा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को सदस्यता लिएर राजनीतिमा पाइला टेकेका थिए । २०३५ सालदेखि उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिए ।
२०३६ सालको जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा भट्टले अग्रमोर्चामा रहेर काम गरे । उनले बैतडी जिल्लामा नेपाली कांग्रेसको सङ्गठन विस्तारमा ठुलो योगदान दिएका छन् । उनी दुई कार्यकाल बैतडी जिल्लाको पार्टी सभापति बने भने महासमिति सदस्य र प्रदेश सभा सदस्य हुँदै अहिले दोस्रो पटक मन्त्री बनेका छन् । यसअघि उनले ६–७ महिना सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।
उनको राजनीतिक प्रेरणाको स्रोत बीपी कोइरालाको सिद्धान्त र शेरबहादुर देउवाको नेतृत्व हो । भारतमा अध्ययनका क्रममा बीपी कोइरालाको 'शुभ–लाभ' पत्रिका पढेर प्रभावित भएका भट्टले बीपीसँग प्रत्यक्ष भेट गर्ने अवसरसमेत पाएका थिए । शेरबहादुर देउवासँग भने उनी २०२८ सालदेखि नै निकट रहेर काम गर्दै आएका छन् ।
राजनीतिमा सधैँ सफलता मात्र मिल्दैन भन्ने कुरा भट्टले राम्रोसँग बुझेका छन् । २०५४ सालको स्थानीय चुनावमा राप्रपा र एमालेको गठबन्धनका कारण उनी पराजित भएका थिए । २०६४ सालको संविधानसभा चुनावमा पनि उनी सफल हुन सकेनन् । हारबाट कत्ति पनि विचलित नभई उनी निरन्तर सङ्गठन निर्माणमा खटिरहे । २०७९ सालमा प्रदेश सभा निर्वाचनमा विजयी भएर उनले सुदूरपश्चिम सरकारमा आफ्नो स्थान सुरक्षित गरे ।
हाल भट्टले यस्तो समयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्, जुन मन्त्रालय पछिल्लो समय केही विवादमा तानिएको छ । मुख्यमन्त्रीमाथि लागेका केही आरोप र मन्त्रालयका केही पुराना विवादहरूका बीच उनले पदभार ग्रहण गरेका छन् ।
‘विवाद हुनु सामान्य कुरा हो, त्यसलाई समाधान गरेर अघि बढ्नु नै वास्तविक राजनीति हो । राजनीति भनेको समस्याबाट भाग्ने होइन, समस्याको समाधान खोज्ने माध्यम हो । म यी सबै विवादहरूको गहिराइमा पुगेर तिनलाई सुल्झाउने कोसिस गर्नेछु,’ उनले भने ।
सुदूरपश्चिम प्रदेश पर्यटन र प्राकृतिक स्रोतमा धनी छ । केन्द्र सरकारले सुदूरपश्चिमका मुख्य पर्यटकीय स्थलहरूको पदमार्ग (ट्रेकिङ रुट) व्यवस्थित गर्ने घोषणा गरिसकेको विषयलाई मन्त्री भट्टले आफ्नो प्राथमिकतामा राखेका छन् ।
‘म भर्खरै मन्त्रालयमा आएको छु, परिस्थितिको अध्ययन गर्दै छु,’ उनले भने, ‘सुदूरपश्चिमको वन, वातावरण र उद्योग क्षेत्रमा भएका सम्भावनाहरूलाई नीतिगत रूपमा सम्बोधन गर्दै अगाडि बढ्ने मेरो योजना छ । नेपाल सरकारको नीति र कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै जनताले महसुस गर्ने गरी काम गर्नेछु ।’
भट्टले आफू कुनै एक पार्टीको मात्र नभई सम्पूर्ण सुदूरपश्चिमवासीको मन्त्री भएको बताएका छन् । एमाले, कांग्रेस, स्वतन्त्र वा अन्य जुनसुकै दलमा आस्था राख्ने भए पनि प्रदेशको हितमा सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण