बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल घटाउन आवश्यक छ : स्वास्थ्य सचिव

आइतबार, २९ चैत २०८२, १६ : ०७
आइतबार, २९ चैत २०८२

सारांश

  • स्वास्थ्य सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनबीचको खाडल कम गर्नुपर्नेमा जोड दिएका छन्।
  • उनले अनुसन्धान कार्यलाई सरकारको १०० बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँग जोड्न आग्रह गरेका छन्।
  • सचिव देवकोटाले परिषद्को संरचनालाई अझ बलियो बनाउँदै प्रदेशस्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ समापन समारोहमा सम्बोधन गर्दै सचिव देवकोटाले नीतिहरूको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका हुन् । 

उनले देश स्थिरताको चरणतर्फ उन्मुख रहेकोको उल्लेख गर्दै नयाँ सोचसहितको प्रणाली लागू गर्ने अवसर आएको बताए । तथ्यमा आधारित निर्णय प्रक्रियाले मात्र स्वास्थ्य सेवामा सुधार सम्भव हुने उनको भनाइ छ । उनले सुशासनसँग जोडिएर नीति नियम निर्माण गर्ने र त्यसको कार्यान्वयन गरी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए । परिवर्तनको सानो काम बाट नै सुरुवात हुने भन्दै उनले सुरुमा आफ्नो व्यक्तिगत व्यवहारमा सुधार गर्न आग्रह गरे । उनले परिषद्लाई अझ प्रभावकारी बनाउँदै देशव्यापी रूपमा विस्तार गर्नुपर्ने बताउनु भयो । अनुसन्धान, कार्यान्वयन र अनुगमन एउटै थलोबाट समन्वय हुने परिषद्को संरचना अझ बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । 

युवाहरूको अनुसन्धानमा सहभागिता बढ्दो रूपमा रहेको उल्लेख गर्दै उनले सेवा विस्तारमा थप ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा हुने अनुसन्धानहरू सरकारको १०० बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँग जोडिनुपर्नेमा उनले जोड दिँदै त्यसबाट स्वास्थ्य सेवाको गुणस्तरमा ठोस सुधार ल्याउन सकिने विश्वास व्यक्त गरे ।

उनले भने,  ‘अहिले हामी फरक स्थितिमा छौँ, अलिकति स्थिरतातिर देश गएको छ । नयाँ कुराहरू छन्, हामीले धेरै काम गर्‍यौँ, त्यसको समीक्षा गर्‍यौँ । अब कसरी जानुपर्छ भनेर नयाँ सोचसहितको सिस्टम आइसकेको हुनाले त्यसलाई पनि आधार मानेर हामीले फ्याक्टहरु निर्माण गर्नुपर्नेछ । एनएचआरसीले राम्रो गरिरहेको छ, हरेक वर्ष यहाँहरूकै संलग्नतामा राम्रो काम भइरहेको छ । तर अझ पनि म फोकस के मा गर्न चाहन्छु भने एउटै थलो जसबाट एआरपी पनि हुन्छ, जसबाट काम पनि हुन्छ, जसले निरीक्षण अनुगमन पनि गर्छ, त्यत्रो ठुलो जिम्मेवारी बोकेको संस्था अलिकति देशव्यापी रूपमा प्रदेशमा अलि बढी समेटिनुपर्छ ।’ 

उनले थप भने, ‘अहिले धेरै युवाहरू रिसर्चको लागि काम गरिराख्नुभएको छ । अलि बढी सेवा विस्तारमा ध्यान दिनुपर्छ कि जस्तो मलाई लाग्छ । परिवर्तनको लागि ठुला कुरा र ठुलो सोच राख्ने त हो, तर सुरुवात चाहिँ सानोबाट हुनुपर्छ । सबैभन्दा पहिला हामीले आफ्नो व्यवहारमा परिवर्तन गर्न जरुरी छ । आगामी दिनमा हुने रिसर्च सरकारको १०० बुँदे कार्यदिशा र यहाँको घोषणापत्रको आधामा हुनुपर्छ, त्यसो भएमा हामीले हाम्रा सेवाहरूमा सुधार गर्न सक्छौँ ।’ 

उनले परिषद्लाई सरकारले जारी गरेको १०० बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँगका आधारमा आगामी वर्षको बजेट तथा नीति कार्यक्रम बनाउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप