‘मधेसी दललाई जनताले छाडिसके, अब कार्यकर्ताले छाड्दैछन्’
काठमाडौँ । मधेसको अधिकार र पहिचानको एजेन्डा बोकेर लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै आएका मधेश केन्द्रित दलहरू यसपटकको निर्वाचनमा मधेसमै बढारिए । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ मधेस प्रदेशका ३२ सिटमा एक सिट पनि उनीहरूले जित्न सकेनन् । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड पार गर्न नसक्दा उनीहरूको उपस्थिति प्रतिनिधिसभामा शून्य भएको छ ।
निर्वाचनमा धुलिसात हुनुमा मधेस केन्द्रित दलका नेताहरूका आ–आफ्नै तर्क छन् । तर कतिपय नेताहरू भने उनीहरूका तर्कसँग सहमत छैनन् । निर्वाचनमा पराजय कसरी भयो ? कि अब मधेसी दलको औचित्य समाप्त भएको हो ? ती दल अब के गर्छन् ? पुनः ब्युँतिने सम्भावना कति ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीको ‘वारपार’मा जनता समाजवादी पार्टीका निवर्तमान महासचिव रामकुमार शर्मासँग कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
तपाईं जुन पार्टीमा जानुहुन्छ, त्यो पार्टी खरानी हुन्छ । त्यस्तै हो ?
तपाईंको कुरा सच्चाई पनि छ । तर देशलाई एकात्मकबाट संघीयतामा लैजानु, पहिचानको विषय केही आंशिक रूपमा भए पनि हल गर्नु, समावेशीकरणको विषय केही मान्यमा भए पनि हल गर्नु, दलित, जनजाति, अल्पसंख्यक समुदायहरूको प्रतिनिधित्व हुनु, ३३ प्रतिशत महिलाहरूको राज्यका सबै निकायहरूमा प्रतिनिधित्व हुनु भनेको केही पनि भएन भन्ने त होइन नि ।
पार्टी कमजोर भयो भन्दा पनि हामी त्यहाँ गयौँ जहाँ संघर्ष गर्यौँ, यो देशलाई बदल्ने काम आंशिक रूपमा भए पनि माओवादी जनयुद्ध र मधेसी जनअधिकार फोरम या संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा या मधेस केन्द्रित दलहरूले गरेकै हो ।
केही न केही काम गर्दै आएका मधेस केन्द्रित दल यो चुनावमा शून्य सिटमा कसरी झरे त ?
हामीबाट तराई मधेसका जनताको या उत्पीडित क्षेत्र, वर्गका जनताको जे अपेक्षा थियो, त्यो अपेक्षामा हामी उत्रिन सकेनौँ । हाम्रो पार्टी उत्रन सकेन । जनताले अहिले हाम्रो पार्टी मात्रै होइन, एमाले जस्तो पार्टी वान डिजिटमा पुर्याइदिए प्रत्यक्षतर्फ । कांग्रेसको हाल तपाईं हेरिहाल्नुभयो ।
अरूको पार्टीको उनीहरुलाई नै सोधौंला । मधेस केन्द्रित दल मधेसमै कसरी बढारिए ?
जुन नजरले कांग्रेस, कम्युनिस्टलाई जनताले हेरे, मधेस केन्द्रित दललाई पनि त्यसै नजरले हेरे । सात वर्ष त जनता समाजवादी पार्टी नेपालकै सरकार थियो मधेसमा । तर कांग्रेस, कम्युनिस्टले देश लुट्छ भन्दा मधेसी पार्टीले किन लुट्न नपाउने ? भन्ने सोचले घर गर्यो । सात वर्षमा सुशासनको अनुभूति त दिलाउन सकेन नि । जनताको ठुलो आक्रोश छ ।
मधेसमा बालेन फ्याक्टरले पनि काम गर्यो कि ?
आम नागरिकमा मधेसी मूलबाट पनि प्रधानमन्त्री होस् भन्ने एउटा चाहना, एउटा सपना, एउटा आकांक्षा थियो । त्यसकारणले पनि सर्लक्कै मधेस फर्केको हो ।
मधेस केन्द्रित दलहरुको औचित्य अब सकिएको हो ?
अहिले नै रहेको अवस्थामा त औचित्य सिद्धिसक्यो ।
पार्टीले यसरी चुनाव हार्दा पनि कुनै नेताले नैतिकता देखाएर पद छाडेको पनि सुनिँदैन त ?
जनताले अस्वीकृत गरिसकेपछि अब धेरै बहस नै गर्नु परेन नि त । लोकतन्त्रमा न्यूनतम नैतिकताको कुरा नै उहाँले सर्लक्कै राजीनामा दिएर बाटो खोल्दिनुपर्थ्यो ।
कांग्रेस, एमाले लगायत दलमा पुनर्संरचनाको कुरा उठेको छ । मधेश केन्द्रित दलमा त्यो गुञ्जायस छैन ?
३५ देखि ५० वर्षका साथीहरूलाई पार्टीको जिम्मा दिनुपर्छ । अहिलेका अध्यक्षहरुले राजीनामा दिनुपर्छ । जिद्दी गरेर बसिराख्नुभयो भने जनताले त छोडिसके अब कार्यकर्ताहरूले पनि चार–छ महिनामा छाड्ने देख्छु । त्यसपछि नेताहरू धेरै जोगी भएपछि मठ बिग्रिए जस्तो, नेताहरू मात्रै बसेपछि के हुन्छ ? त्यसपछि पार्टीहरु विघटन र विसर्जनतिर जान्छ ।
कतिपयले बालेनजीलाई भारी ठुलो भयो, बोक्न सक्नुहोला कि नहोला भन्छन् । यसमा तपाईंको विचार के छ ?
रास्वपा विशाल पार्टी बनेको छ, विशाल समर्थन प्राप्त गरेको छ, यसलाई एकताबद्ध गरिराख्नु चुनौती म देख्छु । अर्को भूराजनीतिक सन्तुलन मिलाउने चुनौती छ । तेस्रो जनताको ठुलो अपेक्षा छ, त्यो पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ? नेपालको सार्वभौमिकतामाथि पनि ठुलो संकट ल्याउने, आउने, त्यो पनि खतरा देखिन्छ । चौथो देशमा भ्रष्टाचार जो महामारीको रूपमा छ, भ्रष्टाचार विरुद्धमा कसरी कारबाही गर्छ ?

बिहानीले दिउँसोको संकेत गर्छ भनिन्छ । यो १५ दिनमा त्यो बाटोमा सरकार हिँडेको छ कि छैन त ?
सरकार मान्छेले सोचेकोभन्दा अलि फास्ट नै काम गरेको छ । सरकारको काम कारबाही व्यवस्थित नै म देख्छु ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा बोल्नुभएको कुरालाई कसरी लिन सकिन्छ ?
यसबारेमा छानबिन हुनुपर्छ । किनकि यस प्रकारले सेना नै विदेशीको एजेन्ट हो भने त राज्यले कारबाही थाल्नुपर्यो ।
बादलजीमाथि छानबिन हुनुपर्छ ?
बादलले नेपालको सेनालाई विदेशीको गोटी, दलाल, विदेशीबाट सञ्चालित भन्नुभयो । यसले त राष्ट्रियतामा पनि संकट आयो । देशको सार्वभौमिकतामाथि नै संकट आयो । नेपाली सेना त राज्यको मुख्य मेरुदण्ड हो । सेना नै विदेशीको दलाल भएपछि, गोटी भएपछि, विदेशीको अनुसार काम गर्ने भएपछि त मुलुक कहाँ रह्यो त ?
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण