बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भीआईपीलाई धम्की प्रकरण

भीआईपी धम्क्याउन प्रदीप अधिकारीसँग २ करोड ‘सुपारी’, फिलिपिन्समा अपार्टमेन्ट

अधिकारीलाई पनि कारागारबाट झिकाएर बयान लिइने
सोमबार, ०२ चैत २०८२, १३ : ५६
सोमबार, ०२ चैत २०८२

सारांश

  • अख्तियार प्रमुखलाई धम्क्याउने प्रकाश पाठकलाई प्रहरीले पक्राउ गरेको छ, उनले प्रदीप अधिकारीसँग 'सुपारी' लिएका थिए।
  • प्रहरीको अनुसन्धान अनुसार, अधिकारीले अख्तियारको मुद्दाबाट बच्न पाठकलाई प्रयोग गरेको र पाठकले २ करोड लिएका थिए।
  • पाठकले सामाजिक सञ्जालमार्फत अन्य भीआईपीलाई धम्की दिएका थिए र उनीविरुद्ध विभिन्न मुद्दाहरू दर्ता भएका छन्।

काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले प्रहरीको हिरासतमा छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ परेका पाठकले अख्तियार प्रमुखलाई धम्क्याउन नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग ‘सुपारी’ लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अनुसन्धान अधिकृतहरूसँगको बयानमा पाठकले प्रदीप अधिकारीसँग रकम लिएको स्वीकार गरेका छन् । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा अनियमितता भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको थियो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि अख्तियारले अनुसन्धान गरिरहेको बेला ती मुद्दाबाट जोगिन अधिकारीले अख्तियार प्रमुख विरुद्ध आपराधिक ‘गिरोह’ परिचालन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अधिकारीसँग आफूले २ करोड नगद लिएको पाठकले बयानमा स्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार पाठकले बयानमा भनेका छन्,‘उहाँबाट मैले २ करोड रुपैयाँ लिएको हुँ ।’

अधिकारीले सो रकम एकजना चिनियाँ ठेकेदार मार्फत हुण्डी गरेर पठाएको अनुसन्धानबाट थाहा भएको छ । सो रकमले आफूले फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको पाठकले स्विकारेका छन् । अनुसन्धान अधिकृतहरूले उनको भनाई पुष्टि गर्ने प्रमाण सङ्कलन गरिरहेका छन् । फिलिपिन्सबाट उनलाई माघ २८ मा नेपाल ल्याइएको हो । उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत अख्तियार प्रमुख सहित १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए ।

प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

पाठकले धम्क्याएर सामाखुस स्थित एक डेन्टल कलेज सञ्चालकसँग पनि ५ लाख नगद लिएको भेटिएको छ । ती कलेज सञ्चालकले तारा प्रसाद खरेलको नाममा रकम पठाएको भेटिएपछि प्रहरीले खरेलबारे पनि अनुसन्धान गरिरहेको छ ।

  • अधिकारी पनि प्रतिवादी बन्दै

भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार गरेको मुद्दामा प्रदीप अधिकारी अहिले पुर्पक्षका लागी कारागार कार्यालय डिल्लीबजारमा थुनामा छन् । प्रहरीले पाठकसँगै उनलाई पनि भीआईपीलाई धम्की दिएको कसुरमा प्रतिवादी बनाउने भएको छ । आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा अधिकारीसँग पनि बयान लिएर प्रतिवादी बनाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘प्रदीप अधिकारीलाई पनि कारागारबाट झिकाएर बयान लिन्छौँ, उहाँ विरुद्ध पनि मुद्दा दायर हुन्छ ।’

अख्तियारले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भएको अनियमितताबारे आफूबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको सुराक पाएपछि अधिकारीले अख्तियार प्रमुख राईलाई धम्क्याउन पाठकलाई ‘प्रयोग’ गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

२०८० सालमा मुलुक छाडेर विदेशमा बस्दै आएका पाठक पछिल्लो समय विभिन्न देश घुमेर फिलिपिन्स पुगेका हुन् । २०७७ साल तिर उनले भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने काम गरेका थिए । पछिल्लो समय ‘थर्काएपछि पैसा आउँछ’ भन्ने मनोविज्ञान बनाएर पाठकले सामाजिक सञ्जालबाट धम्क्याउने गरेको भेटिएको छ ।

पाठकको मोबाइल परीक्षणको लागी डिजिटल फरेन्सिक ल्याबमा पठाइएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । उनले भने, ‘विभिन्न कोणबाट उनीबारे अनुसन्धान भइरहेको छ ।’

पाठक विरुद्ध वैदेशिक रोजगार ठगीमा अहिले पनि दुईवटा मुद्दा चलिरहेको भेटिएको छ । उनले न्युजिल्याण्ड र रसिया पठाउँछु भनेर रकम ठगी गरेको आरोप छ । सुरुमा बीडीएस पढेका पाठकले पछि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई पनि ज्यान मार्ने धम्की दिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप