कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?
सारांश
- नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीको लेटरप्याडमा अनधिकृत रूपमा कार्यवाहक सभापति लेखेर विज्ञप्ति जारी गरेको विषयमा छलफल गर्न बैठक बोलाएको छ।
- निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनुशासन समितिको चेतावनीका बाबजुद पुनः पदको दुरुपयोग गरेको भन्दै समितिले कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक बुधवार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । केन्द्रीय सदस्य तारामान गुरुङ संयोजक र केन्द्रीय सदस्यहरू धना खतिवडा र सुवास पोखरेल सदस्य रहेको समितिको बैठकको एजेन्डा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापति लेखेर सोमबार विज्ञप्ति जारी गरेको विषय पनि एजेन्डा छ ।
खड्काले यसअघि चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका थिए ।
चैत १७ गते कार्यवाहक सभापतिकै हैसियतमा उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए ।
त्यसपछि केन्द्रीय अनुशासन समितिको चैत १८ गते बसेको बैठकले खड्कालाई पार्टीको नक्कली लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएको भन्दै सचेत गराउने निर्णय गरेको थियो । अनुशासन समितिको बैठकपछि जारी विज्ञप्तिमा लेखिएको थियो, ‘अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ ।’
त्यो चेतावनीलाई चुनौती दिँदै खड्काले सोमबार फेरि पहिलेजस्तै कार्यवाहक सभापतिकै हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गरेर विज्ञप्ति जारी गरेपछि अनुशासन समिति बैठक बोलाइएको हो ।
पार्टी प्रवक्ता देवराज चालिसेले कार्यवाहक सभापतिको हैसियतमा लेटर प्याडमा विज्ञप्ति जारी गर्नु अनुचित रहेको बताए । ‘उहाँ (पूर्णबहादुर खड्का)ले जारी गरेको विज्ञप्ति अनुचित हो । विधानवविपरीत हो,’ प्रवक्ता चालिसेले भने ।
तर, यसबारे के गर्ने भन्ने विषय कार्यसमितिको क्षेत्राधिकारभित्र नपर्ने बताए । ‘त्यो केन्द्रीय कार्यसमितिको अधिकारभित्र पर्दैन, अनुशासन समितिको क्षेत्राधिकारभित्र पर्ने विषय हो,’ चालिसेले भने, ‘समितिले विधान, तथ्य हेर्छ, व्यक्ति र पद हेर्दैन ।’
कांग्रेस अनुशासन समितिका संयोजक गुरुङले खड्काले पार्टीको लेटरप्याड प्रयोग गरेर नभएको पद जारी गरेको विज्ञप्तिबारे बैठकमा छलफल हुने जानकारी दिए । ‘लेटरप्याड र नभएको पद राजेर जारी गरेको विज्ञप्तिबारे छलफल हुन्छ,’ संयोजक गुरुङले रातोपाटीसँग भने ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाही गर्न लाग्नु भएको हो भन्ने प्रश्नमा संयोजक गुरुङले भने, ‘उहाँको विज्ञप्त्बिारे छलफलको एजेण्डा छ । कारबाही हुने नहुने छ बैठकपछि थाहा हुन्छ । यो अहिले भन्ने विषय होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण