चौरासी पूजाको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना
सारांश
- बागलुङको काठेखोला गाउँपालिकाका सम्मरबहादुर थापाले चौरासी पूजाको खर्च कटाएर स्थानीय मन्द्रीदेव माध्यमिक विद्यालयमा दुई लाख ५० हजार रुपैयाँको अक्षकोष स्थापना गरेका छन् ।
- थापाले विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई पढाइमा सहजता प्रदान गर्न यो अक्षकोष स्थापना गरेका हुन् ।
- थापाले चौरासी पूजा जस्ता कर्मकाण्डमा बढी खर्च गर्नुभन्दा शिक्षामा लगानी गर्दा समाज परिवर्तन हुने बताएका छन् ।
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरा सिमका सम्मरबहादुर थापाले चौरासी पूजाको खर्च कटाएर विद्यालयमा अक्षकोष स्थापना गरेका छन् । थापाले स्थानीय मन्द्रीदेव माध्यमिक विद्यालयमा दुई लाख ५० हजार रुपैयाँको अक्षकोष स्थापना गरेका हुन् ।
विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाको पढाइलाई सहज बनाउन चौरासी पूजाको खर्च कटाएर अक्षकोष स्थापना गरेको थापाले बताए । गाउँमा विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित भएपछि थापाले नै उक्त विद्यालय २०५४ सालमा स्थापना गरेका हुन् । थापासहित आफ्ना पाँच दाजुभाइले गाउँको एक रोपनी तीन आनाभन्दा बढी जग्गा निःशुल्क दिएर विद्यालय स्थापना गरेका थिए ।
थापा दाजुदाइले आमा मुन्द्री थापा र बाबा देव थापाको स्मृतिमा विद्यालय स्थापना गरेका थिए । सुरुमा प्राथमिक तह स्थापना भएको विद्यालय अहिले आधारभूत तह (कक्षा १–८) सम्म पढाइ हुने गरेको छ । गाउँका थुप्रै बालबालिका आर्थिक अभावका कारण बिचमै पढाइ छोड्ने गरेको हुँदा उनीहरूलाई पढ्ने वातावरण तयार गर्न अक्षकोष स्थापना गरेको थापाको भनाइ छ ।
चौरासी पूजामा खर्च बढी गरेर केही प्रतिफल नआउने तर शिक्षामा लगानी लगानी गर्दा दक्ष जनशक्ति उत्पादन भएर समाज परिवर्तन हुने थापाले बताए । ८४ वर्षीय थापाले कोही पनि बालबालिका आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नहुने भन्दै राज्यले पनि दुर दराजका बालबालिकाको पढाइप्रति चासो दिनुपर्नेमा जोड दिए ।
उनले भने– ‘पछिल्लो समय चौरासी पूजा र अरु विवाह व्रतबन्धमा धेरै खर्च गर्ने प्रचलन बढेको छ । यसले समाजलाई राम्रो प्रतिफल दिन सक्दैन । मेरो पनि चौरासी पूजा ग¥यौँ । मैले त्यसका लागि निकै खर्च कटौती गरेर विद्यालयमा अक्षकोष स्थापना गर्ने सोच बनाएको थिएँ । सोही अनुसार सानो भए पनि अक्षयकोष स्थापना गरेको छु । यसले आर्थिक अभाव भएका बाबुनानीहरूलाई केही टेवा पु¥याउने छ ।’
वि. सं. १९९८ फागुन २० गते जन्मिएका थापा २२ वर्षको उमेरमा आसाम राइफल्समा भर्ती भई करिब २१ वर्षसम्म भारतीय सेनामा सेवा गरेका थिए । सेवा निवृत्त भएपछि गाउँ फर्किएका थापाले सामाजिक काम गर्दै आएका छन् ।् अहिले पनि उनी सामाजिक काममा उत्तिकै सक्रिय रहेको मुन्द्रीदेव आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्र थापाले बताए ।
प्रधानाध्यापक थापाका अनुसार अहिले उक्त विद्यालयमा ५२ जना विद्यार्थी अध्ययनरत छन् । सम्मरबहादुरले विद्यालय स्थापनाकालदेखि हालसम्म ठुलो योगदान गरेको प्रधानाध्यापक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण