सिँचाइमा लगानी बढाउँदै लुम्बिनी सरकार
सारांश
- लुम्बिनी प्रदेशमा सिँचाइ दिवस मनाउँदै मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
- प्रदेशमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको जमिनको क्षेत्रफल २० प्रतिशतबाट बढेर ३५ प्रतिशत पुगेको जानकारी दिइएको छ।
- कार्यक्रममा उत्कृष्ट जल उपभोक्ता समिति र कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
बुटवल । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस मनाइएको छ । प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबिचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले विशेष ध्यान दिने बताए ।
मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरू सुक्दै जानु र जमिन सुक्खा बन्दै जानु गम्भीर चुनौती बनेको उल्लेख गरे । उत्पादनशील जमिन खण्डहर बन्न नदिन समयमै बहस, छलफल र ठोस योजना आवश्यक रहेको उनको भनाइ थियो ।
उनले सिँचाइ सुविधा पुगेका क्षेत्रमा समेत जमिन बाँझो रहने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै किसानलाई उत्पादनमा जोड्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । राज्यको लगानीमा बनेका सिँचाइ आयोजनाबाट अपेक्षित प्रतिफल नआउनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै उनले ती क्षेत्रमा खेती विस्तार गर्नुपर्ने बताए ।
प्रदेश स्थापना हुँदा बाह्रै महिना सिँचाइ सुविधा पुगेको जमिन २० प्रतिशतमात्रै रहेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले अहिले त्यो ३५ प्रतिशत पुगेको जानकारी दिए । यस उपलब्धिलाई अझ वैज्ञानिक र दिगो ढंगले विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले बाह्रै महिना सिँचाइ सुविधा विस्तार गर्ने नीति अनुसार प्रदेश सरकारले काम गरिरहेको बताइन् ।
पूर्व सिँचाइमन्त्री वीरबहादुर रानाले उत्पादनमा आत्मनिर्भर बन्ने आधार तयार भइसकेको उल्लेख गर्दै किसानमुखी कार्यक्रम आवश्यक रहेको बताए ।
प्रदेश योजना आयोगका सदस्य शान्तादेवी ढकालले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सिँचाइ पूर्वाधार सुदृढीकरणमा जोड दिइन् ।
प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिका सचिव भिमलाल चौधरीले कृषि विकासका लागि सिँचाइ विस्तारमा सरकारले अझ ध्यान दिनुपर्ने बताए ।
मन्त्रालयका सचिव चूर्णबहादुर ओलीले हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गरेका थिए । बबई सिँचाइ आयोजना र नौमुरे बहुउद्देश्यीय आयोजनाका प्रतिनिधिहरूले आयोजनाको अवस्था र चुनौतीबारे धारणा राखेका थिए ।
कार्यक्रममा देउखुरीस्थित प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिलाई उत्कृष्ट जल उपभोक्ता समितिका रूपमा सम्मान गरिएको छ ।
त्यसैगरी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बर्दियाका प्राविधिक अधिकृत हरिप्रसाद अवस्थी र गुल्मीका कार्यालय सहयोगी पोमनारायण सुवेदीलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण