खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान
सारांश
- खैरहनी नगरपालिकाले बर्खे धानको उन्नत बीउमा किसानलाई ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ।
- अनुदान पाउन इच्छुक किसानले आवश्यक कागजातसहित आगामी वैशाख ७ गतेभित्र कृषि शाखामा निवेदन दिनुपर्नेछ।
- नगरपालिकाले उत्पादकत्व बढाउन र किसानलाई आत्मनिर्भर बनाउन १० लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
चितवन । खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि किसानलाई धानको बीउमा अनुदान दिन लागेको हो ।
नगरपालिकाकी कृषि अधिकृत सृजना श्रेष्ठले अनुदान प्राप्त गर्न इच्छुक किसान तथा कृषि उद्यमीलाई आगामी वैशाख ७ गतेभित्र निवेदन दिन आह्वान गरिएको जानकारी दिए । उनका अनुसार मोटो र मसिनो गरी विभिन्न सात जातका धानको बीउमा अनुदान दिन लागिएको हो । सङ्घीय सरकारको बजेटमार्फत किसानलाई अनुदान दिन लागिएको हो । अनुदानमा उपलब्ध हुने धानका जातहरूमा सुक्खा धान–२, सावित्री, हर्दिनाथ–५, हर्दिनाथ–६, सावा मन्सुली सब–१, रामधान र चैते–५ रहेका छन् ।
नगरपालिकाले प्रतिकठ्ठा दुई किलोका दरले एक जना किसानलाई अधिकतम १०० किलोसम्म बीउ उपलब्ध गराउने नीति लिएको छ । अनुदान लिन चाहने किसानले नागरिकताको प्रतिलिपि र चालु आव २०८२-८३ को एकीकृत सम्पत्ति कर तिरेको रसिदसहित स्वयं कृषि शाखामा उपस्थित भई निवेदन दिनुपर्नेछ । जग्गा भाडामा लिएर खेती गर्ने किसानका हकमा जग्गाबहाल सम्झौता, बहाल कर तिरेको रसिद र जग्गाधनीको नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको कृषि शाखाले जनाएको छ ।
यसअघि नगरपालिकाले चैते धानको बीउमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । यस पालिकामा चैते धान दुई हजार ५१ हेक्टर क्षेत्रफलमा लगाइन्छ भने बर्खे धान तीन हजार ५५८ हेक्टर क्षेत्रफलमा लगाइन्छ । धानको बीउमा अनुदानका लागि रु १० लाख ७५ हजार बजेट रहेको उनले जानकारी दिए। पालिकाले कृषि चुन र मललगायत सामग्रीमा समेत किसानलाई अनुदान दिँदै आएको छ । कृषिमा आत्मनिर्भर बनाउन र उन्नत बीउको प्रयोगमार्फत उत्पादकत्व वृद्धि गर्न यस्ता कार्यक्रम ल्याइएको अधिकृत श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण