बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बस्ती खाली गराइएको ठाउँको संरक्षणका लागि निकायगत समन्वय गर्न निर्देशन

सोमबार, १४ वैशाख २०८३, ११ : ४४
सोमबार, १४ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले थापाथलीस्थित बागमती नदी किनारमा खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि तारबार लगाउन निर्देशन दिएकी छन् ।
  • अव्यवस्थित बस्ती हटाएर खाली गराइएका स्थानहरूको सुरक्षा र संरक्षणका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न निर्देशन दिइएको छ ।
  • अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २०७९ सालको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमबासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् । थापाथलीस्थित बागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई साे निर्देशन दिएकी दिएकी हुन् ।

अहिले र यसपछि खाली गराइने ठाउँहरूको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न उनले निर्देशन दिएकी छन् । 

आइतबार कार्यवाहक प्रमुख डङ्गोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको पनि निरीक्षण गरेकी थिइन् । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरूमा राख्ने योजना छ । 

नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका बस्ती खाली गराउने क्रममा बागमती नदी खण्डको थापाथली क्षेत्रको बस्ती वैशाख १२ गते खाली गराइ सकिएको छ । यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत बस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन बिहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो । 

यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले आफैँ घर टहरा खाली गराएका थिए । यसरी आफैँ घर टहरा खाली गराउने क्रम शनिबार बिहानसम्म पनि जारी थियो । यो अवस्था देखेपछि स्थानीय प्रशासनले बिहान ६ बजेदेखि घर टहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरेको थियो । करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो । 

वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हिरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घर टहरा थिए । यसमध्ये थापाथलीतर्फका १३६ घर टहरा भत्काइएका छन् ।

यस ठाउँबाट सरेर अन्यत्र जानेहरूलाई महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरेर घरबाट बाहिर सामान निकाल्न र बाहिर निकालिएका सामान उनीहरुले भनेका ठाउँमा ओसार्न सहयोग गरेको थियो । यो प्रसूति गृह पछाडितर्फको भाग हो । वंशीघाट विश्व निकेतन विद्यालय पछाडि पर्छ । यहाँ १९६ घर टहरा छन् । 

बागमती नदी खण्डको सिनामंगलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्ती अन्तर्गत वडा नं. ९ तर्फ १६२ घरधुरी र वडा नं. ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घर टहरा थिए । यीमध्ये वैशाख १२ गते वडा नं. ९ तर्फका घर टहरा खाली गराइयो ।

वडा नं. ३१ तर्फ साे दिन राती ९ बजेसम्म भत्काउँदा केही भागको मात्र काम सकिएको थियो । १३ गते बिहान मनोहरा क्षेत्रमा जनशक्ति, स्रोत साधन केन्द्रित गरिएको थियो ।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मनोहरा क्षेत्रका अव्यवस्थित बस्ती भत्काउने क्रमसँग मध्यान्नबाट स्रोत साधन बाँडेर दिउँसो १ बजेदेखि वडा नं. ३१ जागृति नगरका घर टहरा भत्काउन थालिएको थियो । 

आज जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ । उपत्यका विकास प्राधिकरणका अनुसार महानगरपालिकाको वडा नं. १५ को स्वयम्भू वन परिक्रमा मार्गको नमुना टोलमा ४६ घरधुरी सार्वजनिक तथा पर्ती जग्गामा छन् ।

वडा नं.१६ को जागृति मार्गमा १२३ घरधुरी र वुद्धज्योतीमा ७६ घरधुरी छन् । महानगरपालिकाको चमती विकास आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार वनस्थलीबाट परिक्रमा मार्ग प्रवेश गर्दा गर्दै ५ घर सकुम्बासी बस्तीका रूपमा रहेको छ । 

प्राधिकरणको तथ्याङ्क अनुसार वडा नं.३२ को जडीबुटी मिलन चोकमा ११४ घरधुरी, वडा नं. १४ को जागरण मार्गमा ४०१ घरधुरी, वडा नं.वडा नं. २९ अनामनगरमा २३ घरधुरी छन् । वडा नं. १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार केसीका अनुसार यस वडाको देवीनगर, विनायक नगर र शंखमुल गरी ३ ठाउँमा करिब २ सय ३० परिवार छन् ।

उनका अनुसार नदीको किनारामा सडक छ । सडकपछि बस्ती छ ।  वडा नं.६ का सदस्य नरेन्द्रकुमार थापाका अनुसार वडा भित्रको रामहिटीमा १४८ घरधुरी, सुबिगाउँमा ४२, रेम्बोडाँडामा ९ घर, शान्तिनगरमा १४ घर, चुच्चेपाटीमा २२ घर र कुमारीगालमा ११ घर टहरा छन् ।  

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।

समितिको प्रतिवेदनले, काठमाडौँ महानगरभित्र २ हजार २४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबास रहेको देखाएको छ । 

तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौँ उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबास रहेको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप