शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

किशोरीको हत्या अभियोगमा अमेरिकी गायक पक्राउ

शुक्रबार, ०४ वैशाख २०८३, ०९ : २४
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • टिकटकबाट चर्चामा आएका अमेरिकी गायक डेभिड एन्थोनी बुर्केलाई एक १४ वर्षीया किशोरीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
  • गत सेप्टेम्बरमा गायकको टेस्ला कारभित्र किशोरीको अवशेष फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
  • अदालतको दस्तावेज अनुसार मृतक किशोरी सन् २०२४ को अप्रिलदेखि बेपत्ता भएकी थिइन्।

लस एन्जलस । टिकटकबाट चर्चामा आएका चर्चित अमेरिकी गायक डेभिड एन्थोनी बुर्के (d4vd) लाई एक किशोरीको हत्या गरेको आशंकामा प्रहरीले पक्राउ गरेको छ। गत वर्ष बेपत्ता भएकी १४ वर्षीया किशोरी सेलेस्टे रिभास हर्नान्डेजको हत्यामा संलग्न रहेको आरोपमा २१ वर्षीय यी गायकलाई लस एन्जलस प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार गत सेप्टेम्बरमा गायक बुर्केको टेस्ला कारभित्र ती किशोरीको अवशेष फेला परेपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो। लस एन्जलस प्रहरी विभागले बिहीबार जानकारी दिएअनुसार बुर्केलाई धरौटी बिना हिरासतमा राखिएको छ र यो मुद्दा सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिनेछ।

यसअघि यस विषयमा मौन रहेका गायकका प्रतिनिधिहरूले उनी अनुसन्धानमा अधिकारीहरूलाई सहयोग गरिरहेको बताएका थिए। यद्यपि, बिहीबार प्रहरीले उनलाई सिधै सेलेस्टे रिभासको हत्याको आरोपमा पक्राउ गरेको पुष्टि गरेको छ।

यो घटनाको सुरुवात सन् २०२५ सेप्टेम्बर ८ मा भएको थियो, जब हलिउडको एउटा टो यार्डमा राखिएको सवारी साधनबाट दुर्गन्ध आएको सूचना प्रहरीले पाएको थियो। अनुसन्धानका क्रममा टेक्सासमा गायक बुर्केको नाममा दर्ता भएको टेस्ला कारको अगाडिको भाग (बुट) मा एउटा झोलाभित्र ती किशोरीको टाउको र शरीरको भाग फेला परेको अदालतको दस्तावेजमा उल्लेख छ। 

मेडिकल परीक्षकका अनुसार शव धेरै पुरानो र सडिसकेको अवस्थामा थियो, जसका कारण मृत्युको वास्तविक कारण पत्ता लगाउन समय लागिरहेको छ। अधिकारीहरूले शव फेला पर्नुभन्दा केही हप्ता अघि नै ती किशोरीको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्।

मृतक किशोरी रिभास हर्नान्डेज आफ्नो घरबाट करिब ७५ माइल टाढा फेला परेकी थिइन्। उनी सन् २०२४ को अप्रिलदेखि बेपत्ता भएकी थिइन्। 

एल साल्भाडोरबाट बसाईं सरेर आएका आमाबुवाकी छोरी उनी यसअघि पनि पटक-पटक घरबाट भाग्ने गरेको बताइएको छ। 

यो बीभत्स घटनाले इन्टरनेट र सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ, जहाँ धेरैले रोमान्टिक होमिसाइडजस्ता चर्चित गीतका गायकसँग ती किशोरीको सम्बन्ध के थियो होला भनी अड्कलबाजी गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप