शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

छौपडी प्रथाविरुद्धको कथामा आधारित चलचित्र ‘हली’ को टिजर सार्वजनिक

शुक्रबार, ०५ असार २०८३, १५ : ५७
शुक्रबार, ०५ असार २०८३

सारांश

  • आगामी साउन २२ गतेदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को आधिकारिक टिजर सार्वजनिक भएको छ ।
  • सार्वजनिक गरिएको १ मिनेट २८ सेकेन्ड लामो टिजरमा नेपाली समाजमा अझै पनि जड गाडेर बसेको कुप्रथा अर्थात् छौपडी प्रथा विरुद्धको सामाजिक कथावस्तुलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।
  • यस चलचित्रमा निर्देशक आफैँ मुख्य भूमिकामा देखिएका छन् भने वरिष्ठ कलाकार सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ ।

काठमाडौँ । आगामी साउन २२ गतेदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को आधिकारिक टिजर सार्वजनिक भएको छ । 

सार्वजनिक गरिएको १ मिनेट २८ सेकेन्ड लामो टिजरमा नेपाली समाजमा अझै पनि जड गाडेर बसेको कुप्रथा अर्थात् छौपडी प्रथा विरुद्धको सामाजिक कथावस्तुलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।

टिजरमा घरकी छोरी महिनावारी हुँदा छौगोठमा राखिएको दर्दनाक दृश्य देखाइएको छ । एक बालिकालाई गोठमा राखेपछि परिवार र आफ्नै बुबाको समेत मुख हेर्नु हुँदैन भन्ने अन्धविश्वास र त्यसले निम्त्याउने पीडालाई टिजरमा समेटिएको छ । समाजमा व्याप्त यही कुप्रथा र अन्यायका विरुद्ध एक शिक्षित युवाले आवाज उठाउँदै सिङ्गो समाजलाई नै अदालतमा मुद्दा हालेको सङ्घर्षपूर्ण कथा यस चलचित्रमा हेर्न पाइने छ ।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा निर्देशक आफैँ मुख्य भूमिकामा देखिएका छन् । चलचित्रमा ओम प्रतीकका अलावा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ ।

झापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको यस चलचित्रमा व्यवसायीद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले लगानी गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा अर्जुन भुसाल रहेका छन् । राहुल राईको छायाङ्कन रहेको यस चलचित्रलाई रामप्रसाद चौधरीले सम्पादन गरेका हुन् । 

चलचित्रका गीतहरूमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको उत्कृष्ट सङ्गीत सुन्न पाइने छ । यस चलचित्रको नेपालभरको वितरणको जिम्मा नेसनल सिने ग्रुप प्रालिले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप