शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

‘जवान २’ को तयारी पूरा : दक्षिण भारतीय सुपरस्टारलाई भिलेन बनाउने दाउ

शनिबार, १२ वैशाख २०८३, ११ : ४८
शनिबार, १२ वैशाख २०८३

सारांश

  • शाहरुख खानले आफ्नो ब्लकबस्टर फिल्म 'जवान' को दोस्रो शृङ्खला 'जवान २' को स्क्रिप्ट लेखन कार्य पूरा गरेका छन्।
  • निर्माण पक्षले यसपटक पनि फिल्ममा भिलेनको भूमिकाका लागि कुनै ठुलो दक्षिण भारतीय सुपरस्टारलाई अनुबन्ध गर्ने योजना बनाएको छ।
  • निर्देशक एट्लीको निर्देशनमा बन्न लागेको यस बहुप्रतिक्षित फिल्मको छायाङ्कन सन् २०२७ बाट सुरु हुने भएको छ।

मुम्बई । बलिउडका बादशाह शाहरुख खानले आफ्नो ब्लकबस्टर फिल्म ‘जवान’ को दोस्रो शृङ्खला ‘जवान २’ को काम सुरु गर्ने तयारी गरेका छन्।  फिल्म ‘किंग’ को सुटिङ सकिए लगत्तै उनी यस प्रोजेक्टमा होमिनेछन् । पछिल्लो केही महिनादेखि गोप्य रूपमा लेखिइरहेको फिल्मको स्क्रिप्टले अहिले अन्तिम रूप पाइसकेको छ।

स्क्रिप्ट तयार, अब भिलेनको खोजी

‘जवान’ को पहिलो भागमा विजय सेतुपतिले निभाएको शक्तिशाली भिलेनको भूमिकालाई दर्शकले निकै रुचाएका थिए । त्यसैले निर्माण पक्ष यसपटक पनि कुनै ठुलो दक्षिण भारतीय सुपरस्टारलाई नै भिलेनका रूपमा उभ्याउने योजनामा छ। 

स्क्रिप्टको मागअनुसार फिल्मको कास्टिङलाई लिएर चाँडै नै ठुला खुलासाहरू हुने सम्भावना छ। शाहरुख खान र निर्देशक एट्लीको यो जोडीले जवान २ लाई पहिलेभन्दा अझ भव्य बनाउने लक्ष्य राखेका छन्।

निर्देशक एट्लीले ‘जवान’ मार्फत हिन्दी सिनेमामा आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनकै निर्देशनमा बन्न लागेको यस सीक्वलको सुटिङ आगामी वर्ष अर्थात् २०२७ बाट सुरु हुने बताइएको छ। 

११ सय करोडको विरासत

सन् २०२३ मा रिलिज भएको ‘जवान’ ले बक्स अफिसमा विश्वभर ११ सय करोड रुपैयाँभन्दा बढीको कलेक्सन गरेर इतिहास रचेको थियो। भारतको सबैभन्दा धेरै कमाउने फिल्ममध्येको एक ‘जवान’ मा नयनतारा र विजय सेतुपति प्रमुख भूमिकामा थिए भने दीपिका पादुकोणको विशेष भूमिका रहेको थियो। 

फिल्मको एक्सन र सङ्गीतले देशभरका हलहरूमा तहल्का मच्चाएको थियो। अहिले ‘जवान २’ को खबरले शाहरुखका फ्यानहरूमा उत्साहको नयाँ लहर छाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप