बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विकासमा चरम ढिलाइ

७ वर्षमा पनि बनेन काठमाडौँ जोड्ने १४ किलोमिटर सडक

आइतबार, २७ वैशाख २०८३, २० : २४
आइतबार, २७ वैशाख २०८३

सारांश

  • बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँलाई जोड्ने १४ किलोमिटर लामो फाखेल–मातातीर्थ–सतुंगल सडक निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
  • मकवानपुर खण्डको काम अन्तिम चरणमा पुगेको छ भने ललितपुर खण्डमा भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६६.०२ प्रतिशत मात्र रहेको छ ।
  • प्रदेश सरकारले ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना लगाएको छ ।

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँलाई जोड्ने सबैभन्दा छोटो दूरीको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण कार्य सुस्त देखिएको छ । सामरिक महत्त्वको वैकल्पिक मार्गका रूपमा रहेको १४ किलोमिटर लम्बाइको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

प्रदेश सरकारको ‘गौरवको आयोजना’ र प्रदेश सडक गुरुयोजनामा समेटिएको उक्त सडक निर्माणमा ढिलाइ भएको हो । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक काठमाडौं–हेटौंडा जोड्ने छोटो दूरीको मार्ग हो । 

यो सडकको इतिहास निकै लामो छ । तत्कालीन जिल्ला विकास समिति काठमाडौँले २०५५ सालमा यसको ट्रयाक खोल्ने काम सुरु गरेको थियो । भौगोलिक विकटता र पर्याप्त बजेटको अभावमा ट्रयाक खोल्नै झन्डै १२ वर्ष लाग्यो, ट्रयाक खुलेको करिब एक दशकसम्म सडकको स्तरोन्नति हुन सकेको थिएन । 

प्रदेश सरकारले उक्त सडकलाई प्राथमिकताका साथ अघि बढाउँदै २०७६ जेठ १७ गतेबाट निर्माण थालेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट विनियोजन गरी सडकलाई स्तरोन्नतिसहित आधुनिक र सुविधासम्पन्न बनाउने गरी काम अघि बढाइएको थियो, तर निर्माण थालिएको ७ वर्ष अवधि पूरा हुँदा समेत उक्त कार्य सम्पन्न हुन सकेको छैन ।

कुल १४ दशमलव ४ किलोमिटर लम्बाइको उक्त सडकलाई प्रभावकारी रूपमा सम्पन्न गर्न मकवानपुर र काठमाडौँ गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो, तर उक्त सडकको प्रगति सन्तोषजनक हुन सकेको छैन । 

मकैबारीदेखि मातातीर्थसम्मको ८ दशमलव १ किलोमिटर सडक खण्डको कार्य प्रगति न्यून देखिएको छ । पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत अमर कन्स्ट्रक्सनले २०७६ मा भ्याटसहित करिब २८ करोड रुपैयाँमा यसको ठेक्का लिएको उक्त खण्डको काम लक्ष्यअनुसार हुन सकेको छैन । 

सम्झौताअनुसार काम नहुँदा कम्पनीले हालसम्म पटक–पटक गरी ५ पटक म्याद थपिसकेको छ । तर, प्रगति भने सुस्त छ । पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख राजु श्रेष्ठका अनुसार निर्माण कम्पनीले हालसम्म भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६६ दशमलव ०२ प्रतिशत रहेको उनले बताए । 

mata tirtha road

काममा चरम ढिलासुस्ती भएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना लगाएको छ । यातायात पूर्वाधार निर्देशनालयका प्रमुख नवीन सिंहका अनुसार उक्त जरिवाना रकम निर्माण कम्पनीले पाउने भुक्तानीबाट कट्टा गरिनेछ । निर्माण कम्पनीले पछिल्लो पटक वैशाख मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाए पनि उक्त अवस्था नरहेको उनले बताए । 

मकनवानपुर खण्ड अन्तिम चरणमा

सो सडकअन्तर्गत मकवानपुर तर्फको खण्डको काम भने अन्तिम चरणमा पुगेको छ । मकवानपुर खण्डमा सदाशिव हिमाल कन्स्ट्रक्सनले २०८० जेठमा २ वर्षभित्र काम सक्ने गरी करिब १८ करोड ४६ लाख रुपैयाँ लागतमा सम्झौता गरेको थियो । 

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आगामी जेठ २५ गतेसम्मका लागि एक वर्ष म्याद थप गरिएको थियो । सो खण्डमा हालसम्म भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ७२ दशमलव ३५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरले जनाएको छ । 

कार्यालयका प्रमुख सुजन भण्डारीका अनुसार सडक चौडाइ, सबबेस, कल्भर्ट, टेवा पर्खाल र नाली निर्माणका काम सम्पन्न भइसकेका छन् भने बेस ओछ्याउने काम ८० प्रतिशत पूरा भएको छ । हालसम्म करिब तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान भइसकेको र बाँकी रहेको ३ दशमलव ३ किलोमिटर सडक वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख भण्डारीले बताए । 

महालक्ष्मी खोलादेखि काठमाडौँको कलंकीसम्म करिब २० किलोमिटर दूरी रहने उक्त सडक समयमै सम्पन्न हुन सके काठमाडौँ–हेटौँडा यात्रा छोटो र सहज हुने अपेक्षा गरिएको छ । प्रदेश राजधानी र संघीय राजधानी जोड्ने अन्य मार्गमध्ये यो सबैभन्दा छोटो दूरीको मार्ग मानिन्छ । 

हेटौँडाबाट कुलेखानीसम्म एउटै मार्ग प्रयोग गर्नुपर्ने हुन्छ । त्यसपछि सिस्नेरी–दक्षिणकाली, फाखेल–हुमाने–फर्पिङ र महालक्ष्मीखोला–मातातीर्थ गरी तीन विकल्पमध्ये यो मार्ग सबैभन्दा छोटो छ ।

चखेल क्षेत्र तरकारी पकेट क्षेत्रका रूपमा विकास भइरहेकाले सो क्षेत्रको उत्पादित तरकारी काठमाडौँको कालिमाटीसम्म सहज रूपमा ढुवानी गर्न तथा आवतजावतलाई थप सहज बनाउन यो सडक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप