बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पथलैया सामुदायिक वन

रूख मारेर वनभित्र बस्ती, सुकुमबासीभन्दा जग्गावाल धेरै

अतिक्रमण खाली गर्न जिल्लाभरका सामुदायिक वनसँग तथ्यांक संकलन सुरु
बिहीबार, ३१ वैशाख २०८३, ०७ : २०
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • पथलैया सामुदायिक वनमा सालका रूख मारेर बस्ती विस्तार गर्ने कार्य भयावह रूपमा बढेको छ ।
  • सुकुम्बासी समस्या समाधान आयोगबाट जग्गाधनी पुर्जा कायम गर्न रूख मारिएको वन कार्यालयले जनाएको छ ।
  • डिभिजन वन कार्यालय बाराले पथलैया सामुदायिक वनको अतिक्रमण खाली गर्ने प्रक्रियामा जाने बताएको छ ।

बारा । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको पथलैया सामुदायिक वनमा सालको रूख मारेर बस्ती विस्तार गर्ने कार्य भयावह रूपमा बढेको छ । केही वर्षअघिसम्म घना जंगल क्षेत्र रहेको पथलैया सामुदायिक वनभित्र साल र अन्य प्रजातिका रूखलाई कडा रसायन प्रयोग गरेर मार्ने र घरटहरा बनाउने काम हुँदै आएको खुलेको छ । 

मानिसको बसोबास बढ्दै गएपछि सुरक्षित आवास र सुकुमबासी समस्या समाधान आयोगबाट जग्गाधनी पुर्जा कायम गर्न रूख मारिएको वन कार्यालयले जनाएको छ । अहिले पनि सामुदायिक वनभित्रको बस्तीमा दर्जनौँ संख्यामा मरेका सालका रूखहरू ठडिएका छन् । 

कानुनविपरीत सालका रूखहरूमा मारेको विषयमा न त वन सामुदायिक वन समूहले चासो देखाएको छ न वन कार्यालयले नै ध्यानाकर्षण जनाएको छ । 

पथलैया सामुदायिक वन समूहका उपाध्यक्ष भीमबहादुर मगरले २०६६ सालमा वन हस्तान्तरण गर्दा यहाँ करिब ७ सय घरधुरी थिए, तर हाल १ हजार ७ सय संख्या पुगेको उनले दाबी गरेका छन् । ‘अतिक्रमण बचाउन सामुदायिक वन समिति एक्लैले गर्न केही सक्दैन, वन कार्यालय लाग्नुपर्छ,’ उपाध्यक्ष मगरले भने, ‘रातारात वनको पिल्लर सारेर अतिक्रमण भएको छ । हामीले केही उपाय नलागेर छोडिदिएको हो ।’ 

२३२ हेक्टर वन क्षेत्रमध्ये अधिकांश भागमा मानवी संरचना निर्माण भएका छन् । 

pathlaiyaaa (5)

सो सामुदायिक वनमा छिटफुट मात्रामा सुकुमबासीहरू छन् भने अधिकांश पथलैयाकै अन्य ठाउँमा घरजग्गा भएका, सिमरा, हेटौँडा, काठमाडौँलगायत देशभर चल/अचल सम्पत्ति भएका व्यक्तिहरू रहेका स्थानीय एक महिलाले बताइन् । 

यो पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज औद्योगिक करिडोरसँग जोडिएको क्षेत्र हो । सामुदायिक वनको पश्चिम/दक्षिण क्षेत्रमा ठुला ट्रक व्यवसायीहरूले ग्यारेज सञ्चालन गरेका छन् भने केही भू–भागमा कवाडी तथा होटल व्यवसाय सञ्चालनमा छ । 

जग्गाधनीहरूले सामुदायिक वनको जग्गा प्रतिकठ्ठा मासिक १० देखि १५ हजारमा भाडामा समेत लगाएका यस क्षेत्रका व्यवसायीहरू नै बताउने गर्छन् । वनको भित्री भागमा भने निजी विद्यालय, मठमन्दिर, प्रदेश सरकारले निर्माण गरेका अधुरो भवनलगायत व्यक्तिले बनाएका संरचना छन् । 

pathlaiyaaa (1)

पथलैया सामुदायिक वनका पूर्वअध्यक्ष चुडाप्रसाद भट्टले वनक्षेत्रभित्र मानिसको बसोबास बढेपछि स्थानीयले सालको रूखको बोक्रा तासेर, हिङ हालेर रूख मारेको बताएका छन् । ‘बोक्रा काटेपछि जराबाट पानी जान नपाएर ३ वर्षमा रूख मर्छ,’ पूर्वअध्यक्ष भट्टले भने, ‘सामुदायिक वन नक्सामा भन्दा धेरै अतिक्रमण भएको छ, यसमा अहिलेको अध्यक्षले कानुनअनुसार कारवाही गर्नुपर्छ ।’ 

राजमार्गसँग जोडिएको वनको जग्गा प्रतिधुर २ देखि २ लाख ५० हजारसम्म किनबेच भइरहेको छ । 

स्थानीयबासी बुद्धिमाया राईले सरकारले वन क्षेत्रको अतिक्रमण हटाउँदा सुकुमबासीहरूलाई बसोबासको व्यवस्थापन गरिदिन अनुरोध गरेकी छन् । ‘यहाँ २ लाख रुपैयाँ धुर चलेको छ । हामीले पनि बाबु मगरसँग जग्गा किनेरै बसेको हो,’ स्थानीयबासी राईले भनिन्, ‘यही वनको जग्गाका केहीले पुर्जा पनि बनाएसके, हामीसँग निस्सा मात्रै छ।’ 

pathlaiyaaa (2)

यो क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग निर्माण क्रममा आएका मजदुर र उनका परिवारबाट बस्ती बस्न सुरु भएको हो । ५ देखि ८ वर्षको अन्तरालमा सामुदायिक वनभित्र हवात्तै बस्ती बढेपछि यसपटक भने डिभिजन वन कार्यालय बाराले ध्यानाकर्षण भएको जनाएको छ । 

दुई साताअघि वन कार्यालयले सामुदायिक वनहरूलाई पत्राचार गरेर अतिक्रमित जग्गाको विवरण माग गरेको छ । 

डिभिजन वन कार्यालय बाराका सहायक डिभिजन वन अधिकृत वीरेन्द्र यादवले सामुदायिक वनको अतिक्रमणको अवस्थाबारे स्थानीय प्रशासनमार्फत गृह मन्त्रालयमा जानकारी पठाएर खाली गर्ने प्रकियामा जाने बताएका छन् । 

pathlaiyaaa (3)

डिभिजन वन कार्यालय बारामा प्रमुख सुजितकुमार झाले पथलैया सामुदायिक वनको अतिक्रमणलाई जतिसक्दो चाँडो खाली गर्ने बताएका छन् । 

‘हामीले अतिक्रमण नियन्त्रण सहजीकरण समितिको बैठकमा राखेर पथलैया सामुदायिक वनको अतिक्रमण खाली गर्छौँ,’ डिभिजन वन अधिकृत झाले भने, ‘पथलैया सामुदायिक वनमा २/३ वर्षको अन्तरालमा १०/१५ वटा नयाँ घरहरू बनेका छन्, सुरुमा तिनलाई खाली गर्छौँ ।’ 

बारामा ४१ वटा सामुदायिक वन, ४ वटा साझेदारी वन उपभोक्ता समूह र राष्ट्रिय वन क्षेत्र छन् । 

डिभिजन वन कार्यालयको तथ्याकंअनुसार बाराका वन क्षेत्रभित्र सकुमबासी, भूमिहीन र अव्यवस्थित बसोबास गर्ने १७ हजार घरधुरी रहेको जनाइएको छ ।

pathlaiyaaa (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप