पाँच हजार सन्तानकी आमा उषा
सारांश
- समाजसेवी उषा आचार्यले विगत २७ वर्षदेखि पाँच हजारभन्दा बढी सहाराविहीन बालबालिकाहरूलाई शिक्षा र संस्कार प्रदान गर्दै आएकी छिन्।
- अमेरिकाको सुखसयल छोडेर शिक्षाको ज्योति छर्न फर्किएकी उषाको अभियानबाट हालसम्म दुई हजारभन्दा बढीले स्नातक गरिसकेका छन्।
- लिटल सिस्टर्स फन्डमार्फत उनले आर्थिक अवस्था कमजोर भएका छोरीहरूलाई आत्मनिर्भर बनाउने कार्यमा आफ्नो जीवन समर्पित गरेकी छिन्।
काठमाडौँ । समाजसेवी उषा आचार्यको कोखबाट दुई छोरा जन्मिए, अचल र अविदित । तर, आफैँले जन्माएका सन्तानबाहेक उषालाई ‘आमा’ भनेर सम्बोधन गर्नेहरूको संख्या भने पाँच हजार पुगिसकेको छ । आमाबुबाविहीन, कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरूलाई उनले शिक्षा, संस्कार र ज्ञानको ज्योति बाँड्दै आफ्नो सिंगो जीवन अर्पण गरिसकेकी छिन् उषाले ।
छोरीहरूलाई शिक्षा दिने कर्म २७ वर्षअघि सुरु गरेकी थिइन् उषाले । एक जनाबाट त्यो अभियान सुरु भएको थियो । कमजोर आर्थिक अवस्था भएकी सिन्धुपाल्चोककी विन्द्या शर्मा उनकी पहिलो छोरी हुन् । हाल धुलिखेल अस्पतालमा नर्सका रूपमा कार्यरत छिन्, विन्द्या । छोरीहरूलाई शिक्षा दिने त्यो संख्या थपिँदै गयो । हालसम्म दुई हजार बढीले ग्र्याजुएट गरिसके, २५ सय अध्ययनरत छन्, पाँच सयले प्लस टु उत्तीर्ण गरिसके ।

स्वदेशमा मात्र होइन तीमध्ये कतिपय छोरीहरू बेलायत, अमेरिका, अस्ट्रेलिया जस्ता देश पुगेर उच्च शिक्षा हासिल गर्दै प्रगतिको पथमा लम्किरहेका छन् ।
संसारभर जहाँ पुगे पनि छोरीहरूले उषालाई आमा भन्न छाडेका छैनन् । विश्वका कुनाकुनाबाट आज पनि उनलाई सञ्चो-बिसञ्चो सोध्न छोरीहरूले फोन गरिरहन्छन् । आज पनि उनैलाई आफ्नो आड भरोसा मान्छन् । लाग्छ, संसार छाडेर गएका कैयौँ आमाहरूले उषामै बास गरेका छन् । छातीभित्रको त्यही माया उषाले सहाराविहीन छोरीहरूलाई बाँडिरहेकी छिन्, जुन माया कहिल्यै रित्तिँदैन । रित्तिँदै रित्तिँदैन ।
अभाव, गरिबी र संरचनागत विभेदको जालोमा जेलिएर थङ्थिलो भएका सहाराविहीनहरूलाई उषाले उभिन आड, बस्न छानो र सम्हालिन प्रेम दिइन् । उनै पाँच हजार छोरीहरूले उषालाई आज पनि आमा भन्दै सम्मान र आदर गर्छन् ।
आमाबुबा गुमाएका कैयौँका लागि उषा मानवता र मातृत्वकी मिसाल हुन् । ‘हामीले भगवान् कस्ता छन् भनेर अहिलेसम्म देखेका छैनौँ तर भगवान् हुन्छन् भने उषा आमा जस्तै हुन्छन् होला,’ उषासँग भेटाउन लैजाँदै गरेकी सृष्टि काफ्ले (नाम परिवर्तन) ले भनिन् ।
दुई किलो चामल र एक किलो चिनी मात्रै होइन, पानी बाँडेर सामाजिक सञ्जालमा छाउन चाहनेहरूको भीडमा उषा बिल्कुल फरक छिन् । भाइरल हुन चाहनेहरूसँग उनी कोसौँ कोस पर छिन् । अमेरिकाको जागिर छोडेर सिंगो जीवन समाजसेवामा समर्पित गरेकी उषा भिडियो, फोटो र रिलभन्दा पर बस्न रुचाउँछिन् ।
‘तपाईंका अनुभवहरू भिडियोमा रेकर्ड गरौँ है, अरूलाई पनि प्रेरणा हुन सक्छ,’ दुई दिनसम्म उनलाई पछ्याएपछि मैले प्रस्ताव राखेँ ।
उनले मिठो स्वरमा मेरो प्रस्ताव अस्वीकार गरिन् ।

पाँच हजार छोरीहरूमाझ शिक्षाको उज्यालो ज्योति छरेकी उषाले २७ वर्षअघि लिटल सिस्टर्स फन्ड सुरु गरिन् । उनको अभियानमा सहयोगी हातहरू थपिँदै गए । उनले पढाएका छोरीहरूले नै कम्तीमा अर्को एक जनालाई पढाउने जिम्मा लिए ।
छोरीहरूसम्म शिक्षाको प्रकाश पुर्याउनै पर्छ भन्ने सोच उनमा कसरी आयो ? त्यो कथा एकैछिनमा सुरु गरौँला । त्योभन्दा पहिले तनहुँदेखि काठमाडौँसम्म उनको यात्राको कथा सुनौँ ।
मसँग कुराकानी गर्न बल्ल-बल्ल तयार भएकी उषा पुराना दिनतिर फर्किइन् । उनका कुरा सुन्दा आजको पुस्तालाई चलचित्रको कथा जस्तो लाग्न सक्छ । तनहुँको सिम्पानीबाट ६ दिन हिँडेपछि बल्ल काठमाडौँ पुगिन्थ्यो । त्रिशूली नदी र अन्य खोलामा डुङ्गा चढ्नु पर्थ्यो ।

तिनताक उषाका दाजु मदन शर्मा ‘स्वतन्त्र समाचार’ दैनिकमा काम गर्थे । उनकै कारण उषाले काठमाडौँ आउने मौका पाइन् । पत्रकार मदनले तनहुँमै बिहे गरेकी पत्नी चन्द्रकला बाटोमा एक्लै हुने भएकाले बहिनीलाई साथमै बोलाएका थिए ।
उषाको उमेरका दौँतरीहरूको गाउँमा धमाधम बिहे हुँदै थियो । कलिलो उमेरमै विवाह गर्ने चलन थियो तिनताका । उनले भने राजधानीमा गणेशस्थानको कान्ति ईश्वरी माविमा पढ्न पाइन् । गाउँमा छँदा सिलौटामा कखरा पढेकी उनले एकै पटक ५ कक्षा भर्ना भएपछि कागजमा लेख्न सिकिन् । बल्ल कखरा सिकिन् । रानी ऐश्वर्य पनि उनैले पढ्ने स्कुलमा पढ्थिन् ।
कान्ति ईश्वरी माविबाट एसएलसी उत्तीर्ण गरेपछि उषा बागबजारको पद्मकन्या क्याम्पसमा आइए भर्ना भइन् । अर्थशास्त्र र नेपाली मेजर विषय लिएकी उनले स्नातकमा कलेज टप गरिन् । त्यो सफलताले उनलाई दिल्ली पुर्यायो । दिल्ली स्कुल अफ इकोनोमिक्समा अर्थशास्त्रमा एमए पढ्न पूर्ण छात्रवृत्ति पाइन् । नेपालमा छँदा नेपाली मिडियमबाट पढेकी उषालाई सुरुमा त गाह्रो भयो । बिस्तारै चालिएका पाइलाहरू गन्तव्यसम्म पुग्नु निश्चित थियो ।
विश्वविद्यालयमा उनका शिक्षक थिए, पूर्वप्रधानमन्त्री मनमोहन सिंह र अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका अमर्त्य सेन । सुरुमा उनलाई पास गर्न सक्छु जस्तै लाग्दैनथ्यो । तत्कालीन भारतका लागि नेपाली राजदूत दुर्गेशमान सिंह, राजदूतावासमै कार्यरत परराष्ट्रका कर्मचारी बद्री खनालले उनलाई सजिलो बनाइदिए ।

प्रसिद्ध व्यक्तिको सान्निध्यमा रहेर पढ्न पाएकी उषाको गति यतिमै सीमित रहेन । जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्रमै उनले एमफिल गरिन् । सिक्ने क्रम उनको जीवनमा कहिल्यै रोकिएन । निरन्तर चलिरह्यो । त्यही भोकले उनी इन्टरनेसनल ह्युमन राइट्स ल अध्ययन गर्न अमेरिकाको हार्वर्ड युनिभर्सिटी पुगिन् । र, पछि त्यहीँ काम पाइन् ।
नियमित पढाइबाहेक उषाले अमेरिकामा छँदा एग्रिकल्चर क्रेडिट एन्ड बैंकिङ, इन्फरमेसन सिस्टम्स (कम्प्युटर कोर्स) पनि लिइन् । तनहुँका गाउँमा सँगैका दौँतरीहरू डोली चढेर पराई घर गइरहँदा उषाले आफ्नो पढाइमा कहिल्यै पूर्णविराम लगाइनन् । बरु चुनौतीको सामना गर्दै अघि बढिन् । त्यससँगै उनको पोल्टामा अन्य अवसरहरू आउँदै गए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सेभ द चिल्ड्रेन युके, युएसएआइडीमा काम गर्ने मौका पाइन् । नेपाल राष्ट्र बैंकमा आठ वर्ष रिसर्च अफिसर र कृषि विकास बैंकमा पाँच वर्ष सेक्सन अफिसरका रूपमा काम गरिन् ।
अमेरिका बस्दा उषाकी मिल्ने साथी थिइन्, सौदामिनी । उनीहरू बरोबर भेटिरहन्थे । हिमाल भन्ने बित्तिकै हुरुक्कै हुन्थे, ट्रेबर प्याचर । सौदामिनीको दिदीका छोरा ट्रेबरलाई उषाले अमेरिकामै भेटेकी थिइन् ।
सन् १९९८ मा उषा नेपाल फर्किसकेकी थिइन् । एकदिन सौदामिनीले ट्रेबर सगरमाथा बेस क्याम्पस घुम्न आउन लागेको खबर सुनाइन् । अमेरिका बस्दा पुरानै चिनजान भएकाले ट्रेबरलाई घरसम्म ल्याउन एयरपोर्ट पुगिन् । नेपालमा चेलीबेटी बेचबिखन र बाल मजदुरबारे किताब लेखिरहेकी उषामाथि जब ट्रेबरको नजर पर्यो, स्नातकको परीक्षा दिएर आएका अमेरिकी युवा चेलीबेटी बेचबिखन र बाल मजदुरको कुराले छक्क परे ।

‘किन यस्तो समस्या छ नेपालमा ?’ जिज्ञासु स्वभावका ट्रेबरले छक्क पर्दै सोधे ।
‘छोरीहरूलाई पढाउन सकियो भने यो समस्या रोक्न सकिन्छ,’ उषाले प्रतिउत्तर दिइन् ।
त्यही बिन्दुबाट उषाको नयाँ अभियान सुरु भयो । छोरीहरूलाई शिक्षा दिने, आत्मनिर्भर बनाउने त्यो अभियानमा नेपाल घुम्न आएका युवा ट्रेबरले दुई सय डलर दिए । हरेक वर्ष सहयोग स्वरूप दुई सय डलर दिने उनले वाचा गरे ।
विन्द्या शर्मालाई सहयोग गरेर सुरु भएको यो अभियान अहिले पाँच हजारसम्म पुगेको छ । एक व्यक्तिबाट सुरुवात भएको यो अभियान २७ वर्ष पूरा भएर २८ वर्ष पुग्न लागेको छ ।
संयोग कस्तो भइदियो भने बिहीबार मध्याह्न (३ वैशाख) मा यो कुराकानी भइरहँदा तिनै अमेरिकी युवा ट्रेबर काठमाडौँ ओर्लिँदै थिए । यो उनको २०औँ पटकको नेपाल यात्रा हो । पछिल्ला वर्षहरूयता उषाको अभियानमा उनले चार सय डलर सहयोग गरिरहेका छन् । कतिपयले विदेशबाट फन्ड उठाएर उषाको काममा सघाउँछन् ।

विभिन्न व्यक्तिहरूले बालिकाहरूलाई पढाउन आर्थिक सहायता दिने गरेका छन् । उषा चाहन्छिन्, छोरीहरू सक्षम र आत्मनिर्भर बनून् । त्यसका लागि शिक्षा पहिलो खुड्किलो हो । यो कुरा उनले आफ्नै जीवनमा महसुस गरेकी छन् ।
छोरीहरूको शिक्षामा किन जोड दिन्छिन् त उषा ?
उनले भनिन्, ‘तपाईंले एउटा केटालाई शिक्षा दिनुभयो भने, एउटा व्यक्तिलाई मात्र शिक्षित बनाउनु हुन्छ । तर तपाईंले एउटी केटीलाई शिक्षा दिनुभयो भने सम्पूर्ण परिवारलाई नै शिक्षित बनाउनु हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण