बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

भीआईपी धम्क्याउने प्रकाश पाठकसँग प्रदीप अधिकारीको ‘कनेक्सन’

शुक्रबार, ०८ फागुन २०८२, १२ : ०२
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • अख्तियार प्रमुख राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठकलाई प्रहरीले पक्राउ गरेको छ।
  • पाठकले सामाजिक सञ्जालमार्फत धम्की दिएर विभिन्न व्यक्तिबाट २ करोडभन्दा बढी रकम असुलेको पाइएको छ।
  • पाठक र प्रदीप अधिकारीबीचको सम्बन्ध रहेको र पाठकले विभिन्न व्यक्तिलाई धम्क्याएको आरोप छ।

काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाडौँ प्रहरीको हिरासतमा छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो । काभ्रे घर भएका पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए ।

प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

पाठक र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बिचमा ‘कनेक्सन’ देखिएको छ । अधिकारी अहिले भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागी कारागार कार्यालय डिल्लीबजारमा छन् । अख्तियारले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भएको अनियमितातबारे आफुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको सुराक पाएपछि अधिकारीले अख्तियार प्रमुख राईलाई धम्क्याउन पाठकलाई ‘प्रयोग’ गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘यसमा केही रकम लेनदेन भएको देखिन्छ, हामी पुष्टि गर्ने प्रक्रियामा छौँ ।’

प्रहरीसँगका बयानमा पनि पाठकले प्रदीप अधिकारीसँगको सम्पर्कबारे खुलाएका छन् । पाठकको बयान प्रमाणित भइसकेको छैन ।

पाठकले धम्क्याएर सामाखुसी स्थित एक डेन्टल कलेज सञ्चालकसँग पनि ५ लाख नगद लिएको भेटिएको छ । ती कलेज सञ्चालकले प्रहरीमा जाहेरी दिएका छैनन् । अनुसन्धान अधिकृतहरूका अनुसार पाठकले विभिन्न देशमा पुगेर धम्की दिँदै २ करोड भन्दा धेरै रकम असुलेको भेटिएको छ ।

२०८० सालमा मुलुक छाडेर विदेशमा बस्दै आएका पाठक पछिल्लो समय विभिन्न देश घुमेर फिलिपिन्स पुगेका हुन् । २०७७ साल तिर उनले भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने काम गरेका थिए । पछिल्लो समय ‘थर्काएपछि पैसा आउँछ’ भन्ने मनोविज्ञान बनाएर पाठकले सामाजिक सञ्जालबाट धम्क्याउने गरेको भेटिएको छ ।

पाठकको मोबाइल परीक्षणको लागि डिजिटल फरेन्सिक ल्यावमा पठाइएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । उनले भने, ‘विभिन्न कोणबाट उनीबारे अनुसन्धान भइरहेको छ ।’

पाठकविरुद्ध वैदेशिक रोजगार ठगीमा अहिलेपनि दुईवटा मुद्दा चलिरहेको भेटिएको छ । उनले न्युजिल्याण्ड र रसिया पठाउँछु भनेर रकम ठगी गरेको आरोप छ । सुरुमा बिडिएस पढेका पाठकले पछि त्रिभुवन विश्वविद्यायलबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । पाठकले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँलाई पनि ज्यान मार्ने धम्की दिएका थिए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप