बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
इलेक्ट्रिक चुरोट ‘भेप’

जसको सूचनाले भेप प्रकरण पटाक्षेप भयो, उनीहरूमाथि नै भ्रष्टाचार मुद्दा

शुक्रबार, ०४ वैशाख २०८३, १५ : ०९
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • भेपमा सुन तस्करी भएको खुलासा गर्ने तत्कालीन भन्सार प्रशासक अरुण पोखरेलसहितका कर्मचारीहरू विरुद्ध नै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
  • तस्करीको सूचना दिने र आन्तरिक छानबिन गर्ने अधिकारीहरूले नै अहिले विशेष अदालतमा भ्रष्टाचारको अभियोग खेप्नुपरेको छ।
  • भेप प्रकरणमा मुछिएका कर्मचारीहरूले जिल्ला अदालतमा सरकारी साक्षीका रूपमा बकपत्र दिनुपर्ने र अर्कोतिर आफूविरुद्धको मुद्दा लड्नुपर्ने अवस्था सिर्जना भएको छ।

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चिनियाँ नागरिक ली हाङ सोङले २०७९ पुस १० मा ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका थिए ।

दुई वटा सुटकेशमा ७ सय ३० थान भेपमा सुन लुकाएर ल्याएको आशङ्कामा विमानस्थलका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले त्यसबारे अनुसन्धान गरिदिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पत्राचार गरे । पत्र बोकेर पोखरेल आफैँ त्यसबेलाको सीआईबीका प्रमुखलाई भेटेर भने, ‘भेपमा गडबडी भएको र सुन लुकाएर ल्याएको आशङ्का छ ।’

त्यसअघि ब्युरोले अनुसन्धान गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का सहितका आरोपीहरूलाई पक्राउ गरेर सङ्गठित सुन तस्करीको मुद्दा चलाएको थियो । त्यसबेला पक्राउ परेका प्रतिवादीहरू अहिले मुद्दा पुर्पक्षका लागी थुनामा छन् ।

भेप मार्फत सुन तस्करी भएको तीन वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । चैत २६ मा दायर अभियोग पत्र अनुसार विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृतहरू मुक्ति प्रसाद श्रेष्ठ र अम्बिका प्रसाद खनाललाई पनि प्रतिवादी बनाइएको छ । सुटकेशको भेप साटफेर गरेको आशङ्कामा उपसचिव अम्बिका खनालको नेतृत्वको छानबिन समितिले आन्तरिक छानबिन गरेर प्रतिवेदन बुझाएको थियो ।

त्यसमा स्टोरकिपर शाखा अधिकृत रेवन्त खड्का संलग्न रहेको खनाल नेतृत्वको छानबिन समितिको निष्कर्ष थियो । सीआईबीले सोही प्रतिवेदनलाई आधार मानेर नासु खड्कालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।  स्टोरकिपरले आफूखुसी सुटकेश अन्यत्र सारेको र तस्करीको सुन बेचेर ‘लाभ’ लिएको सीआईबीको अनुसन्धानबाट पनि पुष्टि भएको छ ।

सह सचिव अरुण पोखरेल, उपसचिवद्ववय मुक्ति प्रसाद श्रेष्ठ र अम्बिका प्रसाद खनालले चासो नदिएको भए भेप प्रकरण बाहिर आउने थिएन । उनीहरूकै आन्तरिक छानबिन र सूचनाले सो प्रकरणको पटाक्षेप भयो । अहिले उनीहरूनै भ्रष्टाचार मुद्दा खेप्न बाध्य भएका छन्। 

भेप प्रकरणमा भ्रष्टाचार मुद्दा खेप्न बाध्य अधिकारीहरू काठमाडौँ जिल्ला अदालतमा सूचना र प्रतिवेदन दिने साक्षीको हैसियतमा बकपत्र पनि दिँदैछन् । जिल्ला अदालतमा उनीहरुले सरकारको साक्षीको रूपमा बकपत्र दिनुपर्ने छ । तर, त्यही प्रकरणमा उनीहरू आफूविरूद्धको अभियोगको प्रतिवाद गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा पनि जोडिएका थिए । महरा विरुद्धको मुद्दा दायर गर्नुपर्ने दबाबमा अख्तियारले तस्करीको सूचना दिने कर्मचारीहरू सहित २८ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सुन ल्याउने चिनियाँ नागरिकलाई पासपोर्ट फिर्ता दिएर छाडेको भन्दै अख्तियारले भन्सारका कर्मचारी सुन तस्करसँगै मिलेको आरोप लगाएको छ।

के थियो घटना ?

चिनियाँ नागरिक ली हाङ सोङ २०७९ पुस १० मा इलेक्ट्रिक चुरोट ‘भेप’ लिएर अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे । दुई वटा सुटकेशमा ७३० थान भेप देखेपछि भन्सारका कर्मचारीले भेप जफत गरे । व्यवसायिक रूपमा मात्रै ल्याउन मिल्ने सामान झिटीगुण्टाको रूपमा ल्याएको भेटिएपछि विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सो भेप जफत गरेका हुन् । क्रिसमसको दिन सो भेप ल्याइएको थियो । दुबईबाट भेप आएको दिन सहसचिव अरुण पोखरेल भन्सार सङ्गठनको कार्यक्रममा इन्डोनेशियामा थिए।

सामान जफत गरेर सुटकेश उपसचिव मुक्ति प्रसाद श्रेष्ठको कार्यकक्ष नजिकै राखिएको थियो । भन्सारका नासु सरोज श्रेष्ठले सुटकेशमा रहेको भेपको फोटो खिचेका थिए । त्यसपछि २९ माघमा सो भेप गोदाममा पठाइएको थियो । तर, विमानस्थल भन्सारको प्रतिवेदनमा ती सुटकेश यात्रु शाखाको काउन्टरमा रहेको उल्लेख छ।

भन्सार कार्यालयका कर्मचारीहरूका अनुसार सुरुमा भेपमा सुन लुकाएर ल्याएको तथ्य थाहा थिएन् । भेप बरामद भएपछि लिलाम गर्न भनेर मूल्याङ्कन समितिको बैठक बसेको थियो । मूल्याङ्कन समितिले ७ सयका दरले कुल ५ लाख ११ हजार मूल्यांकन गरेको थियो ।

मूल्याङ्कन हुनुअघि नै पूर्व सभामुख कृष्णबहादुर महराले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई भेप चाँडो लिलाम गर्न दबाब दिइरहेका थिए । महरापुत्र रेशम महरा ‘राहुल’ ले अनावश्यक चासो राखेपछि भन्सारका कर्मचारीले त्यसबारे शङ्का गरेका हुन्।

तत्कालीन भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले उनको ‘अस्वाभाविक चासो’बारे शङ्का गरेपछि घटना बाहिरियो । भन्सार प्रमुख पोखरेलले ‘आन्तरिक छानबिन’ पछि घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरे ।

पोखरेलले ब्यूरोमा गरेको घटनाबिवरण कागज अनुसार कृष्णबहादुर महराले उनलाई भेप लिलाम गरिदिन आग्रह गरेका थिए । तर, सुर्तीजन्य पदार्थ भएको हुनाले लिलामी प्रक्रियाबारे ‘कानुनी जटिलता’ देखिएपछि ७ सय ३० थान भेप भन्सारको गोदाममा थन्किएको थियो । तर, त्यसभित्र सुन रहेको सुराक पाएपछि तस्कर समूहसँग मिलेर विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का समेतले भेप चोरेर बेचेको अनुसन्धानबाट थाहा भएको छ।

सुरक्षा गार्डले ‘टेष्ट’ गर्दा

भन्सार कार्यालयका सुरक्षा गार्ड निर्मल बिक भेपको सुट्केश सार्ने काममा संलग्न थिए । एयरपोर्ट टर्मिनलबाट तल ल्याउँदा ओसार्न सहयोग गरेका विकले एउटा भेप निकालेर टेष्ट गरेछन् । घरमा लगेर तान्दा भेपबाट धुवाँ नआएपछि उनले फुटाए । पहेँलो टुक्रा भेटिएपछि कोटेश्वरको सुन पसलमा लगेर देखाए । सो पहेँलो टुक्रा सुन भएको कुरा पसलेले बताएपछि उनले त्यसैलाई सिक्री बनाउन लगाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

विकले सो कुरा भन्सारको सामान किनबेच गर्ने बब्लु गुप्तालाई भेटेर सुनाए । त्यसपछि स्टोर किपर  नायव सुब्बा रेवन्त खड्काले सो कुरा थाहा पाए । अनि खड्काले गुप्ता सहितको समूहसँग मिलेर पुरानो भेप निकालेर नयाँ रिप्लेस गरिदिए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गोदामबाट बाहिरिएको सुन महाराष्ट्रका व्यापारी नन्दुकुमार राण्डुराम मर्गलेले खरिद गरेको अनुसन्धानबाट थाहा भएको छ । नन्दुकुमारले न्यूरोड स्थित वटुमा सुन जाँच्ने अफिस ‘टन्च हाउस’ सञ्चालन गरेका थिए । करिब ६ करोडमा सुन किनबेच भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भेप प्रकरणमा जम्मा १ सय ग्राम सुन प्रहरीले बरामद गरेको थियो।

तस्करीको सुन ‘सेटीङ’मा विमानस्थलबाट पास गराउन मुख्य भूमिका सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत र नायव सुब्बा रेवन्त खड्काको खेलेको भेटिएको छ । दिनेश बस्नेत भन्सार ‘एजेन्ट’ हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप