२४ घण्टामै लाइसेन्स, ब्याकलग असारभित्र शून्यमा झार्न कति सम्भव ?
सारांश
- सरकारले सवारी चालक अनुमति पत्र राजस्व तिरेको २४ घण्टाभित्रै उपलब्ध गराउने तयारी गरिरहेको छ।
- यातायात व्यवस्था विभागले असार मसान्तसम्ममा २९ लाख स्मार्ट लाइसेन्सको ब्याकलग शून्यमा झार्ने लक्ष्य राखेको छ।
- सुरक्षण मुद्रण केन्द्रले हाल दैनिक ४० हजार कार्ड छपाइ गरिरहेको र साउन १ देखि अस्थायी रसिद बोक्नुपर्ने बाध्यता अन्त्य गर्ने जनाएको छ।
काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) २४ घण्टाभित्र छापेर वितरण गर्ने तयारी गरिरहेको छ । यातायात व्यवस्था विभाग सेवाग्राहीलाई लाइसेन्सका लागि वषौँ कुर्नुपर्ने झन्झटबाट मुक्त गराउने कसरतमा लागेको छ ।
अबको केही दिनभित्रै राजस्व तिरेकै दिन लाइसेन्स दिने विभागका निर्देशक केशव खतिवडाले रातोपाटीलाई बताए । उनका अनुसार राजस्व तिरेको २४ घण्टाभित्रै स्मार्ट कार्ड तयार हुनेगरी सफ्टवेयर प्रणालीलाई परिमार्जन गरिएको छ ।
‘हाम्रो प्राविधिक टोलीले बितेका केही दिनदेखि सुत्नै नपाई यो सिस्टम बनाउन काम गरिरहेको छ,’ खतिवडाले भने, ‘राजस्व तिरेको २४ घण्टाभित्र हामी डाटा मुद्रण केन्द्रमा पठाउँछौँ र केन्द्रले सोही रात वा भोलिपल्ट बिहानै कार्ड छापेर उपलब्ध गराउनेछ ।’
यद्यपि, ट्रायल पास गर्नेबित्तिकै नभई राजस्व बुझाएपछि मात्र यो प्रक्रिया सुरु हुनेछ । राजस्व बुझाउन १८ महिना ढिला गरे लाइसेन्स स्वतः खारेज हुने कानुनी प्रावधानबारे पनि उनले सचेत गराएका छन् ।
सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापेर वितरणगर्ने घोषणा गरेका थिए । यस्तै सरकारले सार्वजनिक गरेको एक सय कार्यसूचीमा समेत सवारी लाइसेन्समा लामो समय कुर्नुपर्ने झन्झट अन्त्य गर्ने घोषणा गरेको छ । साथै कुरिअरमार्फत सेवाग्राहीकहाँ लाइसेन्स पुर्याउनेसमेत उल्लेख छ ।
यो व्यवस्था कार्यान्वयनमा आए नयाँ आवेदकले लामो समय कुर्नुपर्ने झन्झट अन्त्य हुने सरकारको दाबी छ ।
तर कार्यान्वयनमा शंका
तर यो कार्यान्वयन हुनेमा शंका छ । हाल कुल २९ लाख लाइसेन्स छाप्न बाँकी छन्, जसका कारण सेवाग्राही वर्षौँदेखि रसिदकै भरमा सवारी चलाइरहेका छन् ।स्मार्ट लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रलाई जिम्मा दिँदा पनि अझै ढिलासुस्ती देखिएको छ । ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने गरी यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच भएको सम्झौताको म्याद सकिन अब १५ दिन मात्र बाँकी छ । तर, सम्झौताको ‘डेटलाइन’ २०८३ वैशाख १२ गते नजिकिँदै गर्दा केन्द्रले हालसम्म जम्मा ३ लाख थान मात्र छापेर विभागलाई हस्तान्तरण गरेको छ ।

गत भदौमा भएको आन्दोलनका क्रममा विभागको कार्यालयमा आगजनी भई मेसिन र सर्भर क्षतिग्रस्त भएपछि छपाइको जिम्मेवारी सुरक्षण मुद्रण केन्द्रलाई दिइएको थियो । कात्तिक १२ गते भएको सम्झौता अनुसार केन्द्रले वैशाखसम्म १२ लाख कार्ड छपाइ गरिसक्नुपर्ने लक्ष्य राखेको थियो । साथै तत्कालीन सञ्चारमन्त्री जगदीश खरेलले सम्झौता म्यादभन्दा अघि नै छापिसक्ने दाबी गरेका थिए । तर, हालसम्म लक्ष्यको २५ प्रतिशत मात्र काम भएको छ ।
किन भयो छपाइमा ढिला ?
६ महिनामा १२ लाख लाइसेन्स छपाइ गर्ने भनिए पनि प्राविधिक कारण ढिला भएको विभागले जनाएको छ । पछिल्लो समय छपाइका लागि कामको चाप बढे पनि विभागले पुरानो र कमजोर सर्भरका कारण केही समस्या भोग्नुपरेको बताउँदै आएको छ ।
विभागको मुख्य सर्भरमा क्षति पुगेको र हाल ‘जोडजाड’ गरेर काम चलाइरहेको निर्देशक खतिवडाले बताए । नयाँ सर्भर खरिदका लागि अर्थ मन्त्रालयसँग १० करोड रुपैयाँभन्दा बढीको बजेट माग गरिएको छ । टेन्डर प्रक्रियामार्फत नयाँ सर्भर आएपछि सेवा अझै प्रभावकारी हुने निर्देशक खतिवडाको दाबी छ ।
यातायात व्यवस्था विभागले वर्षौँदेखि थुप्रिएको छपाइको ‘ब्याकलग’ आगामी असार मसान्तभित्रै शून्यमा झार्ने र नयाँ राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने गरी काम अगाडि बढाएको छ ।
विभागमा आगजनीबाट क्षति पुगेको प्रिन्टर ६ वर्ष पुरानो भएको र मर्मत गर्न मात्रै २ करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ । ठुलो रकम खर्चेर पुराना मेसिन मर्मत गर्नुभन्दा सुरक्षण मुद्रण केन्द्रकै उच्च क्षमताका मेसिन प्रयोग गर्नु उचित देखिएको उनको भनाइ छ ।
यसअघि प्रदेशहरूले छाप्ने भनेर मेसिन खरिद गरे पनि लाइसेन्स छाप्न नपाउनुको पछाडि कानुनी अड्चन रहेको खतिवडाले प्रस्ट पारे । ‘सुरक्षण मुद्रण ऐनले सरकारी कागजातहरू मुद्रण केन्द्रले मात्र छाप्ने अधिकार दिएको छ,’ उनले भने, ‘जबसम्म ऐन संशोधन भएर प्रदेशलाई अधिकार दिइँदैन, तबसम्म प्रदेशले आफ्नै मेसिन भए पनि लाइसेन्सछाप्न पाउँदैनन् ।’
ब्याकलग असारभित्र सकाउने दाबी
यातायात व्यवस्था विभागले वर्षौँदेखि थुप्रिएको छपाइको ‘ब्याकलग’ आगामी असार मसान्तभित्रै शून्यमा झार्ने र नयाँ राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने गरी काम अगाडि बढाएको छ ।
हाल विभागले २९ लाख प्रति लाइसेन्स छाप्नुपर्ने दायित्व बोकेको छ । जसमध्ये करिब ३ लाख प्रति लाइसेन्स छापिएर सम्बन्धित यातायात कार्यालयहरूमा ‘डिस्प्याच’ भइसकेका छन् ।
निर्देशक खतिवडा भन्छन्, ‘हामीले सुरक्षण मुद्रण केन्द्रलाई ८ लाख डाटा उपलब्ध गराइसकेका छौँ । अहिले केन्द्रले दैनिक ४० हजारका दरले लाइसेन्स छपाइ गरिरहेको छ । यही गतिमा काम भएमा आगामी असार मसान्तभित्र सबै २९ लाख लाइसेन्सको छपाइ कार्य सम्पन्न हुनेछ ।’
यस्तै निर्देशक खतिवडाका अनुसार २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार लाइसेन्सको नवीकरण अवधि १० वर्षको हुने उल्लेख छ । उक्त मितिदेखि नयाँ जारी हुने वा नवीकरण हुने लाइसेन्सको अवधि १० वर्षको हुनेछ ।
यसैगरी विभागले अहिले छाप्नुपर्ने लाइसेन्सको प्राथमिकता निर्धारण गरेको छ । ६ महिना वा एक वर्षभन्दा कम म्याद बाँकी रहेका पुराना लाइसेन्स अहिले नछाप्ने विभागको रणनीति छ । त्यस्ता सेवाग्राहीले नवीकरण गर्दा सीधै १० वर्षे अवधिको नयाँ लाइसेन्स पाउने व्यवस्था मिलाउने उनको भनाइ छ ।
साउन १ देखि ‘चिट’ युग अन्त्य हुने दाबी, दैनिक ४० हजार छाप्दै
सुरक्षण मुद्रण केन्द्रले आगामी साउन १ गतेदेखि सवारी चालकले अस्थायी ‘रसिद’ वा ‘चिट’ बोकेर हिँड्नुपर्ने बाध्यता सदाका लागि अन्त्य गर्ने जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले असार मसान्तभित्र हालसम्मका सबै पुराना ‘ब्याकलग’ लायसेन्स छापिसक्ने लक्ष्य रहेको बताए । उनले साउन १ गतेदेखि कुनै पनि सेवाग्राहीले कागजको टुक्रा बोकेर हिँड्न नपर्ने वातावरण निर्माण भइरहेको जानकारी दिए ।
नेपालमा स्मार्ट लाइसेन्सको वितरण प्रभावकारी नहुँदा वर्षौँदेखि चालकहरूले राजस्व तिरेको कागज देखाएर सवारी चलाउनुपर्ने अवस्था छ । पानीले भिज्ने र अक्षर मेटिने समस्याले गर्दा सेवाग्राही हैरान छन् । अ
विगतमा कार्ड छपाइमा देखिएको सुस्ततालाई चिर्दै केन्द्रले अहिले आफ्नो पूर्ण क्षमतामा काम गरिरहेको छ । कार्यकारी निर्देशक ढुंगानाका अनुसार केन्द्रको हालको कार्ड छपाइ क्षमता दैनिक ४० हजार प्रति रहेको छ । केही दिनमा दैनिक ६० हजार कार्ड छापिने क्षमताको विकास गरिने तयारी भइरहेको बताए । उनले भने, ‘अहिलेको हाम्रो क्षमता दैनिक ४० हजार हो, विस्तारै यसलाई बढाउने तयारी भइरहेको छ ।’
केन्द्रले हालसम्म ३ लाख थान लाइसेन्सछापिसकेको छ । तीमध्ये २ लाख कार्ड यातायात व्यवस्था विभागमा पठाइसकिएको र थप १ लाख पठाउने तयारी भएको उनले जानकारी दिए । हाल झण्डै २९ लाख कार्ड छाप्नुपर्ने दायित्व रहेकोमा ३ लाख सकिएको र बाँकी २६ लाख कार्ड असार मसान्तभित्रै सक्ने गरी काम भइरहेको उनले बताए ।
सरकारले घोषणा गरेको २४ घण्टाभित्र लाइसेन्स दिने निर्णयलाई केन्द्रले तीन चरणमा कार्यान्वयन गरिरहेको छ । पहिलो चरणमा पुराना बाँकी रहेका कार्ड, दोस्रोमा वैदेशिक रोजगारीमा जानेहरूका लागि अत्यावश्यक कार्ड र तेस्रोमा दैनिक रूपमा राजस्व बुझाएर आउने नयाँ सेवाग्राहीका लायसेन्स छापिनेछन् ।
कार्यकारी निर्देशक ढुंगानाले विभागले बेलुका ६ बजेसम्म पठाएको डाटाका आधारमा २४ घण्टाभित्रै कार्ड प्रिन्ट गरी विभागलाई डेलिभर गर्ने संयन्त्र मिलाइएको बताए । विभागबाट डाटा प्राप्त हुनासाथ केन्द्रले आफ्नो काम सुरु गर्ने उनले जानकारी दिए ।
नेपालमा स्मार्ट लाइसेन्सको वितरण प्रभावकारी नहुँदा वर्षौँदेखि चालकहरूले राजस्व तिरेको कागज देखाएर सवारी चलाउनुपर्ने अवस्था छ । पानीले भिज्ने र अक्षर मेटिने समस्याले गर्दा सेवाग्राही हैरान छन् । असार मसान्तसम्म सबै बाँकी लाइसेन्स छापिएपछि साउनदेखि नयाँ ट्रायल पास गर्नेहरूले पनि तत्कालै कार्ड पाउने सुनिश्चितता हुने ढुंगानाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण