बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधानले स्वतन्त्रता दिए पनि हाम्रा खुट्टामा जन्जिर बाँधिएका छन्

सोमबार, ३० चैत २०८२, १५ : ५४
सोमबार, ३० चैत २०८२

सामान्यतः लाग्दैन होला किन कोही मान्छे अपवाद जन्मिन्छ भनेर । मैले यो किन पनि सम्झिन्छु भन्दा म यो ठाउँबाट उभिएर हेर्दै गर्दा म यहाँ आएँ तर मेरा साथीहरू कयौँ जो यहाँ आउन सक्थे, मभन्दा बढी सक्षम थिए, ती यहाँ पुग्न सक्थे होलान्, ती पुग्न सकेनन् । मेरा साथीहरू यहाँ पुग्न सक्थे, पुगेका पनि छन् तर धेरै कम । त्यसैले म अपवादको रूपमा बारम्बार भनिरहेको हुन्छु । 

मेरा साथीहरू मभन्दा बढी प्रतिभावान् थिए तर उनीहरूले मैलेजत्तिकै स्थान अथवा अवसरहरू पाएनन् । किन पाएनन् ? त्यसका हजारौँ कथा–व्यथाहरू छन्, ती कुराहरू पनि म केलाउँदै जान्छु । त्यसैले यो अपवाद जन्मिनु भनेको पनि समाजको एक तरिकाले राम्रो पाठ हो, साँच्चिकै नराम्रो पनि । 

म किसानको छोरा पनि । किसानले बालीको बिउ छर्दै गर्दा एक बिउ पनि खेर नजाओस् भनेर सम्झन्छन् । त्यस्तै यो देशमा जन्मने हरेक विद्यार्थीहरू, बालबालिकाहरू, एउटा बच्चाहरू पनि कोही पनि कमजोर नहोउन् भनेर देशले सोच्नुपर्ने हो । कोही पनि असक्षम नहोउन् भनेर राज्यले सोच्नुपर्ने हो । कोही पनि मान्छे कुनै पनि कारणले गर्दा उसको दक्षता, उसको प्रतिभा कमजोर नहोस् भनेर राज्यले सोच्नुपर्ने हो तर त्यस्तो अवस्था छैन । 

किसानले मेरा सबै बिउहरूले बाली दिऊन्, फलून्, फुलाऊन् र फहराऊन् भनेर सोच्छन् तर आकलझुकल कुनै बिउ कमजोर भयो भने ती किसानहरू रुन्छन् । तर हाम्रो समुदायका परिवारहरू, मेरा साथीहरू, मेरो भुइँतहकै मेरा आफ्ना मित्रहरू पनि ती लेभलमा पुग्न नसक्दा म दुःखी महसुस हुन्छु । म जन्मिँदै गर्दा मेरो नामसँग जोडिएका कैयौँ विभेदहरू आए । यहाँहरूलाई थाहा होला, कोही मान्छे कमजोर जातको, कोही ठुलो जातको, कोही कुन ठाउँको; यी सबै कुराहरूले उनीहरूको जन्जिर बाँधेको छ । 

म संविधान सम्झिन्छु । संविधानले त हामीलाई स्वतन्त्र भनेको छ, वास्तवमा हामी हरेक ठाउँ–ठाउँमा बन्धनमा छौँ । कहीँ न कहीँ हाम्रा खुट्टाहरूमा जन्जिर छन् । कहीँ जातका नाममा, कहीँ विभेदका नाममा, कहीँ एउटा परिचयको नाममा र ती परिचयका घेराहरू भत्किन नपाउँदाखेरि । यी परिचयहरूले यति गाह्रो बनाउँदो रहेछ कि जन्मिँदै गर्दा आफ्नो कर्मले पहिचान बनाऊँ भनी सोच्दै गर्दा पनि हाम्रा परिचयहरू हाम्रै समाजका नीतिले, परिस्थितिले, परम्पराले यसरी बनाएको हुन्छ कि त्यो परिचय तोड्न पनि कति बल लाग्ने हो, कति युग लाग्ने हो, कति के–के लाग्ने हो, के–के गुमाउनुपर्ने हो–कल्पना गर्नै गाह्रो छ । 

त्यसैले आजको दिनमा हाम्रा पुस्ताले के–के गुमाए होलान्, ती कल्पना गर्न पनि गाह्रो छ । यहाँ ती आन्दोलनहरू सम्झिन्छु, ती आवाजहरू सम्झिन्छु जुन जति प्रयास गरे पनि कतिका कल्पना, कतिका योगदान यहाँ आउन सकेनन् । 

म आजभन्दा चार वर्ष अगाडि सुर्खेत आएको थिएँ, मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रममा । जुन बेला बादी समुदायका साथीभाइहरूले भूमि पाएनन्, घर पाएनन् अथवा यहीँ पनि सम्मानित जीवन बाँच्न पाएनन् भनेर सरकारका ढोकाहरू ढक्ढकाउँदै आएको थिएँ । 

उनीहरू घेराउ गर्ने क्रममा रातभरि त्यहीँ बसेका थिए त्यतिबेला एक सरकारी कर्मचारीले भन्नुभएको थियो, ‘तपाईँहरूसँग रात छ, गाह्रो होला, पानी पर्ला, घर जानुस् यहाँ नबस्नुस्’ भन्नुभएको थियो । तर मलाई सम्झना छ, तीमध्ये एकजनाले जवाफ दिएका थिए, ‘हैन सर, हामी त जिन्दगीभरि यसरी नै बाँचिरहेका छौँ, खोला किनारमा, हामीसँग त छत नै छैन, भुइँ छैन । हामीलाई एक दिनको तपाईँको चिन्ता लागेको छ, हाम्रा त पुस्ता नै यसरी बाँचिसके । तपाईँलाई एक दिनको कति पीर लागेको होला, हामीलाई साँच्चिकै पीर लाग्छ भने हाम्रो छतमुनिको छाना छाप्न भए पनि व्यवस्था मिलाइदिनुस्, हामीलाई सम्मानित जीवन बाँच्न वातावरण बनाइदिनुस् ।’ 

आज ती दिनहरू झलझली याद आइरहेका छन् । र यो पनि याद आइरहेको छ कि तीमध्ये मेरो एक साथी आज मन्त्री पनि हुनुभएको छ, सीता बादी । कर्णालीले सीताजीलाई भुइँतहबाट, त्यो झुप्रो र खोला किनारबाट मन्त्रीमण्डलमा प्रवेश गराउन जुन भूमिका खेलेको छ, त्यो सराहनीय छ । आज उहाँ बालबालिका, महिला र ज्येष्ठ नागरिक मन्त्री हुनुभएको छ । उहाँ आफ्नो समुदायको मात्र मन्त्री हुनुहुन्न, देशको मन्त्री हुनुभएको छ । जो मान्छे जहिले पनि खोला किनारमा बसे, सीमान्तकृत मुद्दाका लागि आज उहाँ मन्त्री हुनुभएको छ । यो श्रेय दिने र यो ठाउँसम्म पुर्‍याउन कर्णालीका भुइँमान्छेहरूले जुन मेहनत गरेका छन्, त्यो सराहनीय छ । हामी सबैसँग एउटा भुइँ छ । त्यो भनेको के हो भने हरेक मान्छे जीवनमा कहीँ न कहीँ, कुनै न कुनै बेला दुःख झेलेकै हुन्छ । एउटा दुःख पार गर्दा अर्को दुःख आउँछ । तर दुःख स्वीकार गरिसकेपछि दुःखलाई झेल्न सजिलो हुँदो रहेछ । मैले त्यो महसुस गरेको छु । 

आजभन्दा २० वर्ष अगाडि मेरो मानसपटलमा यस्तो भिडको गेस्ट बन्छु भन्ने मेरो कल्पनामा कहिल्यै थिएन । हाम्रा सपना कस्ता हुन्थे भने, पन्जाब(भारत)मा गएर धान काट्ने, उखु काट्ने, कसैको खेतमा गएर मलजल गर्ने । तर आज ती सपनाका बाउन्ड्रीहरू तोडिँदा मेरो सानो आकाशको बाउन्ड्री तोडेर ठुलो आकाशको पन्छीजस्तै उड्न पाउँदा म गौरवान्वित महसुस भएको छ । तर म के भन्न चाहन्छु भने सपनाको सानो घेरामा नबस्नुस्, आफैँले सपना देख्ने र त्यो पूरा गर्न मेहनत गर्ने हो भने पक्कै पूरा हुँदो रहेछ । त्यसका लागि आफ्नो भुइँ थाहा पाउनुपर्छ । 

भुइँ भनेको आफ्नो स्ट्रेन्थ (शक्ति) र कमजोरी के हो भनेर चिन्नु हो । भनिन्छ नि कमलको फूल हिलोमा फुल्छ भनेर । त्यो हिलो त कमलका लागि मलजल हो । त्यस्तै भुइँतहमा भएका जति पनि कमजोरी र सीमितताहरू छन्, तिनलाई चिन्न सक्यौँ भने ती कमजोरी नै हाम्रो बल बन्दा रहेछन् ।

मैले अहिले हाम्रो समाजमा एउटा ‘सामुदायिक सिकाइ केन्द्र’ खोलेको छु । त्यहाँ पढ्दै गर्दा एक नानीले मलाई भनेकी थिइन्– सर मलाई पढ्न यो गर्मीले कहिल्यै रोक्दैन । गर्मी मेरो ज्ञान पाउनुको उद्देश्यभन्दा ठुलो होइन । मेरो अज्ञानताले जीवन बिगार्छ तर यो गर्मीले बिगार्दैन । 

हामी कहिलेकाहीँ पसिनामा हुँदा दिक्क मान्छौँ, तर मेरा बुवाले गर्मीमा कोदालीले खेत खन्दा कहिल्यै थाक्नुभएन । हाम्रो भोकसँग लड्न र लुगा किन्न उहाँ पसिनामा पनि खटिनुभो । त्यति कुरा हामीले बुझ्नुपर्छ । हाम्रो भुइँ भनेको हामी सबैले मुख जोड्न, आफ्नो छतमुनि बस्न र मन परेका मान्छेसँग बाँच्नका लागि गर्ने कर्म हो, ती कर्महरूलाई राम्रोसँग मनन गरेर भूमिका निभाउन सक्यौँ भने पक्कै पनि त्यहीँ सन्तुष्टि मिल्छ । 

हामी भूमिका निभाउने क्रममा सीप र ज्ञान आर्जन गर्छौँ, पद पनि हासिल गर्छौँ । तर पदमा पुगेपछि भूमिका निभाउन सकेनौँ भने फेरि हामी त्यहीँ भुइँमा झर्छौँ र त्यसले न्याय पाउन सक्दैन । म जुन मेहनतले डाक्टर बनेँ, डाक्टरी भनेको औषधि र मलमपट्टी मात्र होइन, यो त एउटा यस्तो चित्त हो जसले हरेक प्राणीको दुःख कम गर्ने, दुःखका कारणसँग लड्ने र सुखका उपाय खोज्ने प्रयास गर्छ । मलाई लाग्छ, तपाईँ हामी सबैमा त्यो डाक्टरी चित्त छ, जसले आफ्नो र अरूको दुःख हटाउन हरदम प्रयास गर्छ । 

अन्त्यमा, जीवन स्थायी छैन । हामीले कैयौँ साथीहरू गुमाएका छौँ । हाम्रो जीवन कति बेला टुङ्गिन्छ थाहा छैन, त्यसैले अहिले जे छ त्यसको कदर गर्न जान्नुपर्छ । कोही एक जना आएर मेरो जीवन बनाइदिन्छ भनेर बस्नुभन्दा हामीसँग भएका स्थानीय स्रोत र आफ्नो शक्ति चिनेर अघि बढ्नुपर्छ । कुनै एकजनाको आशामा होइन, हरेक व्यक्तिको आशामा देश बन्छ । 

आज देशमा समावेशिताका कुराहरू भइरहेका छन् । फरक–फरक अनुहारहरू मन्त्रिमण्डलमा देखिएका छन् । सबै समुदायको सह–अस्तित्व र नेतृत्व स्वीकार्ने ठाउँमा हामी पुगेका छौँ । सबैभित्र एउटा हिरा छ, तर त्यो धुलो–माटोले छेकिएको हुन्छ । त्यो धुलो सफा गर्ने हो भने हरेक मान्छे चम्किन सक्छ । र त्यो हिरा चिन्ने मान्छे पनि हुनुपर्छ । 

जसरी खुट्टामा किलो बिझ्यो भने टाउको दुख्छ, त्यसरी नै समाजको कुनै एक अङ्ग कमजोर भयो भने देश कमजोर हुन्छ । कोभिडले पनि हामीलाई यही सिकाएको छ । त्यसैले भुइँतहका मान्छेको प्रतिभा उजागर गर्नुपर्छ । तपाईँ हामीले जे पाएका छौँ, ज्ञान, सीप, धन–त्यो अरूलाई दिन सक्यौँ भने मात्र त्यसको ऊर्जा महसुस हुन्छ । हामी घर त ठुलो बनाउँछौँ तर मन सानो बनाउँछौँ । हाम्रो सबैभन्दा ठुलो घर हाम्रो यो शरीर र मन हो, जसलाई सफा राख्न सक्यौँ भने यसले सबैको हित गर्छ । 

तपाईंहरूले आफ्नो मन र वातावरण राम्रो बनाउनुभयो भने बोली र व्यवहार पनि राम्रो हुन्छ । साँच्चिकै तपाईँले जसको राम्रो चिताउनुहुन्छ, उसको राम्रो हुन्छ नै । मनमा राम्रो कुरा आएपछि व्यवहारमा पनि त्यही झल्किन्छ । 

(डा. रामजी रामले ‘कर्णाली उत्सव’को सातौँ संस्करणमा ‘भुइँदेखि भूमिकासम्म’ शीर्षकमा दिएको सम्पादित अभिव्यक्ति ) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. रामजी राम
डा. रामजी राम
लेखकबाट थप