बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘धुरन्धर २’ ले तोड्यो बाहुबली २ को रेकर्ड, अब निशानामा ‘पुष्पा २’

बिहीबार, २६ चैत २०८२, ०७ : १४
बिहीबार, २६ चैत २०८२

सारांश

  • बलिउड चलचित्र 'धुरन्धर २' ले भारतमा १,०३३.३७ करोड भारु कमाउँदै 'बाहुबली २' को रेकर्ड तोडेको छ।
  • यो चलचित्रले भारतको सबैभन्दा ठूलो बक्स अफिस कीर्तिमान बनाउन अब 'पुष्पा २' को रेकर्डलाई पछ्याइरहेको छ।
  • विश्वभर १,६४१.२१ करोड कमाइ गरिसकेको यो चलचित्रले भारतमा सबैभन्दा छिटो १,००० करोड कमाउने रेकर्ड समेत बनाएको छ।

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो चलचित्र ‘धुरन्धर २’ ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ। प्रदर्शनको २० दिनभित्रै चलचित्रले भारतमा मात्र १,०३३.३७ करोड भारुको नेट कलेक्सन गर्दै ऐतिहासिक सफलता हात पारेको हो।

यो कमाइसँगै ‘धुरन्धर २’ ले एसएस राजामौलीको सदाबहार ब्लकबस्टर ‘बाहुबली २’ को घरेलु कलेक्सन (१,०३०.४२ करोड) लाई समेत उछिनेको छ। अब यस चलचित्रको अगाडि अल्लु अर्जुनको ‘पुष्पा २’ को मात्र रेकर्ड बाँकी छ।

भारतमा सबैभन्दा बढी कमाउने चलचित्रको कीर्तिमान रच्न ‘धुरन्धर २’ अझै २००.६३ करोड रुपैयाँले पछि छ। ‘पुष्पा २’ को भारतमा कुल नेट कलेक्सन १,२३४.१० करोड रहेको छ। विश्वव्यापी व्यापारको कुरा गर्दा रणवीरको यो चलचित्रले अहिलेसम्म १,६४१.२१ करोड ग्रस कलेक्सन गरिसकेको छ, जसमा वैदेशिक बजारको योगदान ४०४ करोड रुपैयाँ छ।

बक्स अफिस विश्लेषणका अनुसार यो चलचित्र हिन्दी भाषी क्षेत्रमा निकै बलियो देखिएको छ। हिन्दी बजारबाट मात्र यसले ९६०.५४ करोड कमाएको छ, जुन ‘पुष्पा २’ को हिन्दी संस्करणको बराबर जस्तै हो।

यद्यपि, दक्षिण भारतीय राज्यहरूमा भने यो चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन। दक्षिण भारतमा ‘पुष्पा २’ ले ५११.७० करोड कमाएको थियो, जसको तुलनामा ‘धुरन्धर २’ पछि परेकाले यो कमी पुरा गर्न हिन्दी मार्केटमै भर पर्नुपर्ने देखिएको छ।

तेस्रो हप्तामा प्रवेश गर्दा पनि चलचित्रको कमाइमा मन्दी आएको छैन। २०औँ दिन मंगलबार मात्र यसले १०.१० करोडको व्यापार गरेको छ। गत मार्च १९ मा प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिनमै १०२.५५ करोडको ओपनिङ गरेको थियो।

विशेष कुरा त के छ भने, यसले पहिलो भागको लाइफटाइम कलेक्सनलाई मात्र १० दिनमा पार गरेर विश्वकै सबैभन्दा तीव्र गतिमा १००० करोड कमाउने भारतीय चलचित्रको कीर्तिमान बनाएको छ।

‘धुरन्धर २’ ले भारतमा १०० करोडदेखि १००० करोडसम्मका सबै कोशेढुंगाहरू सबैभन्दा छोटो समयमा पार गरेको छ। साथै, उत्तर अमेरिकामा २५ मिलियन डलर र जर्मनीमा १ मिलियन युरो कमाउने पहिलो भारतीय चलचित्र बनेर यसले विश्व बजारमा नयाँ मानक स्थापित गरेको छ। अहिलेको रफ्तारलाई हेर्दा केही दिनमै यसले ‘पुष्पा २’ लाई उछिनेर भारतको सबैभन्दा ठुलो ब्लकबस्टरको उपाधि हात पार्ने देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप