ओमानसँग नेपालको बदला, गुल्सनको फाइफर
सारांश
- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानलाई ८१ रनले पराजित गरेको छ ।
- ओमानलाई १ सय ७५ रनमा अलआउट गर्दै नेपालले बदला लिएको हो ।
- गुल्सन झाले ९ ओभरमा ५ विकेट लिएर नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको छ ।
नेपालले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३९.५ ओभरमा १ सय ७५ रन बनाउँदै अलआउट हुन पुगेको हो । योसँगै नेपालले पहिलो भिडन्तमा बेहोरेको नमिठो हारको बदला लिन सफल भएको छ ।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यसैगरी, हमद मिर्जाले ५१ बलमा ३४ रन जोडे । ओपनर हसनैन उल वाहाबले २९ रन बनाए ।
नेपालका लागि गुल्सन झाले घातक बलिङ गर्दै ९ ओभर बलिङ गर्दै ५ विकेट लिए । सन्दीप लामिछाने करन केसी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि, कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा २ सय ५६ रन बनाएको थियो ।
नेपालको सुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरमा नै विनोद भण्डारी खाता नै नखोली पभेलियन फर्किएका थिए ।
त्यसपछि अर्जुन कुमाल र आसिफ शेखले शतकीय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । शेख शतक बनाउनबाट मात्र ६ रनले चुके । उनले ९७ बलमा ७ चौका र ५ छक्काको मद्दतले ९४ रन बनाए ।

कुमाल पनि अर्धशतक बनाउनबाट थोरैले चुके । उनले ८७ बलमा ४८ रन जोडे । उनले ४ चौका प्रहार गरे ।
दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ३३ रन जोडे । उनले १ चौका प्रहार गरे । आरिफ शेखले उत्कृष्ट केमियो खेल्दै तीव्र गतिमा ४३ रन बनाए । उनले मात्र २४ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
गुल्सन झाले २३ बलमा १७ रन जोडे भने कप्तान रोहित पौडेलले भने १६ बलमा ९ रन मात्र बनाउन सके । करन केसी, नन्दन यादव र सन्दीप लामिछानेले ठुलो योगदान दिन सकेनन् ।
ओमानका लागि नदीम खानले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । हसन साह र सकिल अहमदले २–२ विकेट हात पारे । जितेन रामनदानी, आर्यन विष्टले १–१ विकेट लिए ।
जारी शृङ्खलामा नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल ओमानसँग डीएलएस मेथडमा १०२ रनले पराजित भयो ।
तेस्रो खेलमा नेपालले यूएईलाई डीएलएस मेथडमा ६ रनले पराजित गर्न सफल भयो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण