ला लिगा
भिनिसियसको दुई गोलमा रियल मड्रिड विजयी, बार्सिलोनालाई उपाधिका लागि थप प्रतीक्षा
सोमबार, २१ वैशाख २०८३, ०३ : ३९
सारांश
- रियल मड्रिडले स्पेनिस ला लिगामा एस्पान्योललाई २-० गोलले पराजित गरेको छ ।
- भिनिसियस जुनियरले खेलको ५५औँ र ६६औँ मिनेटमा दुई गोल गरे ।
- यो जितले बार्सिलोनाको उपाधि जित्ने प्रतीक्षालाई लम्बाएको छ ।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आज (सोमबार) भएको खेलमा रियल मड्रिडले एस्पान्योललाई पराजित गरेको छ । भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल मड्रिडले एस्पान्योललाई २–० गोल अन्तरले हराएको हो ।
यो जितसँगै रियल मड्रिडले बार्सिलोनाको उपाधि जित्ने प्रतीक्षालाई लम्ब्याइदिएको छ । यदि आजको खेलमा रियल मड्रिडले एस्पान्योललाई पराजित गर्न नसकेको भए, बार्सिलोना औपचारिक रूपमा च्याम्पियन घोषित हुने थियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भिनिसियस चम्किए । उनले खेलको ५५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको ११ मिनेटपछि, खेलको ६६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गरे ।
अब बार्सिलोनाले उपाधि जित्नका लागि मे १० मा घरेलु मैदानमा हुने रियल मड्रिडविरुद्धकै खेलमा हार टार्नुपर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण