मौलापुरलाई विकासको मोडेल बनाउन सफल मेयर रिना साहलाई नगरबासीद्धारा सम्मान
सारांश
- मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई महिला सशक्तीकरण र सुशासनमा पुर्याएको योगदानका लागि नगरवासीले भव्य स्वागत एवं सम्मान गरेका छन्।
- मेयर साहको नेतृत्वमा मौलापुरलाई धुवाँमुक्त र पूर्ण करमुक्त नगरपालिका बनाउनुका साथै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गरिएको छ।
- छोरीहरूको शिक्षा, निःशुल्क प्राविधिक शिक्षा, सुरक्षित सुत्केरी सेवा र विपन्न वर्गका लागि आवास निर्माण जस्ता कार्यले नगरको मुहार फेरिएको छ।
रौतहट। रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई आज नगरवासीले भव्य स्वागत एवं सम्मान गरेका छन् । महिला सशक्तीकरण एवं सुशासनको क्षेत्रमा प्रेरणादायी कार्य गरी मौलापुरको गौरव बढाएको भन्दै मेयर साहलाई स्वागत गरिएको हो ।
मौलापुर नगरपालिकाका मेयर साहलाई नेपालको ‘५० प्रभावशाली महिला २०८२’ को पहिलो नम्बरमा राख्दै अनलाइनखबर मिडियाले हालै सम्मान गरेको थियो । सो सम्मान ग्रहण पश्चात मौलापुर पुगेकी मेयर साहलाई स्थानीयले स्वागत गरेका हुन् ।
यस्तै, हिजो वीरगन्जमा समेत मेयर साहलाई स्वागत गरिएको थियो । वीरगन्जको ओम पार्टी प्यालेसमा आयोजित विशेष समारोह मार्फत अगुवा व्यक्तित्वहरूले मेयर साहलाई महिला सशक्तीकरण एवं सुशासनको क्षेत्रमा प्रेरणादायी कार्य गरी मधेसको गौरव बढाएकोमा खुसी व्यक्त गरेका थिए ।
मौलापुरलाई धुवाँमुक्त र पूर्ण करमुक्त बनाउँदै मेयर साहले विकासको लोभलाग्दो उदाहरण पेस गरेकी छन् । भ्रूणहत्या रोकथामदेखि छात्राहरूलाई साइकल र निःशुल्क एम्बुलेन्स सेवासम्मका उनका कामले आज मौलापुरको मुहार फेरिएको छ ।
मेयर साहले ल्याएको नीति–नियम र योजनाले महिला सशक्तीकरणदेखि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कर लगायत क्षेत्रमा मौलापुर नगरपालिका उदाहरणीय बनेको छ । २०७४ सालमा पहिलो पटक मेयर निर्वाचित भएपछि उनले आर्थिक वर्ष २०७४/७५ मै ऐतिहासिक योजना ‘नगरपालिका धुवाँमुक्त अभियान’ अघि सारिन् । यस योजनाअन्तर्गत नगरभित्रका प्रत्येक परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरियो । परिणामस्वरूप मौलापुर धुवाँमुक्त नगरपालिका बन्न सफल भयो ।
मधेसमा जरा गाडेर बसेको छोरी भ्रूणहत्या रोकथाम र महिला सशक्तीकरण रिनाकुमारीको मुख्य प्राथमिकता बनेको छ । शिक्षामा मनोबल बलियो बनाउन २०७४ देखि पालिका भित्र कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने सबै सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको छ ।
नियमित रूपमा स्यानिटरी प्याड वितरण हुँदै आएको छ । प्राविधिक शिक्षामा छोरीहरूको पहुँच बढाउन पालिकामै सञ्चालित प्राविधिक कलेजमा छात्राका लागि अमिन र सिभिल इन्जिनियरिङ अध्ययन पूर्णतः निःशुल्क छ ।
त्यति मात्र होइन, विवाहमा छोरीलाई आशीर्वाद स्वरूप ३० हजार रुपैयाँ प्रदान गरिन्छ । २०७४ सालदेखि प्रत्येक छोरीको विवाहमा पालिकाले ३० हजार रुपैयाँ ‘आशीर्वाद स्वरूप’ प्रदान गर्दै आएको छ । हरेक विवाह समारोहमा स्वयं मेयर साह उपस्थित भई आशीर्वाद सहित ३० हजार रुपैयाँको चेक हस्तान्तरण गर्ने परम्पराले महत्त्वपूर्ण सामाजिक सन्देश दिएको छ ।
‘छोरीहरूको सशक्तीकरणका लागि शिक्षा र भ्रूणहत्या अन्त्य गर्ने योजनामा विशेष जोड दिएका छौँ । कक्षा ८ देखि १२ सम्मका छोरीलाई साइकल वितरण गरिरहेका छौँ’ मेयर रिनाकुमारी थप्छिन्, ‘छोरीको बिहेमा ३० हजार रकम सहित आशीर्वाद दिन म स्वयं पुग्छु । प्राविधिक शिक्षा पनि छोरीलाई निःशुल्क छ ।’
उनको नेतृत्वमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सडक संरचनाको विकासमा पनि उल्लेखनीय प्रगति भएको छ । उनी निर्वाचित हुँदा मौलापुर नगरपालिकाका १३ सामुदायिक विद्यालयमध्ये पथरा, बुधराम र सोननियामा मात्रै माध्यमिक तहको पढाइ हुन्थ्यो । अहिले त्यो संख्या बढेर ६ पुगेको छ । मेयर रिनाकुमारीको नेतृत्वमा चार वटा विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गरिएको छ ।
विद्यालयहरूको भौतिक संरचना व्यापक रूपमा विस्तार भएको छ । पहिले भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य विद्यार्थीले आज कक्षाकोठाका डेस्क–बेन्चमा अध्ययन गर्न पाएका छन् । १३ वटा सामुदायिक विद्यालयमा १५० वटा कक्षाकोठा निर्माण गरेका छन् । पर्याप्त डेस्कबेन्च र फर्निचर तथा आईटी मैत्री पूर्वाधार सहितको संरचना पनि व्यवस्थित गरिएको छ ।
शिक्षामा भौतिक पूर्वाधार मात्र होइन, गुणस्तरीय शिक्षालाई पनि प्राथमिकता दिँदै पालिका अघि बढेको छ । ६ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि अंग्रेजी माध्यमको पढाइ लागू गरिएको छ । सामुदायिक शिक्षाको स्तरमा गुणात्मक रूपान्तरण वृद्धि भएको छ ।
‘म निर्वाचित भएर आउँदा शिक्षाको अवस्था दयनीय थियो । आज ६ वटा सामुदायिक विद्यालय छन् । सबैमा भौतिक पूर्वाधार पर्याप्त छ । कक्षा १ देखि अंग्रेजी माध्यममा पढाइ सुरु गर्दै गुणात्मक शिक्षाको दिशामा अघि बढेको छ’, मेयर रिनाकुमारीले भनिन् ।
सडक पूर्वाधारदेखि स्वास्थ्य, आवास र सामाजिक सेवासम्म मौलापुर नगरपालिकाले व्यापक परिवर्तनको यात्रा तय गरिसकेको छ । पालिकाभित्रका करिब सबै सडक कालोपत्रे र पीसीसी ढलान भइसकेका छन् । कृषिमा विद्युतीकरण, कृषि सडक निर्माण र चार बिघा क्षेत्रफलमा बोरिङ जडान जस्ता योजनाले किसानको जीवन सहज बनेको छ ।
मौलापुरले स्वास्थ्य सेवामा पनि उल्लेख्य फड्को मारेको छ । वडा नम्बर ३, ४ र ५ को केन्द्र भागमा आधुनिक बर्थिङ सेन्टर निर्माण गरिएको छ । यहाँ एमबीबीएस डाक्टरको नियमित सेवा उपलब्ध छ । यही कारण दैनिक २–३ जना महिला छेउछाउका पालिकाबाट समेत प्रसूति सेवाका आउने गरेका छन् । सुत्केरी महिलाका लागि पालिका भित्र एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ । यसले ग्रामीण स्वास्थ्य सेवामा ठुलो राहत दिएको छ ।
‘स्वास्थ्य सेवामा सक्ने काम गरेको छु । बर्थिङ सेन्टर सञ्चालन, पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा छ’, उनी भन्छिन् ।
पछाडि पारिएका समुदाय, दलित, विपन्न र सुकुम्बासीलाई लक्षित गर्दै आवास र दिगो व्यवस्थापनका काममा पनि मौलापुर नगरपालिका अगाडि देखिएको छ । वडा नम्बर २ को मिर्जापुरमा जग्गा खरिद गरी २५ जना सुकुम्बासीका लागि घर निर्माण गरी व्यवस्थापन गरिसकिएको छ । यसै वर्ष थप १८ वटा घर निर्माणका लागि जग्गा खरिद गरिएको छ ।
त्यस्तै, वडा नम्बर ८ र ९ मा दुई बिघा जग्गा खरिद गरी साढे ६ करोडको लागतमा ५० वटा आवास भवन निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना अघि बढाइएको मेयर रिनाकुमारीले बताइन् । ती भवनमा आवाससँगै शौचालय, खानेपानी लगायतका सबै आधारभूत सुविधा रहने छन् ।
‘विपन्न सुकुम्बासीको अवस्था ठिक थिएन । योजना बनाएर सबैलाई आवाससहित व्यवस्थित गर्ने दिशामा पनि हामी लम्किरहेका छौँ’, उनी भन्छिन् ।
त्यति मात्र होइन, मौलापुर नगरपालिकालाई पूर्ण रूपमा करमुक्त घोषणा गरिएको छ । मालपोत, घर निर्माण, पञ्जीकरण, सिफारिस लगायत कुनै पनि सेवामा कर लिइँदैन । आफ्नै घर निर्माणका लागि खोलाबाट बालुवा लिन छुट दिइएको छ भने खानेपानी र न्यूनतम बिजुली शुल्क समेत पालिकाले बेहोर्दै आएको छ ।
‘धेरै पालिकामा करले जनता हैरान छन् । तर हामीले पूर्ण करमुक्त पालिका बनाएका छौँ । जनताले कुनै कर तिर्नुपर्दैन’, उनी भन्छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण