यस्तो छ मधेसी दलबिच हुने एकताको खाका, अध्यक्षका लागि तोकियाे योग्यताक्रम
सारांश
- संघीय लोकतान्त्रिक मोर्चामा पार्टी एकीकरणको खाका प्रस्तुत गरिएको छ, जसमा एक जना संरक्षक, एकजना अध्यक्ष र कार्यकारी समिति रहने व्यवस्था छ।
- एकीकृत पार्टीको अध्यक्षका लागि स्नातकोत्तर, १० वर्षको राष्ट्रिय राजनीतिमा अनुभव, ३५-५० वर्षको उमेर, र स्वच्छ सामाजिक छविको योग्यता तोकिएको छ।
- पार्टी सञ्चालनका लागि पहिलो ६ महिना कार्यकारिणी सदस्यबाट ५० हजार र केन्द्रीय सदस्यबाट १० हजार सहयोग लिइने तथा दीर्घकालीन व्यवस्थापनका लागि व्यवसाय सञ्चालन गरिने खाका छ।
काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चामा ‘पार्टी एकीकरण खाका’ प्रस्तुत गरिएको छ । जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा सो खाका प्रस्तुत गरिएको हो ।
खाका अनुसार एकीकृत पार्टीमा एक जना संरक्षक, एकजना अध्यक्ष, त्यसपछि मार्गदर्शक मण्डल र केन्द्रीय कार्यकारिणी समिति रहने छ । पार्टीको सबभन्दा शक्तिशाली समिति कार्यकारिणी समिति रहने छ, जसलाई निर्णायक समिति भनिएको छ ।
मार्गदर्शक मण्डल संयोजक संरक्षक रहने व्यवस्था गरिएको छ । मार्गदर्शक मण्डलमा पार्टीका हालका अध्यक्षहरु, वरिष्ठ नेतागण रहने छन् भने पार्टी अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको रातोपाटीलाई प्राप्त खाकामा उल्लेख छ ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको चयन महाधिवेशनबाट हुनेछ । यो समितिले नै पार्टीको अध्यक्ष चयन गर्नुको साथै १५१ सदस्य केन्द्रीय समितिको मनोनय समेत गर्नेछ । महाधिवेशनअघि मार्गदर्शक मण्डलले अध्यक्ष मनोनयन गर्ने खाकामा उल्लेख छ ।
अध्यक्षको योग्याता
–कुनै पनि विषयमा स्नातकोत्तर गरेको व्यक्ति हुनुपर्ने ।
–राष्ट्रिय राजनीतिमा कम्तीमा १० वर्षको काम गरेको हुनुपर्ने
–३५ वर्षदेखि ५० वर्ष उमेर समुहका हुनुपर्ने ।
–सरकारी/गैरसरकारी वा नेपाल सरकारको कुनैपनि लाभको पदमा काम नगरेको हुनुपर्ने ।
–सामाजिक र सांस्कृतिक पक्ष स्वच्छ र सफा भएको हुनुपर्ने ।
–अधिकार, पहिचान, समानताप्रति प्रतिबद्ध भएको व्यक्ति हुनुपर्ने ।
–सामुहिक नेतृत्वप्रणाली आत्मसात गर्ने हुनुपर्ने ।
–असल संगठक, कुशल व्यवस्थापक भएको हुनुपर्ने ।
–लागुपदार्थ, मादकपदार्थ लगायतको सेवन नगर्ने व्यक्ति हुनुपर्ने ।
–अहंकार नभएको, लोकप्रियतावादबाट मुक्त भएको हुनुपर्ने ।
–अध्यक्ष रहुन्जेल कुनै पनि लाभको पदमा नजाने हुनुपर्ने ।
पार्टीको अध्यक्षले मार्गदर्शक मण्डल र पदाधिकारीको परामर्शमा बैठकको एजेन्डा तय गरी, बैठक बोलाउने खाकामा उल्लेख छ । बैठकमा कार्यकारिणी समितिले गरेको निर्णय प्रमाणीकरण गर्ने र निर्णय कार्यान्वयनमा अध्यक्षले भुमिका खेल्ने उल्लेख छ । त्यसैगरि, मार्गदर्शक मण्डलसँग परामर्श गरि कार्यकारिणी समिती सदस्य मध्येबाट पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।
आर्थिक व्यवस्थापन
पार्टी गठन भएको पहिलो ६ महिनासम्मको गतिविधि र पार्टी सञ्चालन खर्चका लागि प्रत्येक कार्यकारिणी सदस्यबाट प्रतिव्यक्ति ५० हजारका दरले र केन्द्रीय सदस्यहरुबाट १० हजारका दरले सहयोग लिइने बैठकमा खाका प्रस्तुत गरिएको छ ।
दीर्घकालीन आर्थिक व्यवस्थापनको लागि पार्टीले व्यवसाय सञ्चालन गर्ने भनिएको । सो व्यवसायीमा हरेक केन्द्रीय सदस्य संलग्न हुुनुपर्ने छ । व्यवसाय संचालन पश्चात् केन्द्रीय सदस्यले गरेको लगानीको अनुपातमा मासिक आम्दानी वितरण गरिने प्रस्तुत खाकामा उल्लेख छ ।
यस्तो आर्थिक व्यवस्थापन सबै तहको लागि तय गरिने भनिएको छ । त्यसका साथै पार्टीका सबै सदस्यहरु पार्टीको निगरानीमा हुने व्यवसायमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने उल्लेख गरिएको छ । केन्द्रीय समिति गठन भएदेखि सबै सदस्यहरुले पार्टी संचालनको निम्ति लेभी तिर्नुपर्ने प्रस्ताव गरिएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा सो खाकामाथि समान्य छलफल भएको छ । बैठकले सो खाका अध्ययन गर्न दलका नेताहरुलाई भनिसकेको छ । अर्को बैठकमा विस्तृत छलफल हुने बताइएको छ ।
मोर्चामा जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी रहेका छन् । यसअघि लोसपा र जसपा नेपालबिच एकता घोषणा भइसकेको छ । त्यसमा जनता प्रगतिशिल पार्टी सहभागी भएको छ । तमलोपामा पनि सहभागी भएको थियो तर पछि एकता प्रकृयामा सहभागी नहुने भनि विज्ञप्तिमार्फत जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण