बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

भक्तपुर प्रहरीमा एक महिनामा १४६ मुद्दा दर्ता, ९९ पक्राउ

बुधबार, ०२ वैशाख २०८३, २० : २७
बुधबार, ०२ वैशाख २०८३

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले आर्थिक वर्ष २०८२/०८३ को चैत महिनाको आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । परिसरले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चैत महिनामा कुल १४६ वटा मुद्दा दर्ता भएको उल्लेख गरेको छ ।

जसमा ९९ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ९४ पुरुष र ५ महिला रहेका छन् । गम्भीर प्रकृतिका अपराधतर्फ जबरजस्ती करणीका ४, लागूऔषधका १०, डाँका १ र ज्यान मार्ने उद्योगको १ मुद्दा दर्ता भएका छन् ।

यस अवधिमा आर्थिक अपराधको क्षेत्रमा पनि प्रहरीले सक्रियता देखाएको छ। बैंकिङ कसुरका ७१ र ठगीका ६ गरी कुल ७७ वटा मुद्दा दर्ता भएका छन्। साथै, अदालतको फैसला कार्यान्वयनका क्रममा ४४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी १५ लाख ९८ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ भने ३ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति समेत खुलाइएको छ ।

लागूऔषध नियन्त्रणमा पनि भक्तपुर प्रहरीले उल्लेख्य सफलता प्राप्त गरेको छ। चैत महिनामा १३ किलो ६८० ग्राम गाँजा, ४ किलो ७५ ग्राम पोल्याण्ड, र ठूलो परिमाणमा विभिन्न फर्मास्युटिकल लागूऔषधहरू (ट्रामडोल, नाईट्राजेपाम आदि) बरामद गरिएको छ । यसैगरी, भन्सार छली र अवैध तस्करी रोक्ने क्रममा करिब १२ लाख १४ हजार मूल्य बराबरका विभिन्न ब्राण्डका ४४६ थान ’भेप’ र अन्य सामग्री बरामद गरी ४ जनालाई पक्राउ गरिएको छ ।

सडक सुरक्षातर्फ चैत महिनामा भक्तपुरमा २०३ वटा सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने १२० जना घाइते भएका छन्। सवारी नियम उल्लंघन गर्ने १८८६ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । दुर्घटनाको मुख्य कारण चालकको लापरवाही र तीव्र गति रहेको प्रहरीको विश्लेषण छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हकमा प्रहरीले ३० वटा उजुरी प्राप्त गरेकोमा सबैको मिलापत्र गराएको छ। साथै, हराएका २३ जनामध्ये १९ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको छ । घरेलु हिंसासम्बन्धी ७ वटा उजुरीमा पनि मिलापत्र गराइएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप