महिला सशक्तीकरणमा काम गरेकी गौरीकुमारीलाई उद्योग मन्त्रालयको जिम्मा
सारांश
- महोत्तरीकी गौरीकुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएकी छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित यादवले महिला सशक्तीकरण र सुशासनका क्षेत्रमा काम गर्दै आएकी छन्।
- उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेकी यादवसामु रुग्ण उद्योगको पुनरुत्थान र बजार नियन्त्रण गर्ने प्रमुख चुनौती रहेको छ।
काठमाडौँ । मधेस प्रदेशको महोत्तरीकी गौरीकुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएकी छन् । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गर्दा यादवले उक्त जिम्मेवारी पाएकी हुन् । सरकार गठन हुँदा उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए । ५४ वर्षीया गौरीकुमारी यादव गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद हुन् ।
यादवको जन्म र हुर्काइ महोत्तरी जिल्लाको साम्सी गाउँपालिका, संग्रामपुरमा भएको हो । उनी रामएकवाल राय यादवकी छोरी र शिवजी यादवकी श्रीमती हुन् । महोत्तरीको स्थानीय माटो, त्यहाँको सामाजिक संरचना र जनजीवनसँग उनी गहिरोसँग परिचित छिन् । तराई-मधेसको ग्रामीण परिवेशमा हुर्किएकी यादवले स्थानीयस्तरका समस्यालाई नजिकबाट नियालेकी छन् ।
यादवले विज्ञान संकायमा प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी छन् । उनले शिक्षा र सामाजिक चेतनालाई नै आफ्नो सार्वजनिक जीवनको मुख्य आधार बनाएकी छन् । राजनीतिमा आउनुअघि र राजनीतिक यात्राका क्रममा पनि उनले महिला सशक्तीकरण, सुशासन र सामाजिक सुधारका एजेन्डाहरूलाई प्राथमिकतामा राख्दै आएकी थिइन् । उनी विशेषगरी शिक्षित महिला नेतृत्वको आवश्यकता र समाजमा व्याप्त विसंगतिहरूविरुद्ध आवाज उठाउँदै संसदीय राजनीतिमा आएकी थिइन् ।
गौरीकुमारीको राजनीतिक यात्रा परम्परागत दलहरूभन्दा फरक ‘वैकल्पिक राजनीति’बाट सुरू भयो । पारदर्शिता, सुशासन र डेलिभरीको नारासहित नेपाली राजनीतिमा उदाएको रास्वपामा आबद्ध भएर उनले आफ्नो राजनीतिक भविष्य रोजिन् ।
मधेस प्रदेशमा जहाँ जातीय र क्षेत्रीय राजनीतिको प्रभाव बढी देखिन्छ । त्यहाँ यादवले एउटा नयाँ विचार र नयाँ पार्टीको झण्डा बोकेर हिँड्नु आफैँमा एउटा साहसपूर्ण कदम थियो । उनलाई महोत्तरीका जनताले विश्वासले गरेर उनलाई मत दिएर सांसद बनाए । उनलाई पार्टीले पनि विश्वास गरेर उद्योग मन्त्रालयको जिम्मेवारी दिएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा उनले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएकी थिइन् । उक्त क्षेत्रमा स्थापित र प्रभावशाली दलका दिग्गज उम्मेदवारहरूसँग उनको प्रतिस्पर्धा थियो । तर उनले शिक्षा, सामाजिक परिवर्तन र नयाँ विकल्पको एजेन्डालाई अघि सार्दै ३० हजार १३२ मत प्राप्त गरी विजयी भइन् ।
मधेसका जनताले खोजेको परिवर्तन र नयाँ नेतृत्वप्रतिको विश्वासको प्रतीक थियो । विशेषगरी युवा र शिक्षित मतदाताहरूमाझ उनले प्रस्तुत गरेको स्पष्ट दृष्टिकोणले उनलाई संसद्सम्म पुर्याउन मद्दत गर्यो ।
प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी यादवलाई दिएका छन् । उनीसामु देशमा रुग्ण उद्योगहरूको पुनरुत्थान गर्ने र नयाँ उद्योग स्थापनाका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने ठुलो जिम्मेवारी उनीमाथि छ । चाडपर्वका समयमा हुने मूल्यवृद्धि नियन्त्रण, दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति र कालोबजारी रोक्नु उनको पहिलो परीक्षा हुनेछ । आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्दै निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नु उनका लागि चुनौतपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण