मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
अदालत

व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो

सोमबार, ०१ असार २०८३, १९ : ०७
सोमबार, ०१ असार २०८३

सारांश

  • सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान नसकिएपछि उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको छ ।
  • भट्टमाथि २६ अर्ब ६३ करोडभन्दा बढी बिगो दाबी गरिएको छ भने उनीहरूविरुद्ध हिमालयन रि-इन्स्योरेन्ससहितका कम्पनीको रकम दुरुपयोगको आरोप छ ।
  • उनीहरूको बयान मंगलबार पनि जारी रहनेछ र त्यसपछि थुनछेक बहस हुनेछ ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । 

सोमबार बयान नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा पठाइएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिए ।

मुद्दामा प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान भएको थियो ।

सोमबार भट्ट र अग्रवालको बयान पूरा नभएपछि पुनः मङ्गलबार पनि निरन्तर बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।

हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरूविरूद्ध मुद्दा दर्ता गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दिपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।

अदालतमा पेस भएको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४/७४ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पूनःमूल्यांकन गरी थप मूल्य  ३५ करोड ६८ लाख ८६ हजार २३ पैसा जोडेर सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ । 

इन्फिनिटी होल्डिंग्स प्रालिको आ.व. २०७७/७८ मा थप ४५ करोड पुँजी थप गरिएको अभियोग दाबी छ । त्यसैगरी आ.व. २०७९/८० मा पनि नौ करोड ५० लाख रुपैयाँ पुँजी थप गरेको देखिएको जनाइएको छ । यी रकम कर्जा अपचलन गरी बैकिङ कसुरमार्फत प्राप्त रकमबाट वृद्धि गरिएको दाबी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप