शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

‘कमेडी नाइट विथ च्याम्पियन्स’ को दोस्रो सिजन सुरु

बिहीबार, १७ वैशाख २०८३, २० : ०४
बिहीबार, १७ वैशाख २०८३

काठमाडौँ । हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को दोस्रो सिजन सुरु भएको छ । निर्माण टिमले दोस्रो सिजन औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो ।

दर्शकको अत्यधिक माग र निरन्तर मनोरञ्जनको आवश्यकतालाई ध्यानमा राख्दै शोलाई कुनै ब्रेक बिना निरन्तरता दिइएको निर्देशक तथा कार्यक्रम सञ्चालक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन सुरु गरिएको हो ।

‘हामीले पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन ल्याएका छौँ । ५४ औँ एपिसोड लाई नै हामीले च्याप्टर–२ भनेर घोषणा गरेका हौँ’ निर्देशक भण्डारीले भने, ‘दर्शककै मागअनुसार निरन्तर मनोरञ्जन दिने उद्देश्यले हामीले दोस्रो सिजन प्रसारणलाई निरन्तरता दिएका हौँ ।’ 

कार्यक्रममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, सिनेमा निर्माता तथा गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवाली र गायिका ऋतिका श्रेष्ठ अतिथि बनेका छन् ।

शोमा पुरानै हास्य कलाकार पवन भट्टराई, प्रभात लामा, कर्मासिंह लामा, भरतमणि पौडेल, कैलाश कार्की र सुमन कोइरालाले प्रस्तुति रहनेछ ।

यसपटक कलाकार टिमबाट सन्तोष थापा बाहिरिएका छन् । थापाको स्थानमा अब कर्मा लामा नियमित रूपमा प्रस्तुति दिने भएका छन् । यसअघि उनी सानो साइड रोलमा मात्र देखिन्थे। सुदन–सुशीला र चक्रे–मिलन जस्ता पात्रमार्फत चर्चा कमाएपछि विशालले कर्मा लामालाई नियमित परफर्मरका रूपमा सम्झौता गरेका हुन् ।

शोको स्क्रिप्ट लेखनमा पनि कर्मासँगै निश्चल अर्याल र प्रतीक अधिकारी छन् । कार्यक्रममा सेट डिजाइनमा समेत परिवर्तन गरिएको छ । पुरानो सेटलाई नयाँ रंगरोगन र फूलहरूले सजाएर अझ आकर्षक बनाइएको छ।

दीपाश्री निरौला अध्यक्ष रहेको उक्त सो थ्री प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो । शो साताको प्रत्येक मंगलबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुनुका साथै र ओएसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप