शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

श्रवण मुकारुङको ‘सलह’ उपन्यास सार्वजनिक

शनिबार, २८ चैत २०८२, २० : ३७
शनिबार, २८ चैत २०८२

सारांश

  • कवि तथा गीतकार श्रवण मुकारुङको पहिलो उपन्यास 'सलह' काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
  • लेखक मुकारुङले आफ्नो चार दशक लामो साहित्यिक यात्रा र उपन्यास लेखनको पृष्ठभूमिबारे चर्चा गर्दै आफूलाई सीमान्तकृत समुदायको लेखकका रूपमा प्रस्तुत गरेका छन्।
  • नेपालयको आरशालामा आयोजित उक्त कार्यक्रममा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित नेपालयको आरशाला शनिबार बिहान पाठक र साहित्यप्रेमीले खचाखच भरिएको थियो। लामो समयदेखि कवि र गीतकारका रूपमा चिनिएका श्रवण मुकारुङ पहिलोपटक आख्यानकारका रूपमा प्रस्तुत हुँदा माहोल निकै उत्साहपूर्ण देखियो। 

मुकारुङको पहिलो उपन्यास 'सलह' सार्वजनिक गर्न आयोजित कार्यक्रममा पाठकको चाप यति धेरै थियो कि आयोजकले आरशालाको ढोका नै थप खुल्ला गर्नुपरेको थियो। कार्यक्रमको सुरुवातमा लेखक मुकारुङले हलभित्र अट्न नसकी बाहिर उभिएर सुनिरहेका पाठकहरूलाई सम्बोधन गर्दै आफू सीमान्त र बाहिर पारिएकाहरूको लेखक भएको बताए।

लोकार्पण कार्यक्रममा मुकारुङ आफ्ना पितालाई सम्झँदै निकै भावुक बनेका थिए। उनले आफ्नो चार दशक लामो साहित्यिक यात्राको स्मरण गर्दै आफू सुरुमा निबन्ध र नाटकबाट साहित्यमा प्रवेश गरेको उल्लेख गरे। कक्षा ७ मा पढ्दा 'हुलाकी बन्ने धोको' निबन्ध र ९ मा पढ्दा 'अस्तित्व' नाटक लेखेर यात्रा सुरु गरेका उनले पछि कविता र गीतमा आफूलाई स्थापित गराएका थिए। विभिन्न विधामा कलम चलाउँदै आएका मुकारुङले कतिपय विषयवस्तुले आफैँ विधाको माग गर्ने भन्दै 'सलह' उपन्यासको जन्म पनि त्यसरी नै भएको प्रस्ट पारे।

मुकारुङले आफ्नो बाल्यकालको एउटा मार्मिक प्रसङ्ग सुनाउँदै कल्पना र स्मृतिले नै मानिसलाई बचाउने धारणा राखे। उदयपुरको झोडामा बस्दा ठूलो उज्यालोको खोजीमा आफूले आफ्नै झुपडी जलाएको घटना स्मरण गर्दै उनले धेरै उज्यालो खोज्दा अँध्यारो पनि हुन सक्ने भन्दै राजनीतिक आन्दोलनप्रति पनि सूक्ष्म सङ्केत गरे। २०६२/०६३ को जनआन्दोलनका बेला 'बिसे नगर्चीको बयान' कवितामार्फत चर्चाको शिखरमा पुगेका उनले साथीहरूको हौसला र आफ्ना कविताभित्रकै आख्यानात्मक स्वादका कारण ढिलो गरी उपन्यास विधामा हात हालेको बताए।

नेपालयका सम्पादक विमल आचार्यले श्रवण मुकारुङको आगमनले आख्यान विधालाई थप गरिमामय बनाउने विश्वास व्यक्त गरे। चार दशकको यात्रामा मुकारुङका 'देश खोज्दै जाँदा', 'जीवनको लय', र 'बिसे नगर्चीको बयान' जस्ता चर्चित कविता सङ्ग्रह तथा 'हिउँको दरबार' जस्ता गीत सङ्ग्रह प्रकाशित भइसकेका छन्। कार्यक्रममा लेखकले संगीतकार कालीप्रसाद बाँस्कोटा, निर्देशक रामबाबु गुरुङ र श्रीमती गीता थापा मगरलाई पुस्तक उपहार दिएर उपन्यासको लोकार्पण गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप