बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेलमुक्त भए थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावत्रा

सोमबार, २८ वैशाख २०८३, ०९ : ४७
सोमबार, २८ वैशाख २०८३

सारांश

  • थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावत्रा सोमबार जेलबाट पेरोलमा रिहा भएका छन् ।
  • ७६ वर्षीय थाक्सिन समर्थकहरूको घुइँचोका बिच बाहिर आएका हुन् ।
  • पत्रकारले कस्तो महसुस भइरहेको छ भनी सोधेको प्रश्नमा उनले हात माथि उठाउँदै आफूलाई ‘हल्का’ महसुस भएको बताएका थिए ।

बैङ्कक । थाइल्याण्डका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावत्रा सोमबार जेलबाट पेरोलमा रिहा भएका छन् । 

लामो समय अस्पताल बसेर कारागारको सजाय छल्न खोजेको भन्दै अदालतले आदेश दिएको आठ महिनापछि ७६ वर्षीय थाक्सिन समर्थकहरूको घुइँचोका बिच बाहिर आएका हुन् । 

विगत २५ वर्षदेखि थाई राजनीतिमा हावी रहेका यी व्यवसायीको प्रभाव पछिल्लो समय उनको जेल बसाइ र फेब्रुअरीको चुनावमा आफ्नै दल फ्यु थाई पार्टीले व्यहोरेको ऐतिहासिक हारका कारण केही कमजोर बनेको छ । बैङ्ककको क्लोङ प्रेम जेलबाट बाहिर निस्कने क्रममा सेतो रङको खुकुलो कमिज र छोटो कपालमा देखिएका थाक्सिनले छोरी एवं राजनीतिक उत्तराधिकारी पेतोङतार्न सिनावत्रासहित परिवारका सदस्यहरूलाई अँगालो हालेका थिए । 

पेतोङतार्नलाई गत अगस्टमा थाक्सिन जेल जानुभन्दा १० दिनअघि मात्रै अदालतले प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो । उनको स्वागतका लागि पार्टीको पहिचान मानिने रातो रङका लुगा लगाएर पुगेका सयौँ समर्थकहरूले ‘हामी थाक्सिनलाई माया गर्छौँ’ भन्दै नाराबाजी गरेका थिए । 

पत्रकारले कस्तो महसुस भइरहेको छ भनी सोधेको प्रश्नमा उनले हात माथि उठाउँदै आफूलाई ‘हल्का’ महसुस भएको बताएका थिए । उनले ठट्टा गर्दै भने, ‘म शीतनिद्रामा गएको थिएँ, अहिले मलाई केही याद छैन ।’

१५ वर्षको स्वेच्छिक निर्वासनपछि सन् २०२३ मा स्वदेश फर्केका थाक्सिनलाई सन् २००१ देखि २००६ सम्म प्रधानमन्त्री रहँदा शक्तिको दुरुपयोग र स्वार्थको द्वन्द्व सम्बन्धी मुद्दामा आठ वर्षको जेल सजाय सुनाइएको थियो । तर, जेलमा एक रात पनि नबिताई मुटु र छातीको समस्या देखाउँदै उनलाई अस्पतालको भीआइपी वार्डमा सारिएको थियो । 

पछि राजाले उनको सजाय घटाएर एक वर्षमा झारिदिएका थिए । अस्पतालमा ६ महिना बिताएपछि उनी पेरोलमा छुटेका हुन् । यद्यपि, सर्वोच्च अदालतले उनी र उनका डाक्टरहरूले सामान्य शल्यक्रिया गरेर अस्पतालको बसाइ लम्ब्याएको ठहर गर्दै बाँकी समय जेलमै बस्नुपर्ने फैसला गरेको थियो ।

थाक्सिनको रिहाइले वर्तमान गठबन्धन सरकारमा कनिष्ठ साझेदार बनेको फ्यु थाई पार्टीलाई पुनर्जीवन दिन सक्ने राजनीतिक विश्लेषक ति टिपोल फकदीवानिच बताउँछन् । तर, उनले सावधानीपूर्वक अगाडि बढ्नुपर्ने सुझाव दिँदै थपे, ‘थाक्सिनले पर्दा पछाडि बसेर राजनीति गर्दा राम्रो हुन्छ, तर उनको व्यक्तित्व हेर्दा उनी कतिन्जेल ओझेलमा बस्लान् भन्ने प्रश्न छ ।’ 

सेप्टेम्बरमा सजायको अवधि नसकिँदासम्म थाक्सिनले विद्युतीय एङ्कल मनिटर लगाउनुपर्नेछ । उनलाई स्वागत गर्न पुगेकी ७६ वर्षीया समर्थक रोमानी नाकानोले थाक्सिनले जे गरे पनि जनताको भलाइका लागि गरेको भन्दै उनलाई कहिल्यै जेल हाल्नु नपर्ने धारणा व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप