शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय नृत्य दिवस

स्टार कलाकार नै नृत्यलाई महत्त्व दिँदैनन्

बुधबार, १६ वैशाख २०८३

काठमाडौँ । नेपाली चलचित्र उद्योगका सफल र चर्चित कोरियोग्राफर हुन्,  कविराज गहतराज । दुई दशकभन्दा बढी समयदेखि फिल्म तथा फुटकर गीतहरूमा नृत्य निर्देशन गर्दै आएका उनले ३०० भन्दा बढी चलचित्र र सयौँ म्युजिक भिडियोहरूमा कोरियोग्राफी गरिसकेका छन् । 

चलचित्र ‘इतिहास’बाट व्यावसायिक यात्रा सुरु गरेका उनले ‘कुटुमा कुटु’, ‘पूर्व पश्चिम रेल’, ‘सिम्पल सिम्पल कान्छी’, ‘रुपै मोहनी’ जस्ता ब्लकबस्टर गीतहरू मार्फत नेपाली नृत्यलाई नयाँ उचाइ दिएका छन् । ३०० भन्दा बढी चलचित्रमा नृत्य निर्देशन गरेका कारणले ‘वर्ल्ड बुक अफ रेकडर्स’ लन्डन’बाट समेत सम्मानित उनी विशेष गरेर नेपाली लोक र आधुनिक नृत्यलाई फ्युजन गराएर पर्दामा उतार्न माहिर मानिन्छन् । आज अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसर पारेर  कबिराज गहतराजसँग गरिएको कुराकानीको सम्पादित अंश ।

  • नृत्य भनेको के हो र यो किन गरिन्छ ?

संगीतका धुनहरू अनुसार शरीरका अङ्गहरूलाई परिचालन गर्नु नै नृत्य हो । तर अहिलेको समयमा नृत्य संगीतमा मात्र सीमित छैन । संगीत बिना पनि आफ्ना भावनाहरू र फिललाई अङ्गचालनमार्फत व्यक्त गर्नु नृत्य हो । मानिसले खुसी हुँदा, दुखी हुँदा वा एक्सरसाइजका लागि पनि नृत्य गर्छ । खासमा जीवनमा आइरहने उतारचढाव र संघर्षका भावहरूलाई प्रस्तुत गर्न नृत्य गर्ने गरिन्छ ।

  • तपाईंको नृत्य यात्रा कहिले र कसरी सुरु भयो ?

मेरो नृत्य यात्रा स्कुलदेखि नै सुरु भएको हो । स्कुलपछि मैले डान्स तालिम केन्द्रहरूमा गएर सिकेँ । नृत्यमा म पहिल्यैदेखि सक्रिय थिएँ तर चलचित्रको क्षेत्रमा भने २२, २३ वर्ष अगाडि ‘इतिहास’ फिल्मबाट सुरु गरेको हो । 

WhatsApp Image 2026-04-28 at 19.35.03

  • अहिलेसम्म कतिवटा फिल्म र म्युजिक भिडियोमा नृत्य निर्देशन गरिसक्नुभयो ?

फिल्म बाहेकका गीतहरूको कुरा गर्दा लगभग ५ देखि ७ सय वटा होला । तर फिल्ममा भने ३०० भन्दा बढीमा नृत्य निर्देशन गरिसकेको छु । यसैका आधारमा गत वर्ष मलाई ‘वर्ल्ड बुक अफ रेकडर्स लन्डन’ले सम्मान पनि गरेको थियो । 

  • नृत्य क्षेत्रमा लाग्दा सुरुवाती दिनमा कस्ता चुनौतीहरूको सामना गर्नुभयो ?

म ‘मोडन बेस’ नृत्य रुचाउने मान्छे परेँ, तर त्यतिबेला फिल्महरूमा कल्चर डान्स (सांस्कृतिक नृत्य) लाई बढी प्राथमिकता दिइन्थ्यो । पछि मैले कल्चर र मोडनलाई मिक्स गरेर नयाँ शैलीमा काम गर्न थालेँ, जसले मलाई सजिलो बनायो । अहिलेको चुनौती भनेको चाहिँ अघिल्लो कामभन्दा पछिल्लो कामलाई कसरी अझ राम्रो र उत्कृष्ट बनाउने भन्ने नै हो ।

  • तपाईंको सबैभन्दा मनपर्ने नृत्यको विधा कुन हो ?

मेरो ‘स्पेसल’ विधा मोडन हो । तर फिल्ममा काम गर्दा रोमान्टिक, लोक, मोडन र स्याड सङहरूमा पनि उत्तिकै काम गरेको छु । व्यावसायिक रूपमा ‘कुटुमा कुटु’ जस्ता लोक–मोडन फ्युजन भएका गीतहरू बढी सफल छन् । मलाई चाहिँ लोक र मोडन मिक्स गरिएको ‘फ्युजन’ शैली नै बढी मनपर्छ ।

  • नेपाली समाजले नृत्य क्षेत्रलाई कसरी हेर्छ, के यसमा भविष्य छ ?

समाजले नृत्यलाई हेर्ने दृष्टिकोण सकारात्मक त छ, तर भविष्यको हिसाबले अझै पनि अन्योल छ । अभिभावकहरू आफ्ना छोराछोरीले नाचेकोमा खुसी त हुनुहुन्छ । तर पेसा नै बनाउँछु भन्दा अझै पनि डाक्टर वा इन्जिनियर नै बन्न दबाब दिने चलन छ । नेपालमा नृत्यका लागि उचित प्लेटफर्मको अलि कमी छ, जसका कारण यसलाई पूर्ण व्यावसायिक बनाउन अझै संघर्ष गर्नुपर्छ  ।

  • चलचित्रकर्मी र कलाकारहरू नृत्यलाई कत्तिको महत्त्व दिएको पाउनुहुन्छ ?

इमानदार भएर भन्नुपर्दा, नेपाली कलाकारहरूले नृत्यलाई जति महत्त्व दिनुपर्ने हो त्यति दिएको जस्तो मलाई लाग्दैन । बाहिरका देशहरूमा कलाकारहरू फुर्सदको समयमा डान्स सिकिरहेका हुन्छन्, तर यहाँ म चलिहालेको छु, नाचे पनि ननाचे पनि हुन्छ भन्ने सोच देखिन्छ । कतिपय कलाकार त रिहर्सलमा पनि आउनुहुन्न र स्पटमा आएर सजिलो स्टेप खोज्नुहुन्छ । यसले गर्दा नृत्यमा जुन गहिराइ र ‘नेचुरल्नेस’ आउनुपर्ने हो, त्यो आउन सकिरहेको छैन । हाम्रा स्टार कलाकार समेत नृत्यलाई महत्त्व दिँदैनन् ।

  • तपाईं नृत्य निर्देशन गर्दा संगीत, शब्द वा अन्य कुन पक्षमा ध्यान दिनुहुन्छ ?

फिल्मका लागि त स्क्रिप्ट र सिचुएसन (अवस्था) सबैभन्दा महत्त्वपूर्ण हुन्छ । गीत कुन परिस्थितिमा बज्दैछ भन्ने बुझ्नुपर्छ । यदि ड्रिम सिक्वेन्स हो भने हामीलाई धेरै स्वतन्त्रता हुन्छ, जहाँ हामी आफ्नो स्टाइल र लोकेसन अनुसार नृत्यलाई भव्य बनाउन सक्छौँ ।

  • हाम्रो मौलिक नृत्यले फिल्ममा त्यति प्राथमिकता पाएको देख्न सकिन्न । त्यसलाई समेट्न कत्तिको सहज छ ?

मौलिक नृत्यलाई फिल्ममा समेट्न अलि गाह्रो छ । हाम्रा मौलिक नाचहरू धेरै लामा हुन्छन् । तर फिल्ममा गीत जम्मा ४–५ मिनेटको हुन्छ। समय र बजेटको अभावले गर्दा पनि मौलिकपनलाई पूर्ण रूपमा उतार्न सकिँदैन । तैपनि अहिले धेरै फिल्महरूमा यसलाई समेट्ने प्रयास भइरहेको छन् ।

WhatsApp Image 2026-04-28 at 19.34.59

  • पछिल्लो समयका टिकटक र रिल्सको ट्रेन्डले नृत्यलाई कस्तो प्रभाव पारेको छ ?

पछिल्लो समय विकास भएका टिकटक र रिल्स लगायत प्लेटफर्मले नृत्यलाई प्रमोट नै गरेको छ । लुकेका प्रतिभाहरू बाहिर आउने एउटा राम्रो प्लेटफर्म बनेको छ । धेरैले यसलाई व्यापारको रूपमा पनि प्रयोग गरेका छन् । संगीत र नृत्य बिना रिल्स वा टिकटक बन्दैन, त्यसैले यसले नृत्य क्षेत्रलाई सकारात्मक प्रभाव नै पारेको छ । यो राम्रो लाग्छ ।

  • नृत्य चोरी वा कपी भएको आरोपहरू पनि बेलाबेलामा बाहिर आउँछ । यसमा तपाईंको धारणा के छ ?

पहिलेको समयमा अहिलेका डिजिटल प्लेटफर्म थिएन, त्यसैले बाहिरका केही राम्रा कुराहरू ‘कपी’ गरेर यहाँ देखाउने चलन थियो । तर अहिले त्यस्तो गरियो भने सबै कुरा खुला छ । कपी गर्नु नै छ भने पनि अक्कल लगाएर प्रेरणा लिनु राम्रो हो, जसलाई हामीले यहाँको परिवेश अनुसार ढाल्न सकौँ । संसारभरि नै एउटाबाट अर्को प्रभावित हुने चलन छ, तर त्यसलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

  • नृत्य क्षेत्रमा राज्यको स्तरबाट केही पहलकदमी आवश्यक छ कि ?

राज्यको क्षेत्रबाट हैन राम्रो पहल हुनु राम्रो हो । अलिअलि गर्न खोजेको हो । नृत्यका लागि हाम्रो राष्ट्रिय नाचघर छ । राष्ट्रिय नाचघरबाट नेपाली कल्चरल नृत्यका कार्यक्रमहरू भइरहेका छन् । विदेशतिर प्रोग्रामहरू भइरहेको छ । यस मार्फत कल्चर एक्सचेन्जहरूको प्रोग्रामहरू भइरहेको हुन्छ । तर त्यो चाहिँ अब व्यापक रूपमा नभएको हो कि जस्तो फिल हुन्छ । जसरी बाहिर देखिदा र चर्चामा आउँदा फिल्मको बढी देखिन्छ । राज्यले त त्यही हो हाम्रो नृत्यमा मात्र हैन धेरै धेरै चिजमा गर्न बाँकी छ। अलिकति पहल पहल गरिदिए हुन्थ्यो ।

WhatsApp Image 2026-04-28 at 19.35.01 (1)

  • नृत्यमा आर्थिक पाटो चाहिँ कस्तो छ ?

राम्रो गर्ने र आफ्नो पोजिसन बनाउनेलाई राम्रो छ । म्युजिक भिडियोदेखि फिल्म क्षेत्रका कोरियोग्राफरहरूका लागि राम्रै छ। तर डान्सरहरूको लागि चाहिँ अलिकति नपुगेको हो कि भन्ने जस्तो फिल भइरहेको छ । फेरि डान्सरहरूको पनि म्युजिक भिडियोमा नराम्रो त हैन त्यत्तिको त राम्रै हो । तर पनि अझ जति दुःख अनुसारले चाहिँ नपुगेको हो कि भन्ने फिल चाहिँ हुन्छ ।

  • नृत्यमा आउन चाहने नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ ?

नृत्यको विधा बिस्तारै राम्रो र व्यावसायिक हुँदै छ । यदि तपाईं यसमा लाग्न चाहनुहुन्छ भने मनैदेखि लाग्नुस्। सिकेर यसमैमा करियर बनाउनु भनेर आउनुहोस् । भविष्य राम्रो छ ।

  • आज नृत्य दिवसको उपलक्ष्यमा के सन्देश दिन चाहनुहुन्छ ?

नृत्यलाई शरीर हल्लाउने माध्यमका रूपमा मात्र नलिनुहोला । यो एउटा ‘फिल’ हो, एउटा कथा भन्ने माध्यम हो । नृत्यले धेरै कुरा सिकाउँछ । यसलाई सम्मान गरौँ र आत्मसात् गरौँ भन्न चाहन्छु । सबैलाई नृत्य दिवसको शुभकामना !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया