स्वास्थ्यकर्मीलाई जिन्सी र वडा सचिवको जिम्मा, सुत्केरी गराउन एउटै अनमीको भर
सारांश
- सिरहाको नरहा गाउँपालिकास्थित प्रसूति गृहमा जनशक्तिको अभावले गर्दा एकजना अनमीको भरमा सेवा सञ्चालन भइरहेको छ।
- गाउँपालिकाले दक्ष स्वास्थ्यकर्मीहरूलाई जिन्सी शाखा र वडा सचिव जस्ता गैरप्राविधिक काममा खटाएको छ।
- जनशक्तिको अभाव र कर्मचारी व्यवस्थापनको कमजोरीले गर्दा प्रसूति गृहमा सेवा लिनेहरूको संख्या घट्दै गएको छ।
सिरहा । सिरहाको नरहा गाउँपालिकास्थित एकमात्र प्रसूति गृह (वर्थिङ सेन्टर) जनशक्ति अभावका कारण धराशायी बनेको छ। वडा नम्बर ४ वर्छवामा रहेको यो संवेदनशील संस्था अहिले केवल एकजना अनमीको भरमा सञ्चालन भइरहेको छ।
नियमतः आधारभूत प्रसूति सेवाका लागि कम्तीमा दुईजना स्टाफ नर्स, एकजना स्वास्थ्य सहायक (एचए) र कार्यालय सहयोगी गरी ४ जना कर्मचारी आवश्यक पर्छ। तर, यहाँ छैटौँ तहकी सिनियर अनमी टीकादेवी ढुङ्गेलले एक्लैले सबै जिम्मेवारी धान्नुपर्ने बाध्यता छ।
पर्याप्त जनशक्ति नहुँदा रात्रिकालीन सेवामा गम्भीर समस्या देखिएको छ। धेरैजसो प्रसूति सेवा रातको समयमा चाहिने भए पनि एउटै कर्मचारीले २४ सै घण्टा सेवा दिनुपर्ने स्थिति अव्यवहारिक र जोखिमपूर्ण बनेको छ।
दक्ष जनशक्ति नभएकै कारण भव्य पूर्वाधार भए पनि सेवाग्राहीको आकर्षण घटेको छ। चालु आर्थिक वर्षको १० महिनामा यहाँ जम्मा १९ जनाले मात्र प्रसूति सेवा लिएका छन्।
तीमध्ये अधिकांश अन्यत्र जान नसक्ने आर्थिक रूपमा विपन्न मुसहर समुदायका महिला छन्। वर्छवा स्वास्थ्य चौकीका प्रमुख महेश कुमार रजकका अनुसार दिउँसो अन्य कर्मचारी हुने भए पनि राति एक्लै सुत्केरी गराउन असम्भव जस्तै छ। अनमी ढुङ्गेल बिदामा बसेका बेला त संस्था नै ठप्प हुने अवस्था छ।
अचम्मको कुरा त के छ भने, गाउँपालिकाले स्वास्थ्यकर्मीको अभाव देखाए पनि भएका दक्ष जनशक्तिलाई भने अन्यत्रै गैरप्राविधिक काममा खटाएको छ। स्वास्थ्य सेवाका कर्मचारी सिअहेव अरुण कुमार सिंहलाई जिन्सी शाखा प्रमुख बनाइएको छ भने अर्का स्वास्थ्यकर्मी बैजनाथ साहलाई वडा नम्बर ५ को वडा सचिवको जिम्मेवारी सुम्पिएको छ। यति मात्र होइन, पहुँचका भरमा अन्य तीनजना स्वास्थ्यकर्मीलाई कुनै जिम्मेवारी नै नदिई स्वास्थ्य शाखामा थुपारेर राखिएको कर्मचारी स्रोतको दाबी छ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत आदित्य कुमार कर्णले भने स्वास्थ्यकर्मीको अभावले समस्या भएको स्वीकार गर्दै चाँडै जनशक्ति पठाउने पुरानै आश्वासन दिएका छन्। पहुँचवाला कर्मचारीलाई सुगम र गैरप्राविधिक शाखामा थन्क्याएर प्रसूति गृह जस्तो संवेदनशील ठाउँ खाली राख्नुले पालिकाको स्वास्थ्य सेवाप्रतिको गैरजिम्मेवारीपन प्रष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण