बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पसँगको वार्तामा सीले किन दिए प्राचीन ग्रीक सेनापतिको उदाहरण ?

बिहीबार, ३१ वैशाख २०८३, ११ : १७
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा प्राचीन ग्रीसेली सेनापतिको उदाहरण दिँदै 'थुसिडाइड्स जाल' को उल्लेख गरेका छन् ।
  • यो सन्दर्भ उदाउँदो शक्तिले स्थापित शक्तिलाई चुनौती दिँदा हुने द्वन्द्व वा युद्धको जोखिमसँग सम्बन्धित छ, जसलाई सीले अमेरिका-चीन सम्बन्धमा स्थायित्व आवश्यक रहेको सन्देश दिन प्रयोग गरे ।
  • सीले ट्रम्पसँग मिलेर यो 'जाल' पार गर्नुपर्ने र सहकार्यको नयाँ मोडेल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा प्राचीन ग्रीसेली सेनापतिको उदाहरण दिएका छन् । कुराकानीका क्रममा उनले ‘थुसिडाइड्स जाल’ को उल्लेख गर्दै अमेरिका–चीन सम्बन्धमा स्थायित्व आवश्यक रहेको सन्देश दिएका छन् । 

यो सन्दर्भ प्राचीन ग्रीक इतिहासकार तथा सेनापति थुसिडाइड्ससँग सम्बन्धित छ । त्यतिबेला उदाउँदो शक्ति एथेन्सले स्थापित शक्ति स्पार्टालाई चुनौती दिँदा प्राचीन ग्रीसमा पेलोपोनेसियन युद्ध भएको थियो ।

जब जब नयाँ उदाउँदो शक्तिले पुरानो प्रभुत्वशाली शक्तिलाई चुनौती दिन्छ र द्वन्द्व वा युद्धको जोखिम बढ्छ, तब तब त्यसलाई उद्धृत गर्न थुसिडाइड्स जालको चर्चा हुने गरेको छ । यो शब्दलाई विशेष रूपमा अमेरिका–चीन सम्बन्धसँग जोडेर प्रयोग गर्ने काम ग्राहम एलिसनले गरेका थिए । 

उनले त्यसबेला सन् २०१७ मा चीनले आफ्नो महत्वाकांक्षा घटाएन वा अमेरिका प्रशान्त क्षेत्रमा दोस्रो स्थान स्वीकार गर्न तयार भएन भने व्यापार युद्ध, साइबर आक्रमण वा समुद्री दुर्घटनाले ठुलो युद्ध निम्त्याउन सक्ने चेतावनी दिएका थिए ।

सीले ट्रम्पसँगको प्रारम्भिक सम्बोधनमा यही ‘जाल’ को चर्चा गर्दै दुई देशले टकराबभन्दा सहकार्यको नयाँ मोडेल निर्माण गर्नुपर्ने बताए । सिले भने, ‘चीन र अमेरिकाले तथाकथित थुसिडाइड्स जाल पार गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न इतिहास, विश्व र जनताको प्रश्न हो ।’ उनले थपे– ‘यी हाम्रो समयका उत्तरहरू हुन्, जसलाई तपाईं र मैले ठुला राष्ट्रका नेताको रूपमा मिलेर लेख्नुपर्छ ।’

सिले थुसिडाइड्स जालको कुरा निकालेको यो पहिलो पटक होइन । सन् २०१५ मा अमेरिका भ्रमणका क्रममा पनि उनले यही अवधारणाको चर्चा गरेका थिए ।  उनले त्यसबेला  रणनीतिक रूपमा गलत धारणा बनाइएन भए मात्रै यस्तो जालमा फस्ने खतरा हुने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप