इरान युद्धले मसीको खडेरी : जापानी स्न्याक्स कम्पनीको प्याकेजिङ अब ‘ब्ल्याक एण्ड ह्वाइट’
सारांश
- इरान युद्धका कारण कच्चा पदार्थको आपूर्तिमा अवरोध आएपछि कालबीले आफ्ना १४ उत्पादनहरूको प्याकेजिङमा रङ कटौती गरी 'ब्ल्याक एण्ड ह्वाइट' शैली अपनाएको छ।
- मसी बनाउन प्रयोग हुने कच्चा पदार्थ 'नेप्था' को अभावले गर्दा कम्पनीले जेठ ११ गतेदेखि नयाँ प्याकेजिङमा उत्पादन बजारमा ल्याउने भएको छ।
- पश्चिम एसियामा बढ्दो तनावले कच्चा पदार्थको आपूर्तिमा अस्थिरता आएपछि उत्पादनको स्थिर आपूर्ति कायम राख्न यो निर्णय लिइएको हो।
टोकियो । इरान युद्धका कारण कच्चा पदार्थको आपूर्तिमा अवरोध आएपछि जापानको प्रसिद्ध स्न्याक्स उत्पादक कम्पनी कालबीले आफ्ना मुख्य उत्पादनहरूको प्याकेजिङमा रङ कटौती गर्ने भएको छ।
मसी बनाउन प्रयोग गरिने कच्चा पदार्थको अभाव भएपछि कम्पनीले अस्थायी रूपमा केही उत्पादनहरूलाई 'ब्ल्याक एण्ड ह्वाइट' (कालो र सेतो) प्याकेटमा बजारमा पठाउन लागेको हो।
कम्पनीका अनुसार आगामी जेठ ११ गते (मे २५) देखि जापानका पसलहरूमा चिप्स र प्राउन क्र्याकर्ससहित १४ वटा विभिन्न उत्पादनहरू नयाँ शैलीको प्याकेजिङमा देखिनेछन्। अमेरिका र इजरायली आक्रमणको बदलामा इरानले स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि दैनिक उपभोग्य वस्तुको उत्पादनमा परेको यो पछिल्लो ठुलो असर हो।
पश्चिम एसियामा बढ्दो तनावका कारण कच्चा पदार्थको आपूर्तिमा देखिएको अस्थिरतालाई सम्बोधन गर्न यो निर्णय लिइएको कालबीले विज्ञप्तिमार्फत जनाएको छ। 'उत्पादनको स्थिर आपूर्ति कायम राख्न यो उपाय अपनाइएको हो,' कम्पनीले भनेको छ।
गत फेब्रुअरी २८देखि सुरु भएको द्वन्द्वका कारण तेल र ग्यासको मूल्य आकासिएको छ। विशेषगरी तेल प्रशोधन गर्दा निस्कने र मसी तथा प्लास्टिक बनाउन प्रयोग हुने 'नेप्था' को आपूर्तिमा गम्भीर सङ्कट पैदा भएको छ। एसियामा नेप्थाको मूल्य युद्ध सुरु भएयता झन्डै दोब्बरले बढेको छ, जसले यस क्षेत्रका व्यवसायीहरूको लागत ह्वात्तै बढाएको छ।
जापानका उप–प्रमुख क्याबिनेट सचिव केइ सातोले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै युद्धअघि जापानले करिब ४० प्रतिशत नेप्था मध्यपूर्वबाट आयात गर्ने गरेको जानकारी दिए। उनले सरकारले आपूर्तिमा देखिएको असन्तुलन र अवरोध हटाउन काम गरिरहेको बताए।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत वैशाखमा नै मध्यपूर्व बाहेकका अमेरिका जस्ता अन्य स्रोतहरूबाट नेप्थाको आपूर्ति बढाउने प्रयास भइरहेको बताएकी थिइन्। खाडी क्षेत्रबाट हुने ढुवानीमा अवरोध आउँदा मध्यपूर्वको ऊर्जा र तेलजन्य उत्पादनमा बढी निर्भर रहेका एसियाली मुलुकहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण