सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घाँटु नाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

शुक्रबार, २५ वैशाख २०८३, ०३ : १६
शुक्रबार, २५ वैशाख २०८३

तनहुँ । यहाँका गुरुङ बस्तीमा यति बेला परम्परागत घाँटु नाच संरक्षणप्रति विशेष चासो दिन थालिएको छ । लोपोन्मुख बन्दै गएको यस मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले गाउँगाउँमा घाँटु नाचलाई चासो दिन थालिएका हुन् ।

भानु नगरपालिका–१३ बास्पानी, बन्दीपुरको आरथुम्का, आँबुखैरेनी गाउँपालिकाको भोटेश्वारा, दमौली, पुलिमर्याङ, टुटेपानी, हिलेखर्कलगायत होमस्टे गाउँमा वैशाख पूर्णिमादेखि घाँटु नाच सुरु भइरहेको छ । यसले गाउँमा सांस्कृतिक रौनकता थप्नुका साथै आन्तरिक पर्यटकको आगमनसमेत बढाएको स्थानीयवासी बताउँछन् । जिल्ला समन्वय समिति तनहुँका पूर्व सदस्य गलबहादुर गुरुङका अनुसार घाँटुनाचले गाउँको मौलिक संस्कृति, एकता र परम्पराको अनुपम झल्को दिन्छ ।

“घाँटु चल्दा पाहुनाको जमघट बढेको छ, यसले होमस्टेमा बसोबास गर्ने पर्यटकलाई जीवन्त संस्कृति अनुभव गर्ने अवसर दिएको छ”, उनले भने । पर्यटन विज्ञ हरिसिंह गुरुङ घाँटुजस्ता मौलिक संस्कृतिलाई ग्रामीण पर्यटनको मेरुदण्ड मान्छन् । “पर्यटक स्थानीय मौलिकता हेर्न गाउँ पुग्छन् । घाँटु नाचलाई व्यवस्थित रूपमा संरक्षण र प्रदर्शन गर्न सके यसले ग्रामीण अर्थतन्त्र उकास्न ठुलो योगदान पुर्‍याउँछ”, उनको भनाइ छ ।

पन्ध्रौँ शताब्दीतिर सुरु भएको मानिने घाँटु नाचमा रजस्वला नभएका कन्यालाई राजा परशुराम र रानी यम्फावतीको प्रतीकका रूपमा नचाइन्छ । तनहुँ, चितवन र गोरखा क्षेत्रमा बिजोर सङ्ख्यामा कन्यालाई ‘घाँटुनी’ बनाएर नचाउने परम्परा छ ।

अभियन्ता रञ्जित गुरुङका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न विशेष प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । ‘सती’ र ‘बाह्रमासे’ दुई प्रकारमध्ये सतिघाँटु पञ्चमीका दिन पूजा गरी चण्डीथानजस्ता पवित्र स्थानमा सेलाएर यस वर्षका लागि समापन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप