मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मापसे गरेर सडकको रेलिङ भत्काउने गोदावरीका मेयरलाई ३५ हजार जरिवाना

मङ्गलबार, २९ वैशाख २०८३, १० : १६
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • मापसे गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ ।
  • मेयर भट्टले चलाएको गाडी सडक छेउको रेलिङमा ठोक्किएपछि उपमहानगरपालिकाको प्राविधिक टोलीले मर्मतका लागि ३५ हजार रुपैयाँ लाग्ने स्टमेट निकालेको छ ।
  • यसअघि मेयर भट्टलाई मापसे र लापरवाहीमा ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

धनगढी । मादक पदार्थ सेवन मापसे गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ ।

गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा दुर्घटना भएको थियो । मापसे गरेर लठ्ठ भएका मेयरले चलाएको गाडी सडक छेउको रेलिङमा ठोक्किएको थियो ।

धनगढीका नगरप्रमुख गोपाल हमालको सचिवालयका अनुसार उपमहानगरपालिकाका प्राविधिकहरूले गरेको मूल्याङ्कन अनुसार उक्त रेलिङ मर्मत गर्न ३५ हजार रुपैयाँ खर्च लाग्ने स्टमेट निकालिएको छ । सोही रकम बराबरको जरिवाना मेयर भट्टलाई तिराउन लागिएको हो । उपमहानगरपालिकाले रकम असुल गर्न नगर प्रहरी पठाए पनि मेयर भट्टले भने आफू स्वयंले नै रेलिङ मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन् ।

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जोसुकैबाट पनि क्षतिपूर्ति असुल गर्दै आएको छ ।

यसअघि, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मेयर भट्टलाई मापसे गरेर गाडी चलाएको भन्दै ५ सय र लापरबाही गरेकोमा थप ५ सय गरी जम्मा १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडिसकेको छ ।

धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा फूल रोपेर र बत्ती बालेर श्रृङ्गार गरिरहेका बेला छिमेकी नगरपालिकाका मेयरले नै मापसे गरेर संरचना भत्काएपछि स्थानीयले भने असन्तुष्टि जनाएका छन् । गोदावरी–५ कै स्थानीय भागीराम रानाले एउटा मेयरले सडक सजाउने र अर्कोले भत्काउने काम गरेको भन्दै दुःख व्यक्त गरे ।

मेयर भट्टको सचिवालयले भने क्षतिको आधारमा स्टमेट आएको र सोही अनुसार मर्मत वा क्षतिपूर्ति दिने जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा रहेका सार्वजनिक सम्पत्तीमा क्षति नगरीदिन सबैलाई अनुरोध गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप