भ्रष्टाचारको मुद्दामा जोगिन तान्त्रिकको सहारा
सारांश
- अख्तियार प्रमुख प्रेम कुमार राईलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
- भ्रष्टाचारको मुद्दाबाट जोगिन तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले तान्त्रिकको सहारा लिएको अनुसन्धानबाट खुलेको छ।
- प्रहरीले अधिकारी र पाठकविरुद्ध आपराधिक लाभ तथा षड्यन्त्रसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ।
काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठकमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ परेका पाठकले अख्तियार प्रमुखलाई धम्क्याउन नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग ‘सुपारी’ लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको अनियमितताबारे अख्तियारले अनुसन्धान गरेर अभियोगपत्र दायर गर्ने तयारी गरेपछि अधिकारीले पाठकलाई प्रयोग गरेका थिए । मुद्दा सामसुम पार्ने प्रयास असफल भएपछि धम्क्याएर अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा गराउने प्रयास गरेको अनुसन्धानबाट थाहा भएको हो । मंसिर १७ मा पक्राउ परेका महानिर्देशक प्रदीप मंसिर २१ देखि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।
भ्रष्टाचारको मुद्दाबाट जोगिन अधिकारीले तान्त्रिकको पनि प्रयोग गरेको भेटिएको छ । भारतको आसाम राज्यको गुवाहाटीमा रहेको कामाख्या देवी मन्दिरको पुजारी ४३ वर्षीय सराया किन्नेरा (जय जगदम्बे) नाम गरेका तान्त्रिक बाबाको प्रयोग गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ घर भएका नवीनराज बस्नेतले अधिकारीलाई दुःख दिएको भन्दै तान्त्रिकलाई अख्तियार प्रमुख राईको फोटो पठाएर चम्टा (तान्त्रिक विधिबाट हानि नोक्सानी) गरिदिन आग्रह गरेका हुन् । त्यसपछि जय जगदम्बेले अख्तियार प्रमुख राईको प्रतिमा बनाएर तन्त्र मन्त्र गर्दै हतियारले घोचेर आगोमा जलाएको भिडियो अनुसन्धान अधिकृतहरूले भेट्टाएका छन् ।
अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘दुष्ट मानिसले प्रदिप दाइलाई दुःख दिएको भन्दै उनले चम्टा दिन आग्रह गरेको म्यासेज ह्वाट्स एपमा भेटिएको छ ।’ उक्त भिडियो बाबाले प्रदिप अधिकारीलाई पनि पठाएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतले बताए ।
त्यस प्रकरणमा प्रहरीले नवीनराज बस्नेसँग पनि बयान लिएको छ । बयानमा बस्नेतले अधिकारीलाई हानि नोक्सानी नहोस् भनी तान्त्रिक बाबालाई पूजापाठ गर्न लगाएको स्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
अख्तियार प्रमुख राईलाई सिध्याउन भन्दै नेपाल झिकाइएका जय जगदम्बेलाई विमानस्थलमा प्रदीप अधिकारी र नवीनराज बस्नेतले स्वागत गरेका थिए । बस्नेत निर्माण व्यवसायी हुन् । ३ वर्षअघि उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ट्याक्सी–वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । सो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए ।
प्रहरीले पाठकसँगै अधिकारीलाई पनि भीआईपीलाई धम्की दिएको कसुरमा प्रतिवादी बनाउने भएको छ । मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनले भने, ‘आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गत कसुरमा प्रतिवादीहरूलाई सजायका मागदाबी लिएर अनुसन्धान प्रतिवदेन बुझाउँछौँ ।’
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण