आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
क्रिकेट

आसिफ शतकबाट चुक्दा ओमानसामु २ सय ५७ रनको लक्ष्य

आरिफको उत्कृष्ट केमियो
मङ्गलबार, २२ वैशाख २०८३, १२ : ५७
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा २५६ रन बनाएको छ ।
  • आसिफ शेख ९४ रनमा शतक बनाउनबाट चुके भने अर्जुन कुमालले ४८ रनको योगदान दिए ।
  • ओमानका नदीम खानले ३ तथा हसन साह र सकिल अहमदले २-२ विकेट लिएका छन् ।

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालले ओमानसामु जितका लागि २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा २ सय ५६ रन बनाएको हो ।

नेपालको सुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरमा नै विनोद भण्डारी खाता नै नखोली पभेलियन फर्किएका थिए ।

त्यसपछि अर्जुन कुमाल र आसिफ शेखले शतकीय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । शेख शतक बनाउनबाट मात्र ६ रनले चुके । उनले ९७ बलमा ७ चौका र ५ छक्काको मद्दतले ९४ रन बनाए ।

कुमाल पनि अर्धशतक बनाउनबाट थोरैले चुके । उनले ८७ बलमा ४८ रन जोडे । उनले ४ चौका प्रहार गरे ।

asif arjun

दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ३३ रन जोडे । उनले १ चौका प्रहार गरे । आरिफ शेखले उत्कृष्ट केमियो खेल्दै तीव्र गतिमा ४३ रन बनाए । उनले मात्र २४ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।

गुल्सन झाले २३ बलमा १७ रन जोडे भने कप्तान रोहित पौडेलले भने १६ बलमा ९ रन मात्र बनाउन सके । करन केसी, नन्दन यादव र सन्दीप लामिछानेले ठुलो योगदान दिन सकेनन् ।

ओमानका लागि नदीम खानले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । हसन साह र सकिल अहमदले २–२ विकेट हात पारे । जितेन रामनदानी, आर्यन विष्टले १–१ विकेट लिए ।

जारी शृङ्खलामा नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल ओमानसँग डीएलएस मेथडमा १०२ रनले पराजित भयो । 

तेस्रो खेलमा नेपालले यूएईलाई डीएलएस मेथडमा ६ रनले पराजित गर्न सफल भयो । नेपाल २३ खेलबाट १६ अङ्क बटुल्दै तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप