समय रैनाको कमब्याक : शक्तिमानदेखि रणवीरसम्मलाई कडा जवाफ, लेटेन्ट सिजन २ को घोषणा
सारांश
- कमेडियन समय रैनाले आफ्नो नयाँ युट्युब स्पेसल 'समय रैना- स्टिल अलाइभ' मार्फत डिजिटल प्लेटफर्ममा पुनरागमन गरेका छन्।
- उनले मुकेश खन्ना, बी प्राक र रणवीर अल्लाहबादियालगायतका सेलिब्रेटीहरूको आलोचना गर्दै कडा व्यङ्ग्य प्रहार गरेका छन्।
- समयले 'इन्डियाज गट लेटेन्ट' को दोस्रो सिजन सन् २०२५ मा सार्वजनिक हुने घोषणा गरेका छन्।
मुम्बई । विवादास्पद स्ट्यान्डअप कमेडियन समय रैनाले आफ्नो नयाँ युट्युब स्पेसल ‘समय रैना- स्टिल अलाइभ’ मार्फत डिजिटल प्लेटफर्ममा शक्तिशाली पुनरागमन गरेका छन्। गत वर्ष ‘इन्डियाज गट लेटेन्ट’ शोलाई लिएर भएको विवाद र कानूनी झमेलापछि यो उनको पहिलो ठुलो भिडियो हो।
मंगलबार सार्वजनिक भएको करिब १ घण्टा २१ मिनेट लामो यस भिडियोमा समयले आफ्नो कठिन समयमा आलोचना गर्ने सेलिब्रेटीहरूलाई कडा व्यङ्ग्य प्रहार गर्नुका साथै छिट्टै शोको दोस्रो सिजन ल्याउने घोषणा गरेका छन्। समयले आफ्नो स्पेसलमा विशेषगरी अभिनेता मुकेश खन्ना (शक्तिमान) र गायक बी प्राकलाई निशाना बनाएका छन्।
विवादको समयमा मुकेश खन्नाले समयको कन्टेन्टले बालबालिकामा नराम्रो असर पार्ने टिप्पणी गरेका थिए। यसको जवाफमा समयले भनेका छन्, ‘शक्तिमान आउँदा हरेक महिना कुनै न कुनै बच्चाले शक्तिमान सम्झेर छतबाट हाम फालेको खबर आउँथ्यो। तपाईंले त बच्चा मार्नुभएको छ, तपाईं के बोल्दै हुनुहुन्छ?’ त्यसैगरी, उनले गायक बी प्राकलाई कुनै प्रसङ्गबिना नै विवादमा हाम फालेको भन्दै आलोचना गरे।
कमेडियन सुनील पाल र कपिल शर्माको प्रसङ्ग उप्काउँदै समयले रमाइलो खुलासा गरे। सुनील पालले समयलाई कपिल शर्माबाट सिक्न सल्लाह दिइरहँदा, कपिल आफैँले भने समयलाई सन्देश पठाएर उनको शोको तारिफ गर्ने र आफू ठुलो फ्यान भएको बताउने गरेको समयको दाबी छ।
समयले आफूलाई सफा छवि बनाउनु बनावटी लाग्ने र आफ्नो डार्क कमेडीको शैली कहिल्यै नछोड्ने स्पष्ट पारेका छन्।
यस्तै, समयले चर्चित युट्युबर रणवीर अल्लाहबादियाका कारण भएको एफआईआरबारे पनि मुख खोलेका छन्। रणवीरको क्लिन इमेज माथि व्यङ्ग्य गर्दै उनले विवादास्पद एपिसोडमा रणवीरले एक प्रतिस्पर्धीको आमाबाबुबारे अभद्र प्रश्न आठ पटक सोधेको बताए।

समयले ठट्टा गर्दै भने, ‘मैले सम्पादन गर्दा आठमध्ये सातवटा प्रश्न हटाएर ९९ प्रतिशत कीटाणु मारिसकेको थिएँ, तर बाँकी रहेको एक प्रतिशतले नै ठूलो विवाद निम्त्यायो।’ उनले रणवीरलाई व्यङ्ग्य गर्दै ‘द मंक हु सोल्ड माई फेरारी’ को संज्ञा दिएका छन्।
भिडियोको अन्त्यमा समयले आफ्ना प्रशंसकहरूलाई खुसीको खबर दिएका छन्। सन् २०२५ मा डार्क कमेडी र अश्लील ठट्टाका कारण विवादमा तानिएको र कानुनी दबाबका कारण भिडियो हटाउनुपरेको ‘इन्डियाज गट लेटेन्ट’ को दोस्रो सिजन छिट्टै आउने उनले बताए।
‘सीजन १ योभन्दा राम्रो मोडमा अन्त्य हुन सक्दैनथ्यो, तर मलाई यो काम गर्न मजा आउँछ, त्यसैले सिजन २ पक्कै आउनेछ र यो अझ बढी रमाइलो हुनेछ,’ समयले घोषणा गरे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण