मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

ओरेन्ज क्यापको दौडमा तेस्रो स्थानमा उक्लिए कोहली

बिहीबार, ३१ वैशाख २०८३, १० : १०
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहलीले कोलकाता नाइट राइडर्सविरुद्ध नवौँ आईपीएल शतक प्रहार गर्दै ओरेन्ज क्यापको दौडमा तेस्रो स्थानमा उक्लिएका छन्।
  • कोहलीले १२ इनिङ्समा १६५.७५ को स्ट्राइक रेटमा ४८४ रन बनाएका छन् र शीर्ष दुई खेलाडीभन्दा मात्र पछि छन्।
  • यसैगरी, भुवनेश्वर कुमारले कोलकाताविरुद्ध १ विकेट लिँदै २२ विकेटका साथ पर्पल क्यापमा शीर्ष स्थानमा पकड जमाएका छन्।

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ओरेन्ज र पर्पल क्याप तालिकामा बुधबारको खेलपछि महत्त्वपूर्ण फेरबदल भएको छ।

रोयल च्यालेन्जर्स बेंगलुरुका स्टार ब्याटर विराट कोहलीले कोलकाता नाइट राइडर्सविरुद्ध रायपुरमा सानदार नवौँ आईपीएल शतक प्रहार गरेका छन्। कोहलीको अविजित शतकको मद्दतले बेंगलुरुले १९३ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ।

यससँगै कोहली चालु सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन्। कोहलीले १२ इनिङ्समा १६५.७५ को स्ट्राइक रेटमा ४८४ रन बनाएका छन्। उनी अहिले ५०८ रनसहित शीर्ष स्थानमा रहेका हेनरिक क्लासेन र ५०१ रनसहित दोस्रो स्थानमा रहेका बी साई सुदर्शनभन्दा मात्र पछि छन्।

ओरेन्ज क्यापको दौडमा ४८१ रनसहित सनराइजर्स हैदराबादका अभिषेक शर्मा चौथो, ४७७ रनसहित दिल्ली क्यापिटल्सका कप्तान केएल राहुल पाँचौँ र ४६७ रनसहित गुजरात टाइटन्सका कप्तान शुभमन गिल छैटौँ स्थानमा रहेका छन्।

ब्याटिङमा जस्तै बलिङतर्फको पर्पल क्यापमा पनि कडा प्रतिस्पर्धा देखिएको छ। सन् २०१६ र २०१७ को पर्पल क्याप विजेता भुवनेश्वर कुमारले पुनः आफ्नो लय समात्दै शीर्ष स्थानमा पकड जमाएका छन्।

कोलकाता नाइट राइडर्सविरुद्ध ३४ रन खर्चेर १ विकेट लिएसँगै भुवनेश्वरको विकेट संख्या २२ पुगेको छ। उनले सन् २०२० को पर्पल क्याप विजेता कागिसो रबाडालाई पछि पारेका हुन्। रबाडा २१ विकेटसहित दोस्रो स्थानमा छन्।

बलिङ तालिकामा चेन्नई सुपर किंग्सका अंशुल कम्बोज १९ विकेटसहित तेस्रो स्थानमा छन्। त्यस्तै लखनऊ सुपर जायन्ट्सका प्रिन्स यादव, गुजरातका राशिद खान, कोलकाताका कार्तिक त्यागी र हैदराबादका ईशान मलिंगा समान १६ विकेटसहित प्रतिस्पर्धामा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप