आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मैदानमै ढलेका नाइजेरियाली स्ट्राइकरको निधन

शनिबार, १२ वैशाख २०८३, ०६ : ४३
शनिबार, १२ वैशाख २०८३

सारांश

  • नाइजेरियाका पूर्वस्ट्राइकर माइकल एनेरामोको कादुनामा आयोजित मैत्रीपूर्ण खेलका क्रममा मैदानमै ढलेर निधन भएको छ।
  • हृदयघातका कारण उनको निधन भएको आशंका गरिएको नाइजेरियाली फुटबल महासंघले जनाएको छ।
  • ४० वर्षीय एनेरामो आफ्नो शारीरिक शक्ति र गोल गर्ने क्षमताका लागि निकै चर्चित थिए।

कादुना । नाइजेरियाका चर्चित पूर्वस्ट्राइकर माइकल एनेरामोको मैदानमै निधन भएको छ। शुक्रबार कादुनामा आयोजित एक मैत्रीपूर्ण खेलका क्रममा दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै ४० वर्षीय एनेरामो अचानक मैदानमा ढलेका थिए।

उनको मृत्युको कारण हृदयघात भएको आशंका गरिएको नाइजेरियाली फुटबल महासंघले पुष्टि गरेको छ। नाइजेरियाको राष्ट्रिय टोली सुपर ईगल्स बाट १० क्याप जितेका एनेरामो आफ्नो शारीरिक शक्ति र गोल गर्ने अद्भुत क्षमताका लागि चिनिन्थे।

विशेषगरी ट्युनिसियाको क्लब एस्पेरान्समा रहँदा उनको प्रभाव यति बलियो थियो कि समर्थकहरूले उनलाई ‘अल दबाबा’ अर्थात् ‘द ट्याङ्क’ को उपनाम दिएका थिए। ट्युनिसियाले उनलाई आफ्नो देशबाट अन्तर्राष्ट्रिय खेल खेल्न प्रस्ताव गरे पनि उनले आफ्नो मातृभूमि नाइजेरियालाई नै रोजेका थिए। सन् २००९ मा जमैकाविरुद्धको खेलबाट डेब्यु गरेका उनले सन् २०१० को विश्वकप छनोटमा ट्युनिसियाविरुद्ध गरेको निर्णायक गोल नाइजेरियालाई विश्वकपको यात्रा तय गराउन कोसेढुङ्गा सावित भएको थियो।

एनेरामोको असामयिक निधनले नाइजेरियाली फुटबल परिवार स्तब्ध बनेको छ। महासंघका महासचिव डा. मोहम्मद सनुसीले फुटबल जगतले एउटा दृढ र साहसी खेलाडी गुमाएको बताएका छन्। एस्पेरान्स क्लबले पनि सामाजिक सञ्जालमार्फत उनी शक्ति र सङ्कल्पको प्रतीक रहेको भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

पछिल्लो समय अफ्रिकी फुटबल खेलाडीहरू मैदानमै हृदयघातको शिकार हुने क्रम बढ्दो देखिएको छ। यसअघि क्यामरुनका मार्क-भिभियन फो, आइभोरी कोस्टका चेक टियोटे र घानाका राफायल ड्वामेना जस्ता हस्तीहरूले पनि मैदानमै ज्यान गुमाएका थिए।

फिफाको एक अनुसन्धानले अफ्रिकी खेलाडीहरूमा खेलका दौरान हृदयघातको जोखिम बढी हुन सक्ने देखाएको छ। यही जोखिमलाई मध्यनजर गर्दै पूर्व फुटबलर डिडियर ड्रोग्बाहरूले व्यावसायिक खेलाडीहरूको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग उठाउँदै आएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप