कास्की प्रहरीको ‘स्वीप अप्रेसन’, २३ जना पक्राउ
सारांश
- कास्की प्रहरीले गरेको स्वीप अप्रेसनमा विभिन्न कसुरमा २३ जना पक्राउ परेका छन्।
- प्रहरीले पोखराका विभिन्न क्षेत्रबाट जुवा, लागूऔषध सेवन तथा अभद्र व्यवहारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ परेकामध्ये जुवा खेल्ने ३ जना, अभद्र व्यवहार गर्ने ७ जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्यलाई जरिवाना वा तारेखमा छाडिएको छ।
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अप्रेसनका क्रममा २३ जना व्यक्ति पक्राउ परेका छन्। विभिन्न स्थानमा मादक पदार्थ र लागू पदार्थ सेवन गरी हो-हल्ला गर्ने, झै-झगडा गर्ने, जुवातास खेल्ने तथा शान्ति सुरक्षामा खलल पुऱ्याउने गतिविधिमा संलग्न उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले २०८३ वैशाख २८ गते साँझ ६ बजेदेखि राति १० बजेसम्म उक्त अप्रेसन चलाएको थियो। प्रहरीले पोखरा महानगरपालिकाको बगर, टुँडिखेल, बाग्लुङ बसपार्क, नदिपुर र तेर्सापट्टी क्षेत्रबाट ७ जनालाई नियन्त्रणमा लिएको छ। यस्तै, पर्स्याङ र हरिचोक क्षेत्रबाट ५ जना तथा बाटुलेचौर, सराङकोट र लामाचौर क्षेत्रबाट ११ जना पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये जुवाजन्य तीन गोट्टी खेलाउने ३ जना व्यक्तिलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरी बहादुर वस्नेतले बताए। उनका अनुसार मादक पदार्थ र लागू पदार्थ सेवन गरी हो-हल्ला तथा झै-झगडा गर्ने ७ जनालाई अभद्र व्यवहार सम्बन्धी कसूरमा दश दिनको म्याद थप गरिएको छ।
प्रहरीले मादक पदार्थ सेवन गरी हिँड्ने अन्य ७ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनही एक हजार रुपैयाँ जरिवाना गराई छाडेको छ। बाँकी ६ जना व्यक्तिलाई भने आफन्तको जिम्मा लगाई तारेखमा छाडिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को आम्दानी कति ?
-
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
-
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
-
हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण