सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

त्रिवि स्ववियुको वार्षिक प्रतिवेदन सार्वजनिक

शुक्रबार, ११ वैशाख २०८३, ११ : ४४
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालय स्ववियुले शैक्षिक, प्रशासनिक र भौतिक सुधारसहितको वार्षिक प्रतिवेदन २०८१/८२ सार्वजनिक गरेको छ।
  • स्ववियुले तालाबन्दीको विकल्पमा संवाद र सहकार्यको नीति अवलम्बन गर्दै डिजिटल हेल्प डेस्क र २४ घण्टे पुस्तकालय जस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ।
  • क्याम्पसको भौतिक पूर्वाधार स्तरोन्नति र विद्यार्थीको स्वास्थ्य बीमा जस्ता विषयहरूमा प्रतिवेदनले विशेष जोड दिएको छ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि),विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आफ्नो वार्षिक प्रतिवेदन २०८१/८२ सार्वजनिक गरेको छ ।

स्ववियु सचिव हिक्मतकुमार बुढाले तयार पारेको प्रतिवेदनले गत वर्षभरि क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार र विद्यार्थी कल्याणका क्षेत्रमा भएका महत्त्वपूर्ण काम र उपलब्धिहरूको विवरण प्रस्तुत गरिएको छ ।

स्ववियु अध्यक्ष दीपकराज जोशीले प्रतिवेदनमार्फत विद्यार्थी हकहितको संरक्षण, प्रशासनिक उत्तरदायित्व र क्याम्पसलाई विद्यार्थीमैत्री बनाउन स्ववियुले निरन्तर रचनात्मक भूमिका निर्वाह गरेको बताएका छन् ।

‘तालाबन्दी वा तोडफोड जस्ता आन्दोलनको परम्परालाई तोडेर संवाद र सहकार्यको माध्यमबाट समस्या समाधान गर्ने नीति लिएका छौँ’, प्रतिवेदनमा उल्लेख छ । 

शैक्षिक तथा प्रशासनिक सुधार 

विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कार्यान्वयन, परीक्षा नियन्त्रण कार्यालयमा ‘डिजिटल हेल्प डेस्क’ को स्थापना, र शुल्क भुक्तानीमा अनलाइन प्रणालीको सुरुवात गरिएको प्रतिवेदनमा उल्लेख छ । 

साथै, विद्यार्थीहरूको सहजताका लागि पुस्तकालयलाई २४ घण्टा सञ्चालनमा ल्याइएको तथा नीतिगत पहल: स्ववियुको पहलमा त्रिविका विद्यार्थीहरूका लागि प्रादेशिक अस्पतालमार्फत स्वास्थ्य बीमा सुविधा सुचारु गरिएको छ ।

यसका अतिरिक्त, छात्रवृत्ति निर्देशिका संशोधन र विद्यार्थीमैत्री विभिन्न नीतिहरू निर्माणमा जोड दिइएको छ । त्यस्तै भौतिक पूर्वाधारतर्फ क्याम्पस परिसरमा सडक बत्ती जडान, सीसीटीभी क्यामेरा, खेलकुद मैदानको निर्माण तथा छात्रावासको स्तरोन्नति जस्ता कार्यहरू सम्पन्न गरिएको उल्लेख छ । 

क्याम्पसको सौन्दर्यीकरण र व्यवस्थित पार्किङको लागि डीपीआर तयार गरिएको छ भने विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि ‘समर बुटक्याम्प एकेडेमिक प्रोग्राम’ र सेयर बजारसम्बन्धी कार्यशाला लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

स्वास्थ्य शिविर मार्फत विद्यार्थीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था पनि मिलाएको प्रतिवेदनमा उल्लेख छ । बजेट अभाव र प्रशासनिक ढिलासुस्ती जस्ता केही चुनौतीहरू कायमै रहेको उल्लेख गर्दै स्ववियुले आगामी दिनमा पनि विद्यार्थीहरूको भरोसालाई कायम राख्दै थप प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप